भारतमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुईजना आरोपित पक्राउ

काठमाडौं, भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मीर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो। नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मीर पुयाएर बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो।

कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितको गुनासो छ।

मंगलबार दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इण्डियाको समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरी दिल्ली लगिएको थियो।

उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर काम गर्न भन्दा गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेको बताए । उनले खाना पनि राम्रोसँग खान नदिने गरेको बताए ।

यसैगरी धनुषाका रञ्जित चौधरीले मोबाइल, नागरिकता, पैसाहरू सबै खोसेर राखेको बताए । काम लगाउनेले मार्नेसम्मको धम्की दिएको उनको भनाइ छ। काम भनेको नमाने आतङ्कवादी भनेर पक्राउ गर्न लगाउने धम्की दिने गरेको उनले बताए ।

झन्डै ३ महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दूतावास, जम्मुकश्मीर पुलिस, क्राइम ब्रान्च, सिआरपिएफको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली पुर्‍याइएको हो। घटनामा आबद्ध दुई जना अभियुक्तलाई पनि पक्राउ गरिएको बताइएको छ।

नेपाली कामदारलाई एउटै कोठामा थुनेर राखिएको थियो। बसेकै कोठामा दिसापिसाब गर्नुपर्ने, दुई समय खान पनि नदिने र कश्मीर पुगेको दिनदेखि नै नुहाउनसमेत नदिइएको उनीहरूले बताए।

ठेकेदारको बन्धकबाट भागेका सात जनामध्ये एक जनाले भोगेको यातनाबारे आफन्तलाई खबर गरेपछि सामाजिक अभियन्ता सरोज रायले उद्धारको लागि पहल सुरु गरेको बताए । सो समूहमा तीन महिनाअघि ४३ जना नेपाली कामका लागि गएका थिए।

उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको छ। घटनामा संलग्न मुख्तकिम आलम र मो। साजादलाई पक्राउ गरिएको छ भने जमाल मन्सुरी र मलिम मन्सुरी फरार छन्। उनीहरुविरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: