रेगिस्तानीको काठको बाकस

 

उसलाई अर्थात कर्णलाई आशिर्वाद दिएर बिदाईको हात हल्लाएको यादले किन हो कुन्नि आज एकोहोरो सताईरहेछ, कर्णकी आमालाई । उनको शरीरमा जाँगर हराएर गएको छ आज । जोश सेलाएर गएको छ आज । राती सपनीमा एेठन पनि भो । कर्णले हाँसेरै न रोई बस्नु है आमा, मैले हजुरको दूधको भारा तिर्न नसकेपनी छोरो हजुर कै जिम्मामा छोडेर आएको छु । सुनकलिले दुःख मनाउ गर्लीन् । हिम्मत दिनु, सम्झाउनु । भनेको राती को सपनाले उनी मुटु ढुक्ढुकाएर सारा रात जागै बसिन् ।

रातभरीको जाग्रामले होला बिहान पख आँखा लागेछन् । कौसीको कालो कौवाले घरको दैलो तिरै फर्केर का का, का का गर्दै थियो । सुनकलीको मन चिसो भएर आयो । कौवाको कागे स्वरले कर्णकी आमाको निन्द्रा भङ्ग गर्यो ।जुरुक्क उठेर बस्छिन् र मनमनै सोच्दै हैन आज के अनौठो भएको छ ? रातभरी एेठन भएर सुत्न पाएकी छैन बिहानै काले कौवा ले अल्च्छीन् लगायो । तर पनि मनलाई फलाम बनाउँदै बाहिरिन्छीन् र शुबोल शुबोल भन्दै डिलै नेरको पाती निमुठेर कौवा तिर फाल्छीन्, कौवा उडेर अर्को रुखमा बसेर फेरि का का, का का गर्न थाल्छ । 

आमाले अशुभ संकेत बुझी सकिन् । कर्णको बुवा कश्मिरको लडाइँमा पर्दा पनि यस्तै लिला भएको थियो । त्यो याद आज उनलाई बल्झेर आएको छ । छोरो कर्ण सँग न बोलेको पनि साता दिन भो । कतै बिसन्चो पो भयो कि । उनी मनमनै शंका गर्छिन । 

उता सुनकलीको पनि मनमा पनि हुण्डरी चल्दैछ । रातभरी कुकुर एकोहोरो रोएर निदाउन पाएकी छैन । कुकुर एकोहोरो रोयो भने अनिष्ठ भित्रीन्छ भन्ने सुन्दै आएकी सुनकली लुलिएकी छिन् । कुनै अशुभ समाचार सुन्न नपरोस् भगवान भनेर देउता कोठामा बालेको जोर बत्ती झ्याप्पै निभ्यो । पालाभरी तेल हुँदाहुँदै बत्तिी किन निभ्यो होला भन्ने कुराले उनलाई उसै पनि चिन्तित बनाइरहेको छ । तै पनि बुढी सासुलाई यो सवै कुरा भनेकी छैनन् । किन आमालाई समेत चिन्ता थप्नु भन्ने लागेर उनी उचपचाप बसेकी छिन् । 

दिउँसो तिर उनले कर्णको फोनमा घण्टी बजाइन् अरवमा । उताबाट एउटा अरवी मान्छे बोल्यो । के भन्यो उनले पत्तो लगाउन सकिनन् । मुटुमा ढ्याँग्रो बज्न थाल्यो । कतै उनी विरामी परेकी ? जेल पो हाले की ? अनेकथरी कुराले मनमा फन्को मारिरहे । 

आँगनमा हालिदिएको पिंग खेल्दै कर्णको छोरो भने आफ्नै तालमा मच्चिरहेछ । उ भन्छः अव मेरो वावा अर्को हप्ता घर आइपुग्नुहुन्छ । मलाई के के ल्याइदिनुहुन्छ । सुनकलीले घरमा झुण्ड्याएको क्यालेण्डरमा हेर्छे । हो कर्ण आइपुग्ने दिन गोलो लगाएको मिति अर्को हप्ता नै हो । उनी मनमनै भाकल गर्छिन् उनी घर आइपुगेपछि मन्दिरमा गएर भाकल अनुसारको कुराहरु चढाउने । मन अलिक हलुँगो हुन्छ उनको । हावाले भित्तामा झुण्ड्याएको क्यालेण्डरलाई हल्लाइरहेको छ ।  

दिन त जसोतसो वित्यो । आज राती साह्रै खराव रह्यो । रातभरी आकाश चड्किरहेको छ । बिजुली चम्किरहेको छ । आकाशमा नागहरु दौडेको देखिन्छ त्यो विजुलीमा । आँखा कतिबेला लागे पत्तै भएन । विहान अपुष्ट अशुभ खवर गाउँभरी फैलियो । त्यहि खवर बोकेर बडेबा कर्णको घरमा आइपुगे । अर्को हप्ता घर फर्किने दिन पर्खेर बसिरहेको कर्ण सडक दुर्घटनामा परे र कहिल्यै नफर्किने बाटो लागे । 

यो खवरले सासु, बुहारी दुुवै मुर्छा परे । गाउँका महिलाहरु त्यहि घरमा थुप्रिए । उनीहरु सुनकली र उनकी सासुलाई पानी छ्याप्न थाले । निक्कैबेर पानीले तालु ढड्याएपछि आमाको होश खुल्यो । तर सुनकली दिनभरी नै उसैगरी बरबराई रही । हो अव उसको आड भरोसा टुटेको थियो । 

समय वित्दै गयो । अर्को साता जुनदिन कर्ण घर आइपुग्ने साइत थियो, ठिक त्यहि दिन कर्ण आइपुग्यो । तर उ अव कहिल्यै नउठ्ने गरेर आयो । हो कर्ण आयो तर कहिल्यै पनि नबोल्ने गरेर आयो । कर्ण आयो, तर केही छिन् मुख देखाउने गरेर मात्र आयो । उ दागबत्ति लिने गरेर मात्रै आयो । उ काठको बाकसमा बन्द भएर आयो । 

इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती सुन्दैन त्यो ।

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो । 

यो कालजयी कविताले फेरि कर्णको जीवनलाई पनि समेटेर सखाप पारेको छ भौतिक दुनियाँबाट । 

एकै पाइला ढिलो होला पाउन्न कि भेट्न आमा ।

शिथिल भई थला पर्दा हात गोडा सेक्न आमा ।

उसले वाणी बोलेको आज उल्टो भएको छ ।

काठको बाकस भित्रको कर्ण आकाशगंगा मा डुल्दै हुंदो हो । तर उसको भौतिक शरीरले भन्दै थियोः

दुःख गर्दागर्दै आमा जीवन सङ्ग ढलें आज ।

काठको यो बाकस मा मृत बनेर गलें आज ।

जसरी संसारका पिडितहरुले झेलेका छन्, त्यसरी नै कर्णको परिवारले आँशु पिएर जीवन झेलेका छन् । घरका हरेक बिम्बहरुमा प्रतिबिम्ब बनेर कर्ण  रोएको मात्रै देखिन्छ । उनीहरु त के सारा गाउँले त्यो काठको बाकस भुल्न सकेका छैनन् । उनीहरुको कामना छ गाउँमा अर्को काठको बाकस नआओस् । 

ओम भट्टराई शुभचिन्तक 

कपिलवस्तु बाणगंगा 

हाल मरुभुमीको देशबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: