
प्रगति राई, दक्षिण कोरिया- विएम डब्लु कार होस, आफ्नो नाममा दरवार होस अनि हाम्रो प्यार होस, यूवा पुस्ताले निदाउन छाडेर देखेका सपना यस्तै यस्तै हुन । जसले आफ्नो घर परिवार छाडेर परदेश लाग्न वाध्य बनाउछ । अहिले नेपाली युवाको लागि रोजगारीको सजिलो उपाय भनेको दक्षिण कोरिया रहेको छ । किन कि भाषा पढे भइहाल्छ । पैसा चाहिदैन स्वास्थ्य शरिर र वोल्न जान्ने ब्यक्ती कोरियाको माग हो । सरल भाषामा भन्नुपर्दा नेपालमा पाँच हजारको जागिर नहुनेले कोरियामा लाख बढि पैसा कमाउछन् । महिनामा लाख कमाउनु ठुलै कुरा हो भन्ने ज्ञानले सयमा ९५ जनाको खुशी खल्बलाइदिन्छ । सन् २००७ मा सउल स्थित नेपाली दुतावासको स्थापना भएदेखि १९ जना नेपालीले कोरियामा आत्महत्या गरेको तथ्याङक रहेको श्रमसहचारी अनिल गुरुङ बताउछन् । यसको अनेकौ कारणहरु मध्ये हाम्रो सोचाइ र सवालहरु पनि एक कारण हुन् । जो मानिसले नेपालबाट आउदा महिनाको आफ्नो तलव दुर्इलाख तीनलाख सोचेका हुन्छन् । यसैको आधारमा काठमाडौको महँगो स्थानमा आफ्नो नामको घर ब्यवसाय हुनेवाला पनि सपना देखिसकेका हुन्छन् । गाउँमा पढदै गरेका भाइ बहिनी छोरा छोरीहरुलाई काठमाडौं बोलाउछन् । बा आमालाई महिनावारी घर खर्च पठाउछन् । परिवारको सदस्य हुनाको कर्तब्य पूरा गर्न सक्ने दृढता पलाउँछ । नेपालदेखि कोरियासम्म ६ घण्टाको हवाइयात्रामा उसले हजारौ सपना बुनिसकेको हुन्छ । आँखा अगाडी धुलाको मानिस महलमा पुगेका एक दुर्इ भविष्य घटनाहरु आफूमा नि सावित हुने सम्भावना देख्दछ । जहाजको गतिसँगै मान्छेका सपना वेगवान बन्न थाल्दछ । जव कोरियाको टे्रनिङ सेन्टरमा पुर्याइन्छ । जहाँ कामको बारेमा काम गर्ने स्थल साहूलाई गर्नुपर्ने आदरभावहरुको उराठलाग्दो दृष्य देखाउछ । त्यहाँ एक झड्का करेन्ट लागेको महसुस हुन्छ । खाना खान भान्सामा छिर्न सक्दैन काँचो माछा विपत्तै गन्हाउँछ । साना बटुकामा सिन्काले भात खानुपर्छ । बोल्न चाहेको कुरा भन्न नजानेर आफूलाई निम्छरो लाग्दछ । जङगलबाट पहिलो चोटि बस्ती छिरेको मानव झै जोकर सावित हुनपर्दा मान्छेले एक किसिममा आफूलाई दास महसुस गरिसकेको हुन्छ । खाना रुच्दैन सारो गारो गर्न मन लागेका कुरा सोचिदिने कोहि हुदैन । उ हिजोसम्मको वलवान मानिस आज आधा मरिसक्छ । कोरियामा राम्रा कम्पनीहरुले कोरियामा नै परिपक्व नेपाली कामदार पाउछन् । जसले एउटा कामदार एउटा सिपाही हुनको साठी प्रतिशत तालिम हासिल गरिसकेको हुन्छ । जुन कम्पनीले सुविधा दिन सक्दैन त्यस्तो कम्पनीले यहाँ मान्छे पाउँदैन र नयाँ कामदारको माग गर्छ । नेपालबाट आउनासाथ कसैले राम्रो कम्पनी पाएमा त्यो अपवादमा पर्दछ । न तलवको टुङ्गो न सुविधा न त तलव नै धेरै उसमाथी काम गार्हो । यी सव अवगुणको कारण नै अनभिज्ञ कामदार मगाउनु हो । तर नेपालबाट आउदै गरेका मान्छेहरुले चाहिँ यहाँ परिपक्क भइसकेका साथीको तुलनामा सुख सुविधा पाइने सोचिरहेका हुन्छन् । अनि सोचे भन्दा सवैथोक उल्टो हुन थालेपछि सोच पनि उल्टो आउन थाल्छ । आफ्नो आयु लम्व्याउनुको सट्टा छोट्याउन थाल्दछ । संसारलाई निरर्थक मान्न थाल्दछ । यी सवै कुराका वावजुद घरमा पीर गर्लान भनेर आफू ठिक भएको बनावटी कुरा गर्न थाल्छन् । राम्रा पार्कहरुमा राम्रा फोटा खिचेर फेसबुकमा राख्दछन् । अनि त घर परिवारलाई विश्वास हुन्छ कि हाम्रा परदेशी सुखी छ । सवै राम्रा देखेपछि घरमा आशाको ठुलो बत्ति बल्नु स्वाभाविक हो । महिना मर्यो । तलवको कुरा आयो । तलव थोरै त्यसैमा खान बस्न परेपछि कति नै बच्छ र ? पुग नपुग पचास हजार घर पठाइन्छ । पैसा पठाएको एक दिन एकरातसम्म परदेशीले पैसा थाप्ने आफन्तको फोन कुरेर बस्छ । फोन नआएपछि आफै गर्छः पैसा आयो र? उताबाट नियास्रो स्वर आउछः अँ आयो । पैसा पाएर पनि किन फोन नगरेको र ? फेरि उस्तै अल्छे स्वर आउछ, गरुला भन्थे त्यतिकै भयो । परदेशीलाई पसिनाले निथ्रुक्क भिजेको पसिनाको मायाले आक्रोश बनाउँछ र स्वर ठुलो हुन्छः पचास हजार सितैमा पाएर पाँच रुपैयाको फोन गर्न गार्हो भयो ? नेपालबाट पनि स्वर ठूलो आउछः जाबो पचास हजार पठाउनु छ, कत्रो खप्की दे को र? पैसा लिने लाइनमा अरुले एक लाख, दुर्इ लाख थापे आफ्नो जाबो पचास हजार । फोन सम्पर्क विच्छेद हुन्छ । पैसाको कारणले पहिलो चोटी परदेशी र घरवासीको सम्बन्धमा चिसो पस्छ । यसपछि परदेशी रक्सी नखानेले पनि वियर पिउन थाल्दछन । अगाडी नै रक्सी पिउन जानेकाले मात्रा बढाउछ । रक्सीका नशासँगै आफ्ना सपनाका पूर्वदृश्यहरु आँखामा छाउन थाल्दछ । तर ती सवै उल्टा र उधोमुन्टो लाएर आउछन् । अनि सपनासँग आफ्नो मेसो मिलाउन मान्छेले पनि उधोमुन्टो बनाउने सोच कतै झ्वास्स सोच्दछ । रातभरको सोचाइपछि राम्रो कम्पनी खोज्ने निर्णयले केहि राहत दिन्छ । विहान छुट्टीमा जान गोडा लम्कदैनन । जीउ उठ्दैन । वाध्यताले लतार्नु पर्दछ । आफ्नो कामदारले आलश्यता देखाउपछि साहूलाई रिस उठ्ने नै भयो । विहानै गालीको वर्षा हुन्छ । कोरियन भाषामा राम्रा कुरा बुझ्न नसकेपनि गाली भने स्पष्ट बुझिन्छ । घरमा त सम्वन्ध विग्रीयो नै अव कम्पनीमा पनि सम्वन्ध राम्रो रहदैन । उसमाथि अर्को कम्पनी जान्छु भनेपछि साहुले शत्रु ठान्दछ । दुनियाँ तिकडम गर्दा गर्दै पैसा कमाइ हुदैन । घरमा महिनावरी पैसा पठाउन असम्भव हुन्छ । साहुले बोलाउन छाड्छ । सँगैका साथीलाई मात्र कामको बारे भन्ने खाना खान आफुलाई छुट्टाएर अरुलाई मात्र बोलाउने इत्यादी कुराहरुले मान्छेमा नराम्रो सोचको विकास हुन थाल्छ । पैसा नपठाएपछि घरबाट आफन्तले पनि सम्पर्क पातलो पार्दै लान्छ । अन्ततः तलव आउने अघिल्लो दिन मात्र फोन वा मिसकल आउने पालो बस्छ । पैसाको समस्या परे विचतिर मिसकल पनि नआउने होइन । हुन त नेपालबाट कोरिया फोन गर्ने चलन हामीकहाँ त्यति छैन । कोरियामा सोचेजस्तो नभए पछि परदेशीले घर फर्कने सोच बनाउछ । अनि घरमा फोन गर्छ । कोरियामा पाएको दुःख बारे बताउछ । यति विघ्न दुःख आफ्नै ठाउँमा गरे नेपालमै केहि हुने सम्भावना वारेमा बताउँछ । तर घरकाले यो संवेदना बुझिदिदैनन् । भन्छन : नेपालमा केहि छैन । न राजनैतिक स्थिरता, न विजुली, न जागिर, न त सुरक्षा नै । नेपालबाट विदेश जानको लागि मान्छेहरु लाइनमा छन् । तँ विदेश पुगिसेको मान्छे रित्तो हात घर फर्कन खोज्नु के राम्रो हो र ? यस्तै यस्तै । हो यहिबेला परदेशीको हारेको मनस्थितीले मृत्यु बोध गर्दछ । कम्तिमा पनि आफन्तहरुले घर फर्किन भनिदिए, परदेशीको आत्मवल बढ्छ । काम गर्न सक्तिन भन्दा भन्दै पनि काम गर्न सक्ने हुन्छ । कमाउछ पनि । तर घरकाले जसरी भएपनि टिकेर बस, सवैले गरेका छन् त नामर्द न हो भनिदिदा नै दुर्घटना मात्रा बढ्न जान्छ । कमाउन सक्तैन घरबाट रित्तो हात नफर्की भन्छ । जसोतसो समस्याले तान्दै भएपनि साथीहरु बढ्दै त जान्छन नै तर साथीहरुका कुरा पनि उस्तै रहन्छ । काठमाडौंमा जग्गा कहाँनेर किनियो फलनाका त महल ठडिएछन । तरो कोरियाको चिनो काठमाडौंमा के छ ? इत्यादी । सफल मान्छेको यो यावत संवादहरुले असफल मान्छेलाई धकेल्दै धकेल्दै भीरको छेउमा पुर्याइसकेको हुन्छ । हजारौँ सफल मानिसका अगाडी आफू एक्लो असफल बाँच्नु भनेको सवै भन्दा बेइजति हो । इज्जत विहिन जीन्दगी के बाँचिरहनु ? सायद यस्तै लाग्न सक्छ । अन्ततः भीरको छेउमा धकलिएको मान्छेले नयाँ संसार रोज्ने डोरीको सहारा लिन्छ र संसारलाई फुत्त छोडीदिन्छ । जसलाई हामी बाँच्ने मानिसहरुले सवैथोक पचाउन सक्नेहरुले तिनलाई निरिह, हरुवा, नामर्द इत्यादी भनेर धिक्कार्छौ, छिः छिः गर्छौ । हामीले आफूलाई चाहि कहिल्यै परिवर्तन गर्दैनौ । कि परदेश जानु भनेको सहरमा घर जग्गा जोड्नु सवै थोक होइन । सुविधा सम्पन्न ठाँउतिर घुस्रिनु ठुलो कुरा होइन । ठूलो कुरा त यो हो कि मान्छे मानसिक, शारिरीकरुपमा स्वस्थ्य छ कि छैन । आफू जन्मेको ठाँउको लागि ससाना भएपनि असल काम गर्न सकेकी छ छैन ? यो महत्पूर्ण कुरा हो । हामीले हाम्रा सवालहरु, सोचहरु कहिले सहि बनाउने ? आत्महत्याका घटनाहरु हाम्रै कारणले जन्मिरहेका छन। गम्भिर मन्थन गरि हेरौ । यो पनि पढ्नुहोस् कुवेतमा लागु औषधसहित तीन नेपाली पक्राउ