नेपाली कामदारलाई बचाउने हो भनें …..

म कतारमा राजदुत भएर जाने वित्तिकै मैले देखेको भनेको नेपालीले साह्रै दुःख पाएको हो । कतारमा एयरपोर्टमा उत्रने वित्तिकै देखि सुरु हुने उनीहरुको दुःख कतारमा कार्यरत रहँदा पनि हुन्थ्यो । समस्यामा परेका नेपाली धेरै दुतावाससम्म आइपुग्थे । त्यसैले मैले जनवर ८ देखि दुतावासले सेफ हाउस खोल्यौं । एयरपोर्टमा जो भोकभोकै अलपत्र परेका हुन्थे वा जसलाई कम्पनीले लेवर क्याम्पबाट निकालिदिएको हुन्थ्यो त्यस्ता असहायहरुलाई हामीले क्याम्पमा राख्न थाल्यौं । दुई छाक खानको लागि प्रतिव्यक्ति दैनिक रुपमा १२ रियाल दुतावासले उपलव्ध गराउन थाल्यो । ६ रियालमा एकछाक खान पुग्थ्यो । यसबीचमा हामी सम्वन्धित कम्पनी बोलाएर कुराकानी गरेर त्यस्ता व्यक्तिलार्ई कम्पनीमा पठाउँथ्यौं । र, यो प्रतिदिन प्रतिव्यक्ति १२ रियाल खर्च पनि हामीले संकलन गर्ने उपाय आफ्नै हिसावले निकालेका थियौं । हामीले कतारी कम्पनीका म्यानेजरहरुलाई बोलाएर भन्यौंः तपाईहरुले भिसा पठाएर मान्छेलाई एयरपोर्टमा अलपत्र पार्नुहुन्छ, समयमा कम्पनीको प्रतिनिधि पठाउनु हुन्न । त्यसैले त्यस्तो अप्ठ्यारोमा परेकाहरुलाई खाने बस्ने व्यवस्था गर्न दुतावासबाट मागपत्र स्वीकृति गराउँदा प्रति कामदार १ रियाल नेपाली कामदार कल्याणकारी कोषमा दिएमा मात्र मागपत्र स्वीकृत गर्ने कुरा राख्यौं । यसलाई उनीहरुले खुसीसाथ स्वीकार गरे । महिनामा ९ देखि १० हजार कामदारको माग स्वीकृतिका लागि दुतावासमा आइपुग्थ्यो । यो हिसावले महिनामा झण्डै १० हजार रियाल रकम कल्याणकारी कोषमा संकलन हुन थाल्यो । यसले दुःख अप्ठ्यारोमा परेका नेपाली कामदारको खानपान र बसोवासको प्रवन्ध मिलाउने काम भयो । हामीले यसका लागि छुट्टै व्यवस्था गरेका थियौं । आम्दानी खर्च पारदर्शी होस् भनेर । हामी त्यो रकमको आम्दनी र खर्चको छुट्टै हिसाव राख्ने गर्दथ्र्यौ । सेफ हाउसमा रजिष्टर राखेका थियौं जहाँ पीडितलाई दिइएको रकम दुरुस्त हिसाव राख्ने गरिन्थ्यो । यसले पारदर्शीतामा शंका गरिरहनु पर्ने ठाउँ पनि भएन । Surya nath Mishra recentअर्को कुरा म राजदुत भएर जाँदा ११ सय नेपाली डिपोर्टेशन सेण्टरमा थिए । उनीहरु के कारणले त्यहाँ परेका छन् भनेर खोजविन गर्ने काम सुरु गर्यौ । र, उनीहरुलार्ई हामीले उद्धारको काम थाल्यौं । मलाई गर्व लाग्ने एउटा कुरा, म नेपाल फर्किने समयमा नेपालीको संख्या १ लाख ४६ हजारबाट बढेर साढे तीन लाख भएको थियो । तर म २०१२ को फेब्रुअरीमा नेपाल फर्किंदा डिपोर्टेशन सेण्टरमा ९० जना नेपाली थिए । यसरी आफ्ना नागरिकका लागि काम गर्न सकिने ठाउँ हुँदो रहेछ जस्तो लाग्छ । अर्को कुरा १ लाख ४६ हजार नेपाली हुँदा त्यहाँ म गएको बर्ष १ सय ४३ जना नेपालीको मृत्यु भएको थियो । नेपाल फर्किने समयमा नेपालीको संख्या बढेर साढे तीन लाख पुगेपनि एक बर्षमा १ सय ७३ जना नेपालीको मृत्यु भयो । त्यसैले मृत्युदरमा पनि कमि ल्याउन हामीले सक्यौं जस्तो लाग्छ । पीडितहरुको समस्याको सुनुवाई राम्रोसँग भयो र उनीहरुको तनावलाई क मगर्न सकियो भनें मृत्युदर घटाउन सकिन्छ भन्ने लाग्छ । यसमा कतार सरकार र नेपाल सरकार दुवैको जिम्मेवार निकायले राम्रोसँग काम गर्नुपर्छ भन्ने लाग्छ । किनकी ४५ प्रतिशत मृत्यु त हृदयाघात अर्थात तनावका कारणले भइरहेको छ । यहाँबाट जाँदा स्वस्थ व्यक्ति कतार पुग्ने वित्तिकै गरिने स्वास्थ्य परिक्षणमा पनि पास भएको हुन्छ । त्यस्तो व्यक्तिको दुई बर्ष नवित्दै किन हृदयाघातले मृत्यु हुन्छ त ? निश्चित रुपमा तनाव नै यसको कारण हो । किन नेपाली बढी तनावमा पर्छन् त भनेर हेर्यौं भनें यहाँ गाउँका एजेण्ट वा काठमाडौंका मेनपावर कम्पनीले धेरै कमाई हुन्छ भनेर धेरै रकम असुल्ने प्रवृत्ति छ । तर कतारमा पुगेपछि त्यस्तो हुन्न । उनीहरुको काम पनि कडा श्रम गर्नुपर्ने हुन्छ भनें कमाई पनि यहाँ भनेजस्तो हुन्छ । यस्तो अवस्थामा दुतावास र श्रम अदालतले उसको कुरा राम्रोसँग सुनिदिएन र सहयोग गरेन भनें त तनावमा कामदार नै पर्छ । यता घरपरिवारले पनि ध्यान दिनुपर्छ । उता आफन्तले कम्पनीबाट तलव नपाइरहेको हुन सक्छ यताबाट लगातार पैसाको माग गर्दा पनि उसलाई तनाव बढ्दै जान्छ । अर्को कुरा हावापानीको पनि हो । नेपाल र कतारको हावापानीमा आकाश जमिनको अन्तर छ । तपाई हामी हेर्न सक्छौं जो दक्ष वा उच्च दक्ष कामदारका रुपमा कतारमा काम गर्न गएको छ त्यस्तो व्यक्ति नगन्य मात्रामा मरेका छन् । जो मरेका छन् ति अदक्ष कामदारको रुपमा गएकाहरु मरेका छन् । उनीहरुको काम गाह्रो हुन्छ, तलव राम्रो पाउँदैनन् र अन्य समस्याहरु पनि उनीहरुले नै बढी खेप्नु पर्दछ । यसमा ध्यान दिनुपर्ने कुराः यदि कसैको मृत्यु सडक दुर्घटनामा परेर वा कार्यथलोमा काम गर्दा गर्दै भएको छ भनें त्यस्ताको परिवारले जनही २ लाख रियाल क्षतिपूर्ति पनि पाउँछ । तर यो हृदयाघात र आत्महत्याका घटनाका पीडित परिवारले एक पैसा पनि क्षतिपूर्ति पाउँदैनन् । त्यसैले यो कामदारको मानसिक तनावको क्षति अझ ठूलो छ । यसमा एउटा बृहत अध्ययन हुन जरुरी छ किन स्वस्थ्य व्यक्ति हृदयाघातका कारण ज्यान गुमाईरहेको छ भनेर । अहिलेसम्म त हामी केवल अनुमानको भरमा भनिरहेछौं यो कारण होला भनेर । यसमा नेपाली र कतारी दुवै निकायले गम्भीरतापूर्वक अध्ययन गर्न जरुरी छ । कतारको जिम्मेवार निकायबाट नियमित रुपमा विभिन्न कम्पनीहरुको लेवर क्याम्पको भ्रमण हुने र कामदारले पाइरहेको तलवको नियमित जाँच मात्र गराउने हो भनें पनि यसमा धेरै सुधार गर्न सकिन्छ । मैले धेरै चिकित्सकहरुलाई पनि सोधें किन हृदयाघात हुन्छ भनेर उनीहरुले मुख्य कारण तनाव नै हो भनेका छन् । र, आत्महत्याको कारण पनि त तनाव नै हो नी । त्यसैले कामदारको तनाव हटाउने काम गर्न सकियो भनें हामीले धेरैको जीवन बचाउन सक्छौं भन्ने बुझेको छु । – डा. सूर्यनाथ मिश्र (देशपरदेशका लागि सम्पादक सुनिल न्यौपानेसँग मिश्रले गरेको कुराकानीमा आधारित । मिश्रले कतारमा नेपाली राजदुत भएर सन् २००८ देखि सन् २०१२ सम्म काम गरेका हुन् । उनले कतारमा राजदुत भएर बस्दा नेपाली श्रमिकका पक्षमा धेरै सुधारात्मक काम गरे । त्यसैले उनी नेपाली श्रमिक र श्रमिकको पक्षमा काम गर्नेहरु बीच हाल पनि निक्कै लोकप्रिय छन् । मिश्रको कतार बसाई अनुभव अवका केहि साता हरेक आइतवार देशपरदेशमा प्रकाशित हुनेछ ।) यो पनि पढ्नुहोस्  राजदुत भएपछिको पहिलो कामः नेपालीको तलव बृद्धि

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय