मलेसियामा कहाँ हराए रामानन्द ? (भिडियो सहित)

सुनसरी – पूर्वी तराईको एउटा गाउँले जीवन । थोरै जग्गाको खेतीपातीले खान पुग्नै मुस्किल । पुख्र्यौली जग्गा डेढ कठ्ठा मात्रै थियो । बाँकी अधियाँमा गर्ने खेतीपाती । सानै उमेरदेखि खेतिपाती गर्ने रामानन्द मेहताले सामान्य लेखपढ मात्र गर्न जानेका थिए । तर गाउँका अरु केहि युवाले मलेसिया र कतार गएर कमाएको कुरा सुनेका उनी श्रीमतिलाई आफू पनि विदेश गएर कमाउने सपना सुनाउँथे ।

त्यहिबीचमा एजेण्टले बैदेशिक रोजगारीको आकर्षण देखाएपछि सुनसरीको भोक्राहा गाउँविकास समिति ४ का रामानन्द मेहता सुनौलो सपना सहित उडे मलेसिया । घरमा रहे तीनबर्ष र डेढ बर्षका दुई छोरा, श्रीमति र बृद्ध आमा ।

मलेसिया जाँदा १ लाख ५० हजार बुझाएर उडेका थिए उनी । उनकी श्रीमति उर्मिलादेवीलाई अहिले पनि त्यो दिनको सम्झना ताजै छ । उनी बारीमा मुला छर्दैथिए । चिनेकै एकजना एजेण्टले १ लाख ५० हजारमा मलेसिया पठाइदिने बताएपछि रामानन्द निक्कै खुसी भएका थिए । त्यसैले उनले त्यहि डेढ कठ्ठा बारी धितो राखेर निकालेको पैसा एजेण्टलाई बुझाएर उडेका थिए मलेसिया ।

उनी मलेसिया गएको एक बर्षसम्म बेलाबेलामा फोन गरिरहन्थे । जाँदा लिएको ऋण पनि त्यहि एक बर्षबीचमा तिरे उनले । तर अकस्मात फोन आउन बन्द भयो । अर्थात रामानन्द बेखवर भए । दुर्ई छोरा र बृद्ध सासुको स्याहार गरेर बसेकी उर्मिलादेवीसँग उनको खोजी गर्ने सामथ्र्य पनि भएन ।

केहि बर्ष यसरी नै विते । यहिबीचमा रामानन्दका एकजना भाञ्जा पनि पुगे मलेसिया । उनलाई भेट्न रामानन्द आइपुगे क्वालालम्पुर । उनी जीवितै भएको पुष्टि भयो । यहि कुरा उनले गाउँमा माइजुलाई पनि सुनाए । तिनै भाञ्जासँग केहि रकम सापटी लिएर उनी आफू बस्ने ठाउँ फर्के । उनले आफू बस्ने ठाउँको नाम त यकिन बताएनन् तर उनी जोहरबारु तिर रहेको अनुमान छ उनका आफन्तहरुको । त्यसपछि रामानन्दले मलेसियामा नै रहेका ति भाञ्जासँग पनि कुनै सम्पक गरेनन् ।

मलेसियामा नै बेखवर रहेका रामानन्दले एकदिन अकस्मात फोन गरे घरमा । “म नेपाल फर्किनलाई कागज छैन, नागरिकता पठाइदिनु भन्नुभयो” उर्मिलादेवीले सम्झिइन् “मैले ५ हजार खर्च गरेर नागरिकता पठाइदिएँ ।” नागरिकता पुगेपछि पुनः फोन गरे उनले र ५ हजार पैसा पनि पठाइदिए । त्यसपछि पुनः उनी बेखवर नै भए ।

रामानन्दका छोराहरु 

रामानन्द बेखवर भएपछि मेहता परिवार समस्यामा छ । उनी मलेसिया गएको १४ बर्ष वितिसकेको छ । मलेसिया गएका गाउँलेहरुले रामानन्दले अर्कै विहे गरेको हुनसक्ने सुनाउँछन् । सोझो व्यवहारकी उर्मिलादेवी श्रीमान्ले अर्कैै विहे गरेको भए पनि लिएर घर फर्किन आग्रह गर्छिन । उनी भन्छिन् “मान्छे भन्छन् विहे गरेको छ त्यसैले आउँदैन । के ग¥यो, गरेन के भन्नु र ? म उसलाई घर फर्किन आग्रह गर्छु । यदि विहे गरेको छ भनें उसलाई पनि लिएर आउनु भन्न चाहन्छु ।”

मलेसियामा बेखवर रहेका रामानन्दको खोजिका लागि उनको परिवारले सुनसरीको ईनरुवामा सामी हेल्भेटासको सहयोगमा सञ्चालित सुचना तथा परामर्श केन्द्रमा निवेदन दिएको छ । उनको निवेदनलाई काठमाडौं स्थीत प्रवासी नेपाली समन्वय समिति मार्फत खोजिको प्रयास गरिरहेको सुचना केन्द्रकी संयोजक डिम्पल यादव बताउँछिन् ।

उनको परिवार एउटा भैंसी पालेर त्यसैको आम्दानीमा जीविका चलाइरहेको छ । १४ बर्षदेखि मलेसियामा बेखवर रहेका रामानन्दलाई उनकी बृद्ध आमा, श्रीमति र दुई छोरा पर्खिरहेका छन् । एउटा पुरानो तस्वीर र मतदाता परिचयपत्र बोकेर उनलाई खोजिदिन हारगुहार माग्दै दौडिरहेको परिवार सम्झेर रामानन्द एक न एक दिन मलेसियाबाट घर नफर्केलान् र ?

यदु मण्डलको सहयोगमा

भिडियो हेर्नुहोस् 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय