सुनिल न्यौपाने
आइतवार नेपालको समयअनुसार झण्डै मध्यराती एउटा समाचार टुप्लुक्क आइपुग्यो । पठाउने युएईस्थीत सहकर्मी हुनुहुन्थ्यो । समाचारको मुख्य विषय पढ्दा हाँसो उठ्दो थियो । त्यसैले सो समाचार प्रकाशित गर्ने की नगर्ने दोधार भयो । तर सो समाचार देख्दा जति हल्का थियो, त्यसले बोकेको गाम्भीर्यता धेरै थियो । अनी समाचार पठाउने सहकर्मी उत्तिकै जिम्मेवार । उनले यो युएईको एउटा ठूलो समस्या मध्येको एक भएको प्रष्ट्याए । समाचार पोष्ट भयो । ‘युएईमा युवती घुमाएर नेपालमा श्रीमतिलाई यातना दिने समाजसेवीलाई नाङगेझार पारिने ।’
समाचारको विषयबस्तु नै त्यस्तै थियो जसका कारण पाठकको खाँचो थिएन । तर त्यो समाचारमा जुन रुपमा बहस भयो देशपरदेश डटकममा तथा सामाजिक सञ्जालहरुमा त्यसले प्रष्ट भयो यो खाडीका देश र मलेसियाको एउटा साझा समस्या हो ।
तर सो विषयलाई हेर्ने दृष्टिकोणमा भनें दुईथरी उत्तिकै बलिया तर्कसहित पाठकहरु उत्रिए । एकथरीले विदेशमा काम गर्न आएका नेपाली पुरुषले उतै कुनै ‘बाहरवाली’ राखेर ‘घरवाली’लाई भुलेको वा दुःख दिएको तर्कमा सहमती जनाए ।
हेर्नुहोस् सो समाचारमा व्यक्त केहि प्रतिकृयाहरु



तर अर्काथरीले युएई आएका नेपाली महिलाका कारण शीर निहुर्याएर हिंड्नु परेको भन्दै त्यस्तो प्रवृत्तिको उछित्तो काढे । उनीहरुले नेपाली महिलाका कारण आफूलाई नेपाली हुँ भन्न समेत लाजमर्दो बनाएको तिक्तता समेत पोखेका छन् ।
हेर्नुहोस् समाचारमा व्यक्त केहि प्रतिकृयाहरु






तर दुवै पक्षले साझा रुपमा स्वीकारे युएईमा घरकालाई भुलेर व्वाई फ्रेण्ड र गर्ल फ्रेण्ड राख्नेहरु प्रसस्तै छन् ।
समाचार छापिएपछि फेसबुकका म्यासेञ्जरमा केहिथान फोटोहरु प्राप्त भए, त्यसरी नै युएईमा ‘गर्ल फ्रेण्ड’ राख्नेहरुका । हो विदेशको बसाईले राताचिल्ला भएका उनीहरुले को कससँग त्यसरी सम्वन्ध बनाएका छन् भन्ने कुरा युएईको समाजमा उति छिपेको छैन रे । अर्थात उनीहरुका बारेमा एकस्तरमा राम्रै चर्चा चल्दो रहेछ ।
यहि सन्दर्भमा प्रवासी नेपाली मञ्च, युएईकी उपाध्यक्ष मोति राईले त्यसरी नै युवती राख्ने र घरमा श्रीमतिलाई मानसिक तनाव दिने स्वनामधन्य समाजसेवीलाई नाङ्गेझार पार्ने चेतावनी दिएपछि यसले युएईको नेपाली बजार तताएको छ । राईलाई नै नाम भन्न लगाउने केहि असफल प्रयत्न पनि भएछ तर त्यो केवल झटारो मात्र थियो । त्यसैले राईले नाम खोलिनन् । तर यसरी नै समाजसेवीको आवरणमा युवती च्यापेर हिंडिरहने हो भनें कुनै दिन तिनका नाम छताछुल्ल हुने निश्चित छ ।
यो प्रवृत्ति युएईमा कार्यरत नेपालीको मात्र होइन । मलेसियामा त्यो भन्दा कम छैन यो समस्या । अनी खाडीका अन्य देशमा पनि धेरथोर यहि समस्या होला । मुख्य रुपमा बैदेशिक रोजगारीमा गएको व्यक्ति चाहे त्यो पुरुष होस् वा महिला उनीहरु मध्ये कतिपयमा यो प्रवृत्ति देखिएको छ ।
अझ मलेसियामा घर परिवार विर्सेर उतै कुनै देशका युवती लिएर बस्ने नेपाली युवाको जमात सानो छैन । तिनिहरु कमाउन सकुञ्जेल त्यसरी नै बस्ने र कमाई सकिएपछि आफैं नाङ्गेझार भएर फर्किने अवस्था छ । कतिपय भनें ईण्डोनेसिया वा भियतनाम तिर पुगेका खवर समेत आउँछन् ।
अर्थात मलेसियामा थुप्रै युवा युएईमा मोति राईले उठाए जस्तै विषयबस्तुको शिकार भएका छन् । देश परदेश डटकमले हराएका परदेशीमा उठाएका हरेक पात्रका बारेमा स्वयं उनीहरुका घर परिवारका सदस्यहरुले नै उनीहरुका आफन्त त्यसरी नै कुनै देशकी महिलासँग विहे गरेर बसेको हुन सक्ने अड्कल काट्नुले पनि यहि कुरा छर्लङ्ग हुन्छ ।
त्यसैले कमाउन भनेर परदेशीएकाहरुले त्यहाँको रमझममा भुल्दै गर्दा आफ्नो परिवार विर्सिए भनें त्यसले बगाउने नुनिलो आँशु कस्तो हुन्छ भन्ने पनि नविर्सनु । भनिन्छ पाप धुरीबाट कराउँछ । मोति राईले विदेशमा युवती राखेर घरमा श्रीमति तर्साउनेहरुका कुरा उखेल्दैछिन् । अरु धेरैले नेपाली महिलाका कृयाकलापका बारेमा प्रश्न उठाएका छन् । यो त केवल सुरुवात हो । त्यसैले बेला हुँदै सच्चिनु जाति । नत्र खाडी र मलेसिया पुगेर दुईचार पैसा कमाएर चिल्लोचापुल्लो हुँदै समाजसेवीको पगरी गुथेर हिंडिरहेका यो प्रवृित्तका मान्छेको धोती खुस्किनेछ । केहि गरी धोति खुस्कियो भनें लाज चैं शिरको पगरीले छोप्ने ?
