कठै रुद्र ! कठैबरा सुनमाया !

 

यो उनैको कथा हो  …….. 

मेघराज सापकोटा, युएई- उनको सपना फेरी तुहियो । ज्यानै नरहे के सपना ? पहिलो सपना ३-४ बर्ष अघि नै तुहिएको थियो । तैपनी मन बुझाए । दाँया हेरे बाँया हेरे । सबै उस्तै उस्तै । कतै कोही चोखो भेटेनन । लोग्ने बिदेश हुने मध्ये थुप्रैका स्वास्नी गतिलो देखेनन । त्यही भएर मन बुझाए । ‘वल्लो घर, पल्लो घर, माथ्लो घर र तल्लो घर सबैले शंका गर्छन् बाबा ! हजुरकै दाई, भाई र आमाले नि शंका गर्छिन । म कसो गरौ ?  फोनमा यसै भन्थिन ।

नेपालबाट झण्डै २ हजार माईल टाढा रसअल खैमह रहेका रुद्रलाई यसै भन्थिन उनकी प्राण प्यारी । लोग्ने नहुँदा समाजले हेर्ने दृष्‍टिकोण नै गलत भएको बताउँथिन । आवारा केटाहरु पछी लागेको गनगन सुनाउँथिन् । श्रीमतीले लोग्ने बिना त समाजमा बाँच्न गार्हो भो भन्दा रुद्र आफु हुर्के बढेको गाउँ समाजलाई गाली गर्थे । गाउँका आवाराहरु मिठ्ठे, जापाने, अमिरे, हर्के सबैलाई नाम किटेर नै सराप्थे । आफुले मन पराएर घर भित्र्याएकी २५ बर्षीय धनमायाले रुद्र बिदेश हिंडेको एकबर्ष बित्दा नबित्दै यस्तै गुनासो गर्थिन । रुद्र भने सिरानमुनी राखेको धनमायाको फोटो निकाल्थे, २ तले ओछ्यानको तल हेर्थे, माथि हेर्थे र चुम्मा गर्दै आँखा चिम्लिन्थे ।

उनी एकोहोरिरहेका थिए । गाउँको यादले मन यसै सताईरहयो । रुद्रले धनमायालाई फोन गरे । ठुलो चाँही छोरोले बाबा भनेर एकदम याद गरिरहेको छ, धनमायाले भनिन । अनी तिमीले नि ? रुद्रले सोधे । थोरै लजाए जस्तो गरिन र भनिन  ‘कती गर्छु नि । कहिले आउला हजुर फर्कने दिन भनी दिन गन्ती गरिरहेछु ।’ रद्रले धनमायाका कुरा सुनेर आँशु तपक्कै चुहाए । हतपत नाडी र हातको पछाडि पट्टीबाट आँखा पुछे । कोठामा बस्न मन लागेन र उनी कोठाबाट यसो बाहिरिए ।  
 

आज उनी ड्युटी पनि गएनन । जान मन लागेन । एक दिन ड्युटी गएन भने कम्पनीले तलब काट्छ । एक दिन नगए दिनको ८ घण्टा बराबरको तलब काट्छ । काटे काटोस् । उनले ८ घण्टाको पर्वाह गरेनन ।

मायाको मुल्य हुँदैन । मायाको वजन हुँदैन । न त मायाको योग्यता नै । न मायामा कुनै जात हुन्छ । न मायामा कुनै धर्म । न माया कालो हुन्छ न माया सफेद । मायाको कुनै उचाइ छैन न त माया छोटो । आज रुद्रलाई त्यही मायाले सतायो ।

उडेर जाने भए जाने थिए । गूडेर जाने भए नि गूड्ने थिए । आज रुद्र धेरै रोए । धनमायालाई देखेको लुम्सीगाउँ सम्झे । धनमायालाई भेटेको चौतारी सम्झे । वरपीपल सम्झे । खै रुद्र आज धनमायाको मायाले पागल थिए । ३ वटा छोराको बाउ भएर पनि के भएको होला ? बेला बेला आँफैलाई सम्हाल्ने कोशीश गर्थे ।

मध्य दिन थियो । अरवको धुपले मर्करीलाई ५० डिग्रीमा छुवाउनै लागेको थियो । परबाट रुद्र लुखुर लुखुर पैदल आउँदै थिए । उतिबेलाको शाही नेपाल वायुसेवा निगमको उडानमा एउटै सिटमा बसेर आउने सिताराम गोर्खालीलाई मनको बह पोख्न रुद्र आउँदै थिए । असिनपसिन रुद्रले एकहातले पसिना पुछे अर्को हातले सितारामसँग हात मिलाए ।

आज रुद्रले सितारामसँग लामो गन्थन गरे । घरका कुरा गरे । मनका कुरा गरे । ३ भाई छोरा मध्ये कान्छो छोराको यादले सताएको कुरा गरे । धनमायाको कुरा गरे । दाईलाई गाली गरे । भाईलाई गाली गरे । आफ्नै आमालाई गाली गरे । सबै नराम्रा आफ्नै श्रीमती राम्री भने । मिठ्ठे, जापाने, अमिरे र हर्केलाई सरापे । सिताराम रुद्रको कुरा सुनिरहे । हो मा हो थपे । रुद्रले आफ्नो मन हलुका पारे र बाटो लागे ।

हो त्यही दिन थियो धनमाया यिनै सिधासाधा भोलाभाला रुद्रलाई छोडेर अर्कैसंग टाप कसेकी थिईन । केही दिन पहिले आफ्नै दाईले बुहारीको चालामाला ठीक भएन भन्दा रुद्र जङगिएका थिए । आफ्नै आमालाई झपारेका थिए । छरछिमेकलाई सरापेका थिए । आज रुद्र गलत साबित भए । गलत साबित बनाइए ।

युएई बसाइका सुरुका २ बर्षमा रुद्र जती हट्टाकट्टा देखिए त्यसपछीका बर्षहरुमा उस्तै रहे । रुद्रको जीवनमा आँधीबेहरी आयो । पहाड खस्यो । पहाडको ठुलो पत्थरले किच्यो र जीवनको खुशी जिउदै मर्यो । त्यसपछी उनी कहिले पनि धक पुकाएर हाँस्न सकेनन् ।

…….. ……………    ……………..

पल्लो गाउँ सिस्नेमा सुनमायाको कुरा चल्यो । सुनमाया दोस्री अभागी विवाहित नारी थिईन । सुनमायाले ८ कक्षा सम्मको अध्ययन गरेकी थिईन । उनको श्रीमानले विवाह गरेर मलेसिया गएका आजका दिनसम्म फर्केर आएनन । आउँदो हप्ता उनको १२ औ म्यारिज एनीभर्सरी । आजकाल गाउँमा म्यारिज एनिभर्सरी मनाउने हावा चलेको छ । म्यारिज एनीभर्सरी को सँग मनाउने सुनमायाले ? सुनमायाले दिन गन्ती गर्दा गर्दै श्रीमानले छोडेको पनि ११ बर्ष भएछ । पञ्चे बाजा बजाएर घर भित्र्याएको १ बर्ष पछी मलेसिया भासिएका उनका श्रीमानले नसम्झे पछी उनी पनि दोश्रो विवाहको तयारीमा थिईन ।

तिनै सुनमाया रुद्रको दोश्री श्रीमती बनिन । घरपरिवार सबैको सल्लाहमा उनले सुनमायालाई भित्र्याए । आफ्ना ३ छोरालाई सुनमाया कै जिम्मा लगाए । टुटेको उनको पहिलो सपना फेरी जोड्ने प्रयासमा रुद्र लागिपरेका छन । फाटेको मायालाई फेरी सिलाउन रुद्र लागिपरेका छन ।

केही दिन पहिले ठुलो चाँही छोरालाई एपेन्डिक्स भएथ्यो । अस्पतालमा अपरेसन गरेर भर्खरै घरमा ल्याएका छन । छोरोको उपचारमा जान नपाएकोमा थोरै रेड हर्स (युएईमा पाइने एक बियर) पिए ।

उनी जहाँ जहाँ जान्छन उनको थोत्रो साइकल त्यही त्यही । सुनमायाले धनमायाको मायालाई बिर्साउन खोज्थिन । तर रुद्रले धनमायालाई कहिल्यै बिर्सन सकेनन । सुनमायाले धनमायाको यौनलाई बिर्साउन खोज्थिन । तर उनको पहिलो यौन धनमायाले कहिल्यै बिर्साउन सकिनन । जीवन हो पहिलो प्रेम अनी पहिलो यौन कसले पो भुल्छ र ।

आज सेप्टेम्बर ३ तारिक । घडीको सुईले साँझको ९ बजेर उकालो लागेको जनाउ दिईसकेको थियो । रुद्रले आफु सुत्ने खाट मुनी हेरे । म्याकडोनाल्ड रित्तिएको थियो । रेड हर्स पनि सिद्दिएको थियो । पुरानो साइकल खत्रङ खत्रङ गर्दै स्पेनिस तिर लागे (जहाँ रक्सी किन्न पाईन्छ) । नजिकैको आकाशे पुल मुन्तिर साइकल बिसाए । एक, दुई, तीन आकाशे पुलको खुड्किला गन्दै पुल बाटै पारी स्पेनिसमा गए । आकाशे पुल सिधै हम्रा मलको माथिल्लो तलामा जोडीन्छ । स्पेनिस जान एक तला मुनी ओर्लिनु पर्छ । उनले १ बोतल म्याकडोनाल्ड र २ वटा रेड हर्स किने । उनी माथिल्लो तलामा नगई सिधै बाहिरिए । आकाशे पुलबाट वारी साइकल भएको स्थानमा आउनको लागि उनी माथिल्लो तलामा जानु पर्थ्यो तर गएनन । त्यही आकाशे पुलको मुन्तिरबाट बाटो काट्ने सजिलो उपाय निकाले ।

हो त्यही दिन, त्यही समय थियो जुनदिन कालले रुद्रलाई सदाको लागि टिपेर लाग्यो । उनी बाटो काट्दा काट्दै गाडीले किचेर मारिए । उनको दोश्रो सपना फेरी तुहियो । उनको सपना सँगै सुनमायाको भाग्य फेरी खोसियो । रुद्र सँग धित मारुन्जेल सुत्न नपाएकी उनको कोख रित्तै थियो । आज उनी सौताकी २ छोरा हेरेर श्रीमानको लाश पर्खदै छिन । कठैबरा सुनमाया !

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय