र, यसरी एउटा परदेशीको सपनाको अन्त्य भयो

झोला बोकेर उड्नु अघि उसले एउटा चिटिक्क परेको सानो घर बनाएर बाउआमालाई सार्यो । ऋण त उसले गएको तीन महिनामै ब्याज सहित तिरिसकेकै थियो त्यसमाथी आमालाई अलिकति खर्च पनि पठाईदियो । आमा खर्च त गर्दिन थिईन तर पुरानो मखमली थैलिमा पाँच हजार दाम बोक्न पाए बिछ्ट्टै खुशी हुन्थिन भन्ने उसलाई थाहा थियो । गएको छैटौं महिनामा सर सापटी गरेरै भएपनि बहिनीको बिहाको लागि ९० हजार दाम एकमुष्ट पठायो । असारमा खेती खर्च भनेर दस हजार पठायो । असोजसम्ममा सापटी तिरिसकेर पनि दशैंलाई १५ हजार खर्च पठायो । मंसिरमा साथी छुट्टी जाँदा नयाँ ज्वाईंलाई सामसुङ मोबाइल, बालाई घडी, आमालाई होल्यान्डको लुङी पठाईदियो । अनि साथमा आफू आउँदा घरमा दुईवटा ब्लाङकेट र एलसीडी टिभी ल्याउने समाचार पनि पठायो । नभन्दै उसको पनि जाने दिन आयो र भने भन्दा पनि तीन तोला सुन थपेर उ बिहे गर्ने सुरले दशैं कटाएर मंसिरमा घर पुग्यो । मंसिरको दोश्रो हप्ता एउटी चिटिक्क परेकी नव दुलही नयाँ घरमा भित्र्याएपछि भने उ ब्युँझियो । ब्युँझिदा उ खेतको बिचमा माटाले बनाएको पुरानै घरमा ब्युँझियो । उमेरले ६० कटेकी आमा उसैगरी मल बोक्दै थिइन् । ७० कटेका बाउ उसै गरि हलो जोत्दै थिए। गरिबीको अपहरणमा परेर रहर र चञ्चलता गुमाएकी किशोरी बैनी उसरी नै निरस आँखा लगाएर झोल हाल्नलाई आलु ताछ्दै थिई । पासपोर्ट बनाएर दलालका हातमा दिएका दिन देखि उसको कामै सपना देख्नु र नभएको आम्दानीको हिसाब गरेर बजेट बिनियोजन गर्नु भएको छ । घरखेतको काममा फिटिक्कै जाँगर चल्न छोडेको छ । आलस्य भएको ज्यान घरी घरी दिउँसै निदाउछ र देखिहाल्छ विदेशको सपना । दुई बर्ष भयो पासपोर्ट जिम्मा लगाएको । साउदी,कतार, दुबई, बहराईन, मलेसिया कुनै देश पेस्न बाँकी छैन। स्काफोल्डर, पेन्टर, कुक, वेटर, इलेक्ट्रीसियन, सेक्युरिटी, क्लिनर कुनै काम छैन जान्न भनेको तर भिषा लाग्दैन । आमाको भएको एउटा तिलहरी धरौटी राखेर दस हजारमा बनाएको पासपोर्टको म्याद गुज्रिन लागिसक्यो । तर अहँ भिषा मरिगए आउँदैन । दलाललाई जहिले सोधेपनी अवको एक महिना भित्र भन्न छोड्दैन । उफ् कति पर्खिनु पर्ने हो अझै खुईय्य गर्दै बस्दै छ उसको हिजोआज । नभन्दै उन्तिसौ महिनापछि त्यो एक महिना आयो । नौसय रिंगेट बेसिक, खान बस्न सहित ओभरटाईम गरेर १४ सय ग्यारेन्टी भयो । खर्च डेडलाख लाग्ने भयो । चालीस हजार कमाई हुँदा छेलोखेलो खाएर र जोहोरबारु घुमेर पनि साँवा र ब्याज सहित पाँच महिनाको कमाई न हो । उ खुशी खुशी जाने भयो । बाउआमाको हातको टीका लगाएर उ बाटो लाग्यो । बाटो लागिरहँदा सधैं सपना शून्य उसका बाउआमाका आँखामा धिपिक्क धिपिक्क सपनाहरू बलिरहेका थिए । तिनै सपनाहरूमा आफ्ना सपनाहरु मिसाएर एउटा ठुलो सपनाको पोको बोकेर उ काठमाडौं ओर्लियो । त्यहाँबाट उ प्लेनमा बसेर हेर्दाहेर्दै काठमाडौ खाल्डोलाई धेरै तल छोडेर भयानक उचाई लिएर उड्न पो थाल्यो । कुनै मेहनति किसानले बादलको खेती गरेजस्तो देखिने आकाशको बाटो हुँदै सेताम्मे बादलहरुसंग बिच बिचमा लुकामारी खेल्दै आँखा झिमिक्कसम्म नगरी उ मलेसिया पुग्यो । एयरर्पोर्टमा तीन दिनसम्म पानी र पाउरोटी खाएर कटाएपछि बल्ल उसलाई लिन कम्पनीको मान्छे आएको थियो । अनि क्वालालम्पुरका चिल्ला र फराकिला सडक हुँदै आकर्षक शहरको बिचैबिच गुडिरहँदा उसले तीन दिनको भोक थकान र निराशा सबै भुल्यो । शहरकै कुनै एउटा रेस्टुरेन्टमा कुखुराका तारेका साँप्रा, पाउरोटी र चिसो कोला खाएपछि त झन उसलाई मज्जाले निन्द्रा लागेर आयो । उ फुस्स निदाउनु अघिसम्म क्वालालम्पुरका विशाल र अग्ला घरहरू उसका मधुरा हुँदै गरेका आँखाबाट सट्ट सट्ट कटिरहेका थिए । निकैबेरको मिठो निन्द्रा पछि ब्युँझदा उ घना जंगलको बिचमा काठले बेराबारा गरेको कुनै दुर्गम र बिचित्रको ठाउँमा आईपुग्यो । ठाउँ बिल्कुलै दन्त्यकथामा बर्णन गरिएको एकादेशको कुनै गाउँ जस्तो थियो । मानिस र भाषा पनि एकादेश कै थिए । एक समूह चिम्सा आँखा, छोटो कद र लिखुरे जिउ ज्यानका छ्न । अर्को समूह भयंकर काला, बल्ढ्याङग्रे र राता आँखा गरेका अग्ला र मोटाघाटा भिमसेन जस्ता छन् । उसले सुनेको थियो भियतनामी र तमिलहरु यस्ता हुन्छन् भनेर । सुनेका कुरामा देखेका कुरा दाँजेर हेर्दा उसलाई यी तिनै भियतनामी र तमिल हुन भन्ने कुरामा शंका रहेन । छालाको रंग र आँखाको आयतनमा भएको अलि अलि समानताले गर्दा उ भियतनामीहरुको कोठामा पर्न गयो । बाहिर पट्टिको छेउको भान्सा उनिहरुको साझा भान्सा भयो । भोलिपल्ट बिहानै उसलाई सुई लगाईयो । बिषालु सर्प, बिच्छी आदिले टोके पनि अब उ नमर्ने भयो । पहेँलो र चम्किलो ड्रेस दिईयो ताकी उ जंगलको बिचमा परबाट प्रष्टसंग देखियोस र सुस्ताउन, अल्छी गर्न , घर सम्झेर रुन र टोलाउन नपाओस । यति गरिसके पछि बिहान लाल चियासंग निस्तो भातको नास्ता लिएर उसले त्यो दिनभरी नै चिन्ह लगाईदिएका रुखहरु काट्दै हिंड्यो । दिउँसो एकैछिनलाई जंगली सागको झोलसंग मुछेर भात खाने समय बाहेक साँझ झमक्क नभइन्जेल उसलाई त्यसै गराईयो । उसले त्यसै गर्यो । साँझ तमिलले थापेको सानो दोकानबाट दालचामल, आलुप्याज, र नुनतेल किन्यो उसले । तलव आएपछि तिर्न मिल्ने चलन रहेछ । जानी नजानी जीवनमा पहिलोपटक आफैं भान्से भयो। भात गिलो भएछ, दाल काँचो अनि सब्जी डडेछ । आधा खाएर उ निरस मन, थकित ज्यान र भोकै पेटले गर्मी नै भएपनि सिरक ओडेर सुत्न खोज्यो । तर आँखा चिम्म गरिसक्दा सिंगो गाउँ उसको आँखा अगाडी झल्झल्ती नाच्न थाल्यो । आमाबाबु, बहिनी, साथिभाई, छेउको खोलो, चौतारीका बरपिपल,गाउँको छुम्मे कुकुर, यहाँ सम्मकी खरबारी डडाउदा जलेको रुखको ठुटोसम्म उसको स्मृति भन्दा बाहिर परेन । ती सबै सम्झेर उ सिरक भित्र आधारात सम्म सुँक्क सुक्क गर्दै रोयो र कुनबेला निदायो उसलाई पत्तै भएन । भोलिपल्ट देखि उसको काम र दैनिकी मिलको फित्ता झै एकनासले त्यसरी नै घुमीरहयो । केही दिनपछि गाँउघरको न्यास्रो अलि कम भयो तर थकान निरासा र एक्लोपना भने कम हुन सकेन । बल्ल बल्ल एकजुग बिते जसरी महिना बित्यो र हातमा लेबी कटाएर सातसय रिंगेट पर्यो । तीनसय रासनको तिर्यो र सय रिंगेटको रिचार्ज गरेर घरमा लामो कुराकानी गर्यो । सबैभन्दा धेरै आमा र बहिनीसंग बोल्यो । नराम्रो केही भनेन सबै ठिकै छ पैसा अर्को महिना पठाईदिन्छु भन्यो । गाउँका अरु एकादुई साथीहरूलाई पनि फोन गर्यो । पैसा थोरै बाकी रहेपछि एकादुईलाई मिसकल हान्यो । तलब थापेको दिन छुट्टीको चलन रहेछ दिनभरी नै आरामले बितायो । तर छुट्टिको दिन उसलाई गाउँघरको सम्झनाले अरु दिन भन्दा झन धेरै सतायो । साँझतिर भियतनामीहरुले कताबाट हो एउटा मरनच्यासे खुईले कुकुर ल्याएर काटेर रमाइलो गर्न थाले । कुकुरको काँचो खुन, मासु र लादिले सारा ब्राह्मण दुर्गन्धमय भयो । त्यो देखेर उ हत्तपत्त भागेर कोठा भित्र गयो र सिरक ओडेर गुटुमुटु भएर सुत्न खोज्यो तर सकेन । काटी सकेपछि कोठै नजिक भान्सामा कुकुर पाक्न लाग्यो । पाक्दै गरेको कुकुरको मासु झन थामी नसक्नु गरि उसको नाकैमा ह्वास्स गनायो । त्यो रात बडो कष्टले कट्यो उसको । पानीसम्म खान दिग्मिग लाग्यो उसलाई । भोलिपल्ट बिहान सबै उठे तर उ उठेन । ऋणको पहाड र सपनाहरूको चाँङको बिचमा महिनाभरीको त्यत्रो मेहनतको कमाई तीनसय रिंगेट कठोर यथार्थ थियो । सपना र यथार्थ बिचको छिचोली नसक्नुको दुरी देखेर अत्यास मानिरहेका झै लाग्ने उसका आँखा तमिल सुपरभाइजर उठाउन जाँदा खुल्लै थिए । मुढो लडेजस्तो निस्प्राण लडेको उ आफ्ना सपना र दायित्वको बोझबाट मुक्त भए झै देखिन्थ्यो । सबैले पालैपालो चिहाएर हेरेपछि सबै नै उ मरिसकेको साझा निस्कर्षमा पुगे । त्यसको केही दिनपछि मलेसियामा एक नेपालीको मृत्यु शिर्षकमा उ समाचारको बिषय भएर आयो । अनि सामाजिक सञ्जालहरुमा दर्जनौ पटक उ समाचारको रुपमा बाँडियो । पढियो । केहिले उसको समाचारमा ‘RIP’ तीन अक्षरको अग्रेजी श्रदञ्जली दिएछन् । आखिर एउटा सपना मलेसियामा अस्तायो, सधैंका लागि । सन्तोष चिमरिया बेलबारी २ मोरङ हाल युएई यो पनि पढ्नुहोस्  एउटा सुचनाले मेरो जीवन फेरिदियो (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय