एउटा सुचनाले मेरो जीवन फेरिदियो (भिडियो सहित)

मेरो नाम दमन्ता कटुवाल हो । हाल अमरदह गाविस वडा नम्वर ३ मा बस्छु । मेरो उद्योगको नाम तेह्रथुमे ढाका उद्योग हो ।

मैले जीवनमा उद्योगी बन्छु होला भन्ने कुनै कल्पना गरेको थिईंन । विवाह हुँदा म २० बर्षकी थिएँ । माईती तेह्रथुम हो । विवाह पश्चात म अमरदह आएँ । विवाह पश्चात मेरा दुःखका दिन सुरु भए । घरमा खान लाउन नपुग्ने अवस्था थियो । त्यहि बीचमा एउटा छोरो जन्मियो । परिवार बढ्दै थियो तर कमाई थिएन । त्यसैले श्रीमान्लाई जसोतसो गरेर कतारमा काम गर्न पठाएँ ।

तर त्यहाँ पनि उहाँको कमाई भएन । कम्पनी खराव परेछ । काम गरेको तलव नै नदिने । कहिले कहाँ त कहिले कहाँ काम गर्न जानु पर्ने थियो रे । उता कमाउन भनेर गएको श्रीमानको त्यो हालत थियो यता आफूसँग एउटा सावुन किन्ने, बच्चालाई कपडा, औषधी किन्ने पैसाको समेत अभाव थियो । आर्थिक रुपमा निक्कै जर्जर अवस्था थियो । श्रीमानले विदेशबाट फोनमा खै म त अव नेपाल पनि फर्किन सक्दिन होला भन्नुहुन्थ्यो । त्यो सुन्दा अत्यास लागेर आउँथ्यो । यसरी बसेर त भएन भनेर साथिहरुसँग सरसारपट गरेर एउटा सानो किराना पसल खोलें । तर दुर्भाग्य त्यो पनि चोरी भयो । अव केहि गर्न सक्छु भन्ने आँट हरायो । म पहाडको मान्छे । तराईकोे बसाई थियो । त्यसैले पटक पटक विरामी पर्थे । बच्चा पनि विरामी भइरहने । त्यसैले म पुनः तेह्रथुम फर्किएँ । Damanta 2 माइतीमा गएर यो कुरा भन्न मन लागेन । त्यसैले केहि दिन बसेर फर्किने योजना बनाएँ । फर्किने बेलामा बाटो खर्च भनेर दुईतीन हजार पैसा दिनुभयो । म आएर तेह्रथुमको सदरमुकाम म्याङलुङमा एउटा होटल खोलेर बसें । तर होटल चलाउन पनि जान्नु पर्ने रहेछ । मसँग त्यो सीप पनि थिएन । त्यसैले होटलको भाडा पुर्याएर खान लाउन पनि धौ धौ नै परिरह्यो । म के गरौं, कसो गरौं भइरहेकी थिएँ । तर त्यहि बीचमा एउटा सुचनाले मेरो जीवन नै फेरिदियो । तेह्रथुमको स्थानीय मेन्छ्यायेम भन्ने रेडियोबाट झापा प्राविधिक शिक्षालयबाट निःशुल्क ढाका बुनाईको तालिम खुलेको जानकारी पाएँ । तालिम निःशुल्क भएकाले म पनि सिक्छु भनेर फारम भरें । कम्तीमा पनि ५ सय जतिले फारम भरेका थिए होला । अन्तर्वार्तामा मैले आफूले भोगेको दःख जस्ताको तस्तै सुनाएर म जसरी पनि काम गर्न खोजिरहेको बताएँ । सायद त्यहि कुराले छोएर होला मलाई उहाँहरुले छान्नुभयो । तालिम सुरु भयो । तर म तालिममा छानिंदाको एउटा कुराले मलाई थप काम गर्ने हौसला दियो । Damanta 3 अन्तर्वाताको नतिजा प्रकाशित गरेको दिन तालिमका लागि नछानिएका दिदिबहिनीहरु निक्कै रोए । त्यो देखेपछि लाग्यो, ढाकामा अवशर धेरै रैछ । त्यसपछि मैले तालिम सकेर अमरदह फर्केर उद्योग खोल्ने, ढाका कपडा बुन्ने र अरुलाई पनि यो कला सिकाउने योजना त्यहि समयमा बनाएँ । बेरोजगार हुँदा मैले धेरै दुःख पाएकी थिएँ । त्यसैले तीन महिनाको तालिम निक्कै मन लगाएर लिएँ । तालिम सकेपछि पूर्व योजना अनुसार अमरदह फर्कें र काम सुरु गरें । उद्योग खोलेपछि सिक्न आउनेहरु पनि भेटिए । उनीहरुले सिक्दै काम पनि गर्दै गए । मेरो उद्योगमा काम गर्न आउनेको संख्या ३० पुग्यो । Damanta 5 तर सवैलाई सधैं उद्योगमै आएर काम गर्न अप्ठ्यारो परेपछि मैले केहिलाई उनीहरुको घरमै तान राखिदिएकी छु । उनीहरुले फुर्सदको समयमा ढाकाको कपडा बुनेर ल्याउँछन् । १५ जना भनें यहिं उद्योगमै बसेर काम गरिरहेका छन् । मेरो उद्योगबाट हाल महिनामा ९० हजार देखि १ लाखसम्मको कपडा तयार हुन्छ । त्यो कपडा म तेह्रथुम पठाउँछु । सवैलाई उनीहरुको पारिश्रमिक दिएर पनि मलाई १५ २० हजार हुन्छ । यति मात्र होइन म तालिम पनि चलाउने गर्दछु । केहि समय अघि झापा प्राविधिक शिक्षालयको तालिम समेत चलाएँ । सीप हुँदा र नहुँदाको जीवनमा आकाश पातालको फरक छ । सीप नभएकै कारण मैले जीवनमा धेरै दुःख पाएँ । तर अहिले आफ्नो हातमा सीप छ । घर व्यवहार धान्न कुनै दुःख छैन । अहिले कसैसँग चारपैसा माग्नु पर्दैन । हातमा सीप छ भनें जस्तोसुकै समस्या पनि समाधान गर्न सकिने रहेछ । आर्थिक कमाई भएन भनें तनाव मात्र हुँदो रैछ । हातमा सीप छ भनें अहिले यो गर्छु, भोली यो बेचेर कमाई भइहाल्छ भन्ने लाग्छ । भगवान पुकारेर मात्र त हुन्न । Damanta 4 अहिले नेपाल फर्केर मेरो श्रीमानले मलाई यहि काममा सहयोग गरिरहनु भएको छ । हाम्रो घर छैन । अव म घर बनाउँछु र अरु थुप्रै महिलालाई सीप सिकाएर रोजगार दिन चाहन्छु । हिजो मेरो गरिखाने बाटो थिएन । यहि सीप सिकेपछि गरिखाने बाटो बन्यो । म जस्तै अरु धेरै दिदिबहिनीको अवस्था मेरो पहिलेको जस्तै अवस्था छ । त्यसैले उनीहरुका लागि पनि म गरिखाने बाटो बनाइदिन चाहन्छु । (सुनिल न्यौपानेसँगको कुराकानीमा आधारित । दमन्ता कटुवाल रोजगार कोषअन्तर्गत सन् २०१२ को तालिम तथा रोजगारी कार्यक्रमकी लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था झापा प्राविधिक शिक्षालयले सहयोग गरेको थियो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को मार्चसम्ममा रोजगार कोषले करिब एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/8N33f2VrJrc” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय