चर्चित
हिजो संविधान जारी भयो । राजधानी लगायत देशका धेरै ठाउँमा संविधानको समर्थन भयो । विदेशमा पनि धेरैजसो नेपालीको खुसी सामाजिक सञ्जालमा पोखिएको देखियो । देशमा चैं कतै भयंकर बिरोध भयो । कतै दीप बालियो । कतै काला झण्डा देखियो । कतै खुसी । कतै खेद । सायद यो चक्र अझै केही दिन यसरी नै चल्न सक्दछ । बिरोधका स्वरहरुलाई सही सम्बोधन नभएसम्म काला झण्डा देखाउने, संविधान जलाउने क्रम पनि चल्न सक्छ । खैर, संविधान जारी भयो यसैमा केही खुसी हुनुपर्दछ । बिस्तारै समयअनुसार संविधानमा अहिले भएका ब्यवस्थालाई सुधार गर्दै लानुपर्छ । यो संविधानले परदेशमा हुने नेपालीहरुलाई के दियो ? आउनुस्, कुरो गरम् ।
दैनिक झण्डै दुई हजार नेपाली देश छोडेर रोजगारका लागि विदेश लागेको तथ्यांक राज्यले हाँसेर सुनाइरहेको छ । देशका लागि अपार घाटाको यस्तो लज्जास्पद कुरो पनि हाँसेर सुनाउनु अर्को नमज्जा हैन र ? तर पनि खै कुन खुसीले सुनाउँछन्– राज्यका मालिकहरु ।
झण्डै ३० लाख विदेशिएका नेपालीको मताधिकारको कदर अहिलेको संविधानले पटक्कै गरेको देखिएन । इन्टरनेटको जमानामा अनलाइन भोटिङ गर्ने ब्यवस्था कायम गरिने कुरो लेख्न नसक्नु दलहरुको अदुरदृष्टि हो । अनेसासजस्तो संस्थाले यो गर्न सक्छ तर राज्य सक्दैन । यो सजिलो होइन । तर त्यहि असजिलोलाई सरल बनाउन सक्नु राज्यको दायित्व हो । यसलाई ब्यवस्थित गर्न तत् देशमा रहेको दुतावासलाई परिचालन गर्न सकिन्छ ।

दोहोरो नागरिकता पाउने प्रावधानले खाडी, इजरायल, मलेसियालगायत देशमा कार्यरत सामान्य नेपालीको रौं सम्म छुँदैन । एकोहोरो करार अवधिसम्म काम गर्ने र स्वदेश फर्किने नेपालीलाई दोहोरो नागरिकता पाउने प्रावधान कागलाई वेल मात्र हो । यो वेल एक त पाक्दै पाक्दैन र पाक्यो भने पनि कागले फोरेर खान सक्दैन । यो प्रावधान फगत विस्मात हो– रेगिस्तानी श्रमिकहरुलाई ।
भारतजस्तो खुल्ला सिमाना भएको देशमा कार्यरत लाखौं नेपाली श्रमिकको बारेमा संविधान मौन छ । मानौं राज्यका मालिकहरु भारतमा कार्यरत नेपालीलाई वैदेशिक रोजगारको आँखाले हेर्दैनन् । दलहरु आफ्ना नागरिकलाई हक दिलाउन भन्दा भारतलाई खुसी पार्न चाहन्छन् । भारतमा कार्यरत नेपालीलाई अन्तर्राष्ट्रिय श्रमहक दिलाउनतिर लाग्नुपथ्र्यो । तर त्यसो भएन र भारतमा कार्यरत नेपालीका लागि यो संविधान कागलाई वेल हो ।
स्वदेशमा रहेका लाखौं शैक्षिक बेरोजगारलाई यो संविधानले हायहेल्लोसम्म गरेन । बेरोजगार भत्ता, एक घर एक रोजगारजस्ता नारा फगत महंगा नारामै सिमित भए । त्यसैले लब्धांकपत्र बोकेर अनेक देशका दुतावासमा कर्म माग्न लाइन लाग्ने नेपालीको संख्या बढ्ने कुरोमा दुईमत रहेन । भुकम्पले ढालेको एकथान घर बनाउन पनि अव हरेक युवा अर्को देशतिर ताक्न थालेको छ । त्यसैले यो संविधान बेरोजगारलाई खेदुवा हो । कागलाई वेल हो ।

मित्रहरु
यति हुँदा हुँदै पनि संविधान जारी भएको छ । कमसेकम ८ बर्षयताको एउटा रडाकोले नयाँ गति पक्रेको छ । अर्कातिर संविधानसभाले संविधान नै जारी गर्न सक्दैन की ? यो नेपालमा सफल हुन्न की ? भनेजस्ता अनेकन आशंकालाई संविधान जारी भएसँगै निमिट्यान्न बनाइएको छ ।
रह्यो केहि असन्तोषका कुरा । तिनलाई बेवास्ता गर्न नलागुन् दलहरु । रेगिस्तानी र मलाया तिरका नेपाली श्रमिकलाई हेरोस् राज्यले । सवैलाई नयाँ संविधानले गौरव महशुश गराओस् । शिक्षा, शान्ति, सुब्यवस्था, रोजगारको सिर्जना गरोस् । जात, धर्म, क्षेत्र, बर्ग र लिङ्गको विभेद समाप्त गरोस् । मुस्कान छाओस् सवैको मुहारमा यसरी नै । सवैलाई शुभकामना ।
