मेघराज सापकोटा, युएई
मिती २०७२ आश्विन् ३ आईतबारको दिन। ताप्लेजुङ् ओलाङ्चुङगोलाका काले शेर्पा युएईको रस अल खैमहमा १० तले भवनमा रङग लिपपोत गर्दै थिए । उनी सँगै आएका सुमन
लिम्बु अर्को भवनमा ताबुक उचाल्दै थिए । नेपालबाट युएई आएका उनीहरुले गत बर्ष मात्र ६ बर्षको भिसाको अवधी सिध्याएर थप ३ बर्षको युएई बसाइलाई लम्ब्याएका छन । अरु कति समय थप्नु पर्ने हो अहिले नै यकिन भन्न सक्दैनन । उनीहरु भन्छन- वापस गएर के गर्ने दाई ? आफ्नो गरीखान पनि पाईन्न नेपालाँ ।
सोही दिन नेपालमा फेरी अर्को उत्कृष्ट संबिधान २०७२ जारी भएको छ । पहिलेको उत्कृष्ट संबिधान २०४७ लाई फ्याकेर यो नयाँ उत्कृष्ट संबिधान ल्याइएको हो । अव फेरी केही बर्षमा अर्को पनि उत्कृष्ट संबिधान बन्ने हो कि हैन भविष्ले नै देखाउने छ तर सँकेत चाँही त्यती राम्रो देखिएको छैन ।
यिनै उत्कृष्ट संबिधान बनाउने दिन नेपालको एयरपोर्टबाट सधैं झै झण्डै १५ सय कामदारहरु खाडी तथा मलेसिया तिर हानिए । त्यो क्रम कहिलेसम्म चलिरहने हो भनेर अहिल्यै ठ्याक्कै भन्न सकिन्न तर के चाँही अनुमान गर्न सकिन्छ भने जबसम्म यी कामदार आयात गर्ने मुलुकहरुले कामदार लिनलाई बन्द गर्दैनन तबसम्म नेपालको एअरपोर्टमा लाग्ने लाइन पक्कै कम नहोलान ।
त्यही दिन बेलुकी नयाँ संबिधानको स्वागत गर्दै नेपाल भित्र र नेपाल बाहिर सबैतिर दिपावली गरियो । प्रबासमा पनि हामी केही सुकिलामुकिला साथीहरुले नयाँ संबिधानलाई स्वागत गरेर मैन बत्ती बाल्यौं ।
उता बुटवल देखी १० किमी दक्षिण टाढाबाट १६ बर्ष पहिले युएई आएका सिकर्मी साँहिला दाईले भने त्यसको अत्तोपत्तो पाएनन । उनलाई संबिधानले धान फलाउला र भकारी भरौला भन्ने किन्चित विश्वास छैन ।
अबुधाबी स्थित नेपाली दुताबासमा युएईका केही सुकिलामुकिला राजनीतिक तथा गैरराजनीतिक संस्थाका प्रतिनिधिहरु भेला भएर दीप प्रज्वलन गरे । दुबईको सिन्धे पन्जाब रेस्टुरेन्टमा एनआरएनले अर्को सानो कार्यक्रम आयोजना गरेर नयाँ संबिधानको स्वागत गर्यो । त्यसै गरी अलैनमा त्यहाँ रहेका बिभिन्न संस्थाहरुले पनि दीप प्रज्वलन गरे ।
मैले यही परिप्रेक्षमा ताप्लेजुङ बाट ७ बर्ष पहिले आएका तिनै शेर्पालाई सोधें जनताको नयाँ संबिधान जारी भो नि । अब नेपाल जाने हैन ? शेर्पाले फिस्स दाँत देखाएर भने संबिधानले पैसा दिने हो दाई ? संबिधानले चामल दिन्छ ? संबिधानले नुन तेल दिन्छ ? अनी संबिधानले बिकासको जादु ल्याउने हो दाई ? आफ्नो बारीको धान आँफै खान नपाएर अरबीको गुलाम बनेको छु, संबिधानले मेरो गुलामी छुटाउछ त ? के अब मेरो पसिना मैले मेरो देशको माटोमा बगाउन पाउने हो ? यी शेर्पा भाईले त मेरो सातो खाए । उनी जङिगएर भन्दै गए के हो संबिधान ? कुन धान ? कस्तो धान ? कहाँको धान ? कत्रो धान ? मोटो धान कि पातलो धान ? केपी ओलीलाई मात खुवाउने रहेछन बा !
मैले पनि खिस्स हाँसेर जवाफ दिए – केही दिदैन भाई तर मुलुकमा शान्ती र स्थिरता आउँछ । मुलुक प्रगतीको बाटोमा अघी बढ्छ नि । ब्यापार ब्यवसाय गरेर तपाईं गरीखान सक्नुहुन्छ । यत्ती मात्र के भनेको थिएँ शेर्पाले भने – यत्ती मात्रै भनिदिनुस् कि मैले ब्यवसाय गरे बापत डन र प्रहरीलाई साप्ताहिक हाजिरा बुझाउनु पर्छ कि पर्दैन ? मैले मेरो खल्तीको पैसाले बिर्तामोडमा एक ट्रक चामल किनेर ताप्लेजुङ् लैजादा बाटोमा पर्ने बर्ने, कोलबुङ, तीनघरे, बिब्ल्याटे, नेपालटार, रक्से, परेवाडाँडाका डनहरुलाई चन्दा दिनु पर्छ कि पर्दैन ?
म मौन बस्नुको बिकल्प थिएन । किनकी संबिधानमा त यस्तो लेखिन्न । बिहान बेलुकीको लागि हातमुख जोर्न दिनभर हात घोट्नु पर्ने शेर्पाको उक्त माग संबिधानले पुरा गर्दैन ।
यसो सोचें लिम्बुवान, खम्बुवान, थारुवान, मधेसी, जनजाती तथा आदीबासी धेरैले यसपाली पनि संबिधानको नाममा बत्ती बालेनन रे । दक्षिणका मधेसी दाजुभाइहरु त उल्टै रिसाएको पो देखियो । सप्तरीबाट युएई आएका नेपाली मुस्लिम समुदायका एक प्रतिनिधि मुन्ना सामुल हक पनि संघियता सहितको अखण्ड नेपाल चाहन्छन तर अधिकार सहितको । मधेश अस्तब्यस्त भएको महिना दिन भन्दा बढी हुन लाग्दा पनि काठमाडौ सुतेको देख्दा उनी दुखी छन । भन्छन ‘प्रचण्ड जीले जसरी काठमाडौमा बसेर संबिधान निर्माणमा गोल गर्नु भो त्यसैगरी मधेशमा पनि गएर अर्को गोल गरेर सिङगो नेपालको राजनेता बने हुने थियो ।’ उनको कुरा प्रचण्डले के सुनिदेलान ? अनेकस युएईका महासचिब गोपी कृष्ण पङेनीले त संबिधानको प्रशंसा गरे । उनले भिन्न दर्शन बिचार आस्था जात जाती मिलेर बनाएको संबिधानको पूर्ण समर्थन गर्ने बताए ।
त्यसो त युएईमा रहेका बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले संबिधानको समर्थन र बिरोध गरेर आफ्नो आफ्नो नुनको सोझो नै गरे । काङ्रेस, एमाले र एमाओबादीले दीप प्रज्वलन गरेर नयाँ नेपालको स्वागत गरे भने जनजाती, बैद्द्य माओवादी र बिप्लबवादीहरुले बिरोध गरे । संबिधानको अन्तर्निहित बिषयबस्तुमा गएर राम्रोको समर्थन र नराम्रोको आलोचना गरेको देखिएन ।
हुँदा हुँदा यतीसम्म कि यो लेख तयार गर्दै गर्दा भारतले संबिधान जारीको असन्तुष्टीलाई लिएर गर्न लागेको भनिएको नाकाबन्दी बारे पनि केहीले जोडदार बिरोध गरे भने केही मौन देखिए । जसरी नेपालमा संबिधानको बिषयमा कित्ता छुट्टीयो त्यसैगरी प्रबासमा पनि छुट्टीयो ।
जसरी राष्ट्रियताको बिषयमा नेपालमा कित्ता छुट्टीयो त्यसैगरी प्रबासमा पनि छुट्टीदैछ । राष्ट्रियताको बिषयमा पनि समर्थन, बिरोध वा मौन हुन्छ त ? नेपालको राष्ट्रियता भारतको गोजीमा भन्ने पुरानो आरोपलाई कसैले पनि प्रमाणीत नगरुन ।
काठमाडौबाट युएई आएका बिजय केसी र बबिता केसीको जोडीले भने आफ्नै कोठामा मैन बत्ती जलाएर नयाँ संबिधानको स्वागत गरे । यसरी ब्यक्तिगत तथा संस्थागत रुपमा युएईमा रहने नेपालीहरुले नेपालको नयाँ संबिधानलाई स्वागत गरेका छन । भ्रष्टाचारी र बलात्कारीलाई फाँसी दिनु पर्ने माग सहित जारी संबिधानमा अर्को असन्तुष्टी युएईमा बिगत लामो समय देखी बसोबास गर्ने आफुलाई नवगायिका भन्न रुचाउने बुनु उप्रेतीले पोखेकी छिन् ।
त्यसो त फाँसी नै बलात्कारको अचुक औषधी हो या हैन अर्को बहसको पाटो बन्न सक्छ किनकी छिमेकी भारत जहाँ बलात्कारीलाई फाँसीको सजाय दिन सक्ने ब्यवस्था हुँदाहुँदै पनि त्यहाँ दैनिक १०० को हाराहारीमा र बर्षेनी ४० हजार बलात्कारका घटना हुने गरेको तथ्याँक छ । अन्धबिश्वासले ब्याप्त भारतमा तथ्याँक बिहिन घटना त लाखौं रहेको हुनसक्ने जानकारहरु बताउँछन् ।
यसरी प्रबासमा नयाँ संबिधानको स्वागत र बिरोध हुँदै गर्दा मलाई भने तिनै शेर्पा भाईको कुराले सताउँछ । यहाँ धेरै शेर्पाहरु छन जसलाई संबिधानको चिन्ता भन्दा पनि कसरी जिबिकोपार्जन गर्ने भन्ने चिन्ता छ । स्वास्नी र बालबच्चाको चिन्ता छ । शान्ती सुरक्षाको चिन्ता छ । बिकासको चिन्ता छ ।
शेर्पा भाईले मलाई छुट्ने बेला भनेका केही कुरा अहिले पनि मानसपटलमा घुमीरहेको छ । ‘हेल्लो दाई, हामीलाई पनि ५० डिग्रीको गर्मीमा बग्ने पसिनाले साट्ने ६०० दिर्हामको माया भन्दा नि देशको माया छ ।’
शेर्पा भाई आफ्नै पसिनाले ठडिएका चारै तिरका बडेमान महल हेर्छन र भन्छन – मेरो पसिनाले यस्ता महल आफ्नै देशमा बनाउन सके म आफुलाई कती भाग्यमानी ठान्थे होला ? के देशमा आएको नयाँ संबिधानको स्वागत गर्न मलाई मन छैन र ? मेरो बालापन देखी नै चिनेका यी नेताहरुले बनाएको संबिधानमा धेरै विश्वाश छैन दाई, बाँकी हेरौला ।
नेपालको राजनीति देखी वाक्क भएर बिरक्तिएर पो खाडी भासिएका रहेछन यी शेर्पा भाई त । अरबीका घरहरुमा रङ पोत्ने शेर्पा भाई र उनको देशप्रेम मिश्रित चिन्तालाई मेरो पनि स्यालुट ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1