खाडीमा फस्नु अघि नै सतर्क हुनु राम्रो 

लक्ष्मण खनाल, युएई

अघिल्लो शुक्रबार कुवेतमा एउटा घट्ना भयो । तामाङ घेदुङ कुवेतले आयोजना गरेको सोनाम ल्होसार २८५२ कार्यक्रममा नेपालीकै विचमा कुटाकुट भयो । कार्यक्रम स्थलमा धारिलो हतियार प्रयोग भयो । कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमाल उपस्थित कार्यक्रममा भएको यसप्रकारको आपराधिक घटनको परिणाम स्वरुप कुवेतमा आइन्दा नेपालीलाई सार्वजनिक कार्यक्रम गर्न बन्देज लाग्यो ।  सो घटना पश्चात दुतावासले पनि नेपालीलाई कार्यक्रमहरु नगर्न भन्दै प्रेस विज्ञप्ती निकाल्यो ।

कुबेतको घट्नाले सम्पुर्ण खाडीमा बस्ने नेपाली र सामाजिक संघ संस्थाहरुलाई सोच्न बाध्य बनाएको छ । नेपाली समाज युएईले सोही विषयलाई आधार बनाएर युएईमा क्रियाशिल संघसंस्थालाई निम्ता गरेर अन्तरक्रिया गर्यो । कार्यक्रममा एनआरएनए, पत्रकार, विभिन्न राजनीतिक, जिल्लागत, क्षेत्रगत संस्था प्रमुखहरु सहभागि थिए । सोही कार्यक्रममा टिपोटको जिम्मेवारी पाएको कारणले पनि केही लेख्नु सान्दर्भिक ठानेको छु ।

कार्यक्रममा उपस्थित बक्ताहरुले उठाएका विषयहरु र निश्कर्षहरु अन्यन्तै सान्दर्भिक थिए । युएईमा रहेको नेपाली जनमासलाई कसरी व्यवस्थित गर्ने र समस्याहरुलाई कसरी कम गर्ने भन्ने बिषयमा दार्शनिक मन्तव्यहरु पनि आए । एनआरएनएका अध्यक्षले आफ्नो अनुभवहरु सुनाए । सरकारी तवरबाट स्विकृति लिएर जनचेतनामुलक कार्यक्रम गर्ने क्रममा झेल्नु पर्ने समस्याहरुको विषयमा र नेपाली भएका क्याम्पहरुमा जाँदा आइपर्ने समस्याहरुको बारेमा प्रष्ट पारे । जनचेतना कार्यक्रम नै समाधानको मुख्य साधन हुने निश्कर्ष निस्क्यो । जनचेतनाको लागि सम्पुर्ण संघ संस्थाहरुले हातेमालो गर्ने कुरामा सबैले प्रतिबद्धता पनि व्यक्त गरे । सबै कुराहरु सकारात्मक थिए कार्यक्रम सफल भएको थियो । यदी सो कार्यक्रमको भावनाले गति लियो भने युएईमा हुने गरेका विभिन्न विकृति र विसंगतिलाई न्युनिकरण गर्न ठूलै सफलता मिल्छ भन्ने कुरामा दुइमत छैन । खाँचो छ एकताको । खाँचो छ सहकार्यको । 

अहिले युएईमा हुने नेपालीका विभिन्न कार्यक्रमहरुमा मादकपदार्थ सेवन गर्ने, पार्कहरुमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, अश्लिल हर्कत गर्नेहरु माथि युएई सरकारको ध्यानाकर्षण भइरहेको छ । चिठ्ठा कार्यक्रम, स्विकृति नलिएका विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि निगरानीमा रहन्छन् । त्यसो त युएईमा नेपाली दुतावास र भर्खरै दर्ता भएको नेपाली विजनेस काउन्सील बाहेक अन्य कुनै पनि संस्थाहरु यहाँ बैधानिक छैनन । तर अफ्नो सामाजिक, साँस्कृतिक, परम्परागत कार्यहरु गर्न छुट दिएर युएई सरकार उदार देखिएको छ । तर त्यस्ता कार्यक्रमबाट यहाँको समाज र व्यवस्थामा असर पुग्नु हुँदैन ।

यता एनआरएनए युएईले जनवरी २०१६ मा युएईको जेल भ्रमण गरेको थियो । युएईको जेलमा रहेका नेपालीको मुद्दाको प्रकृतिलाई हेर्दा नेपालीमा जनचेतनाको अभाव महशुस गर्दै एनआरएनए युएईले फेब्रुअरी महिनालाई जनचेतना महिना घोषणा गरी युएईका विभिन्न इमिरेट्सहरुमा जनचेतना कार्यक्रमहरु गरेको  छ । युएईमा गर्न हुने र गर्न नहुने गरि १८ बुँदा कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रम नेपालीहरु रहेका विभिन्न क्याम्पहरुमा गरिएको थियो जसले केही हदसम्म समस्या न्युनीकरण गर्न सहयोग गर्ने नै छ ।

नेपाल सरकारले बैदेशिक रोजगारीमा जानेहरुका लागि भनेर नयाँ भिषामा जानेहरुको लागि अभिमुखिकरण कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । निश्चित दस्तुर लिएर गरिने सो कक्षा नेपाल सरकारबाट स्विकृती पाएका एजेन्सीहरुलाई कमाइ खाने भाँडो मात्रै भएको छ । स्वयं म एक दिन सो कक्षामा सहभागी भएको छु । त्यहाँ हरेका मुलुकमा जानेहरुलाई जम्मा गरी परिचय गरेर प्रमाण पत्र दिइन्छ । प्रमाण पत्र सिकाइ स्वरुप भन्दा पनि श्रम स्विकृति लिनको लागि एउटा कागजात बनेको छ । बैदेशिक रोजगारीमा जानेहरुका लागि देश अन्र्तगत छुट्टै राखेर त्यहाँको वातावरण, भौगोलिक अवस्था, कानुन, आदिको बारेमा जानकारी गराउनु जरुरी हुन्छ । अन्र्तराष्ट्रिय कानुन अन्र्तगत बाटो काट्ने र घरेलु कामदारहरुको लागि सामान्य विद्युतिय सामानहरु प्रयोग गर्न सिकाउनु जरुरी हुन्छ । अनी त्यो देशमा बस्दा गर्न हुने र नहुने कुराका बारेमा राम्रोसाग सिकाएर मात्र कसैलाई विदेश पठाउनु जाति हुन्छ । अन्यथा समस्यामा परिसकेपछि समाधान गर्न खोज्नु भनेको आगो लागिसकेपछि कुवा खन्न हिंड्नु जस्तै हो ।  

हामीले सार्वजानिक ठाउँमा मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्ने, विभिन्न सामाजिक साँस्कृतिक कार्यक्रमहरुमा झैझगडा गर्ने, र सम्बन्धित देशको कानुन भन्दा बाहिर गएर संघ संस्था र राजनीति गर्नेहरुलाई मात्र समस्या मान्नु हुदैन । ती समस्याहरुको पछाडी पनि धेरै समस्याहरु लुकेका छन । ति समस्याहरुको पनि खोजी हुनु जरुरी छ । 

हो बैदेशिक रोजगारीमा  धेरै खालका समस्या छन् । गाउँबाट शहर हुँदै विदेशसम्म आईपुग्दा एउटा युवा कतिठाउँमा ठगिन्छ र उ कसरी विदेशमा सुन तस्कर बनाइन्छ भन्नेसम्मका घटनाको कारण खोजेर निराकरण गर्नु जरुरी छ । तर विदेशमा बस्नेहरु, सामाजिक संस्थाका अगुवाहरुले पनि आफ्ना सदस्यहरुलाई सही बाटोमा हिंड्न सिकाउनै पर्दछ । अन्यथा यसले लाखौं नेपाली कार्यरत खाडीका अन्य देशमा पनि कुवेतकै नियति नदोहोरिएला भन्न सकिन्न । यसमा सवै चनाखो हुनु र बेलैमा सही बाटोमा हिंड्नु नै सम्भावित दुर्घटना टार्ने उपयुक्त तरिका हो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय