नत्र म साउदीबाट कहिल्यै फर्किन पाउने छैन

रञ्जना लम्साल नवलपरासी

गत बैशाखमा एउटा पत्र आइपुग्यो कावासोतीमा रहेको सुचना केन्द्रमा । त्यो पत्र बैदेशिक रोजगारबाट फर्केर गाउँमा सुरक्षित बैदेशिक रोजगारीका लागि स्वयंसेवी काम गरिरहेका एकजना मार्फत आएको थियो । बेवारिसे अवस्थामा फेला परेको पत्र निक्कै अप्ठ्यारोमा परेकी एक नेपाली महिलाले साउदीबाट पठाएकी थिइन् । पत्र लेख्ने जुना परियार थिइन् जसले आफ्नी दिदी माया र भिनाजुलाई आफ्नो नागरिकता(जसलाई उनले पत्रमा नरिता भनेकी छिन्) र पासपोर्ट बनाएर पठाइदिन अनुनय गरेकी छन् । नागरिकता र पासपोर्ट प्राप्त नभए आफ्नो जिन्दगी खाडीमै वित्ने भन्दै जसरी पनि पठाइदिन जुनाले भनेकी थिइन् ।                                                   

जुना अर्कैको पासपोर्टमा साउदी पुगेकी थिइन् । उनले प्रयोग गरेको पासपोर्ट मगरागडी ८ बर्दियाकी लालमति थापाको हो । जसको फोटोकपी उनले पत्रसाथ पठाएकी छिन् । उनको पत्र त फेला पर्यो तर न जुनालाई भेट्न सकिएको छ न त उनले पत्र पठाएका दिदी भिनाजुको नै पत्तो लागेको छ । त्यसैले साउदीमा जुना अझै आफ्ना दिदी भिनाजुले किन नागरिकता पठाइदिएनन् भनेर पर्खेर बसिरहेकी छन् की ? बेवारिसे अवस्थामा पत्र फेला परेपछि दिदी मायाको बारेमा खोजखवर गरिएको र पत्ता लगाउन नसकेको सुचना केन्द्र, कावासोतीका संयोजक रीतु राम सोती बताउँछन् ।

पत्रमा माया परियारको ठेगाना शिवमन्दिर गाविस वडा नम्बर ४ लेखिएको छ । त्यसैले सो नामको व्यक्तिको खोजी घरघरमा गएर गर्दा समेत फेला पार्न असमर्थ भएको सोतीको भनाई छ । जुनाको खोजिका लागि प्रवासी नेपाली समन्वय समिति, काठमाडौंले प्रयत्न गरिरहे पनि हालसम्म त्यो सम्भव नभएको पिएनसीसीका युवराज नेपाल बताउँछन् । उनका अनुसार जुना साउदीको कुनै घरमा घरेलु कामदारका रुपमा गएको बाहेक अन्य जानकारी नभएका कारण उनको अवस्था पत्ता लगाउन नसकिएको हो ।

उनको स्थीति पत्ता लगाउन साउदी स्थीत नेपाली दुतावास र पिएनसीसीको संयन्त्र भनें अझै पनि लागिरहेको नेपालको भनाई छ । जुनाले लेखेको पत्रको भाषा हेर्दा उनी सामान्य लेखपढ मात्र गर्न सक्ने अनुमान गर्न सकिन्छ । पत्रमा उनले दिदी भिनाजुलाई भर गरेको भन्दै आफ्नो नागरिकता र पासपोर्ट सकेसम्म छिट्टो बनाएर नपठाइदिए आफु साउदीबाट कहिल्यै पनि नेपाल फर्किन नसक्ने बताएकी छन् । पत्रमा उनले चिठ्ठीसँगै रकम पनि पठाएको उल्लेख गरेकी छिन् । जति सक्दो चाँडो मेरो नागरिकता बनाएर पठाईदिनु होला, विश्वासघात नगर्नुहोला उनले पत्रमा लेखेकी छिन् ।

उनले पत्रसाथ पासपोर्ट साईजको ३ वटा फोटो पनि पठाएकी छन् । सो फोटोमा उनको अनुहार बाहेक अन्य केहि देखिदैन । पत्रको अन्त्यमा उनले लेखेकी छिन् ‘दिदी म तिम्रो विश्वास गरेर बस्छु, विश्वासघात नगर्नु ।’ सुचनाकेन्द्रसम्म पत्र र पासपोर्टको फोटोकपी(उनी जाँदा प्रयोग गरेको लालमतिको पासपोर्टको) आईपुग्दा पत्र खोलिएको र च्यातिएको थियो भनें त्यसमा पैसा थिएन । पत्रमा भनें जुनाले आफूले रकम पठाएको उल्लेख गरेकी छिन् ।

उनले पत्रमा दिदी भिनाजुसँगै बाबु, आमा, भाई बहिनी तथा आरजु, दिपा, सुधा, सन्तोष, शिव र सन्दिपलाई सम्वोधन गरेकी छिन् । शिवमन्दिर गाविसका बासिन्दा माया परियार र सो परिवारका माथि उल्लेख गरिएका कुनै नाम भएका व्यक्तिलाई तपाईले चिन्नुभएको छ ? छ भनें तपाईको एउटा जानकारीले एउटी नेपाली महिलाको उद्धार हुन सक्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय