मेघराज सापकोटा । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पले युएईमा रहेका नेपालीहरुलाई पनि ठुलो धक्का दिएको छ । नेपालमा लाग्ने धक्का पछि युएईमा कार्यरत नेपालीको मनमा आउने पराकम्पनले उनीहरुलाई हल्लाइरहन्छ । कान ठाडो पारेर बसेका यिनीहरु कुन समयमा कती रेक्टर स्केलको कति पटक भुकम्प आयो भनेर ख्याल राखिरहन्छन । त्यसो त नेपालबाट यहाँ आएर काम गर्ने प्रायः सबै कुनै न कुनै तवरले यो भुकमपको प्रकोपमा परेका छन । परिवार सँगै हुँदाको पीडा भन्दा टाढा हुँदाको पीडा झनै भयानक हुने अनुभब यहाँका नेपालीहरुले गरेका छन । युएईको उत्तरी राज्यको एक फ्री जोन कम्पनीमा सेक्युरिटीको जागिर खाने याम खत्रीको भुकम्पीय ब्यथा हृदयविदारक छ । भिमेश्वर नगरपालिका ४ दोलखा स्थाई घर भएका उनले गत बैशाख १२ गते आएको भुकम्पमा बर्षौको कमाइ लगाएर बनाएको काठमाडौको घर गुमाए । गाउँको घर बस्नै नहुने अवस्थामा पुग्यो । भुकम्प आएकै दिन उनले फेसबूकमा लेखे, बेहाल भो जिन्दगी । अब न टेक्ने रुख छ, न समाउने हाँगो नै । उनी भन्दै थिए, घर बनाउन बैंकको ऋण लिएको छ । तर त्यहि घर त ढल्यो नै अब बैंकको ऋणले चाँही निन्द्रा नलाग्ने भो । उफ्फ उफ्फ । कति दिन पो पिडामा बस्ने ? उनले शोकलाई शक्तीमा बदल्ने अठोट लिएरै छाडे । फेरी बैशाख १५ गते अर्को स्ट्याटस लेखे, हुन त म जन्मदा के नै पो लिएर आएको थिएँ र ? भगवानले जे दिएका थिए उही लिएर गए, यसमा के चिन्ता लिनु ? बिदेशमा बसेर कति दिन चिन्तामा डुबिरहने ? अन्ततः उनी धेरै पटकको असफल प्रयास पश्चात गत हप्ता नेपाल उडे । प्रकृती पनि कति निस्ठुरी बन्दो रहेछ । गत बैशाख २९ गते आएको अर्को भुकम्पले गाउँमा बाँकी रहेको एउटा घरले उनका बाबुलाई पनि लग्यो । घर छेउमै बसिरहेका बाबुलाई त्यही बाँकी रहेको घरले किच्यो र सधैंको लागि टिपेर लाग्यो । कसलाई भन्ने मनको पीडा ? दाँया हेर्यो उस्तै, बाँया हेर्यो उस्तै । सबैका कोही न कोही मरेकै छन । सबैलाई हेरेर मन बुझाउनुको बिकल्प अब यामसँग रहेन । याम त युएईका एक पात्र मात्रै हुन । यएईमा हुने सबैको ब्यथा उस्तै उस्तै छ । धेरै थोरै होलान प्रायः सबै पीडित छन । राहत संकलन् अभियानका एक अभियन्ता भन्छन, ‘हामी राहत संकलन् गर्नलाई नेपालीहरु रहेको धेरै ठाउँ घुम्यौ । धेरै नेपालीहरु लाई भेट्यौ । को सँग माग्ने र खै ? उनीहरुलाई नै दिनु पर्ने देखियो ।‘ पीडा सबैका आफ्नो आफ्नो ठाउँमा छन । बिदेशमा हुने सबै नेपालीहरु रोएका छन । तर रोएर कति दिन बस्ने त ? त्यसैले युएईबासी नेपालीहरु अब राहत संंलनमा जुटेका देखिन्छन । नेपाली संगीतमा रुन्चे गायक भनेर चिनिने प्रकाश पौडेल हरेक दिन जस्तै फेसबूकमा उर्दी जारी गर्छन् । ‘कोही खाली हुनुहुन्छ भने नेपाली दुतावास अबुधाबी आउनु होला, तुरुन्त अहिले । भोलि फेरि पचास टन राहत नेपाल पठाउदैछौ, प्याकिङ गर्नुपर्ने भएकोले गर्दा । सबैलाई खबर गर्छन् र आँफै पनि भ्याएसम्म खट्छन । रात होस् या दिन, अफिस होस् या छुट्टी केही नभनी उनी अहोरात्र खटिएकै छन । गैर आबासीय नेपाली संघ, युएईको समन्वयमा अहिले नेपाली दुताबासमा राहत सामग्रीको ओईरो नै लागेको देखिन्छ । यी राहत सामग्री स्वस्फुर्त जुटेका हुन । मनकारी हातहरुले दिएको सहयोगका सामग्रीलाई दुताबासकै एक कोठामा जम्मा गर्दै रेड क्रेसेन्ट मार्फत नेपाल पठाईंदै गरेको गैर आबासीय नेपाली संघ, युएईका अध्यक्ष कृष्ण भुसालले जानकारी दिएका छन । उनका अनुसार हालसम्म २०० टन भन्दा बढी राहतका सामग्रीहरु युएईको रेड क्रेसेन्टलाई हस्तान्तरण गरिसकिएको छ । ती सामग्रीहरुमा ब्ल्यान्केट, टेन्ट, खाद्द्यन्नका सामग्रीहरु र लत्ता कपाडाहरु रहेका छन । भुसालका अनुसार सामग्रीको अलाबा केही रकम प्रधानमन्त्री राहत कोषमा समेत पठाईएको छ । युएईको प्रसिद्द मनी एक्स्चेन्ज कम्पनी युएई एक्स्चेन्जले १ करोड रुपैयाँ बराबर नगद प्रधानमन्त्री राहत कोष मार्फत सहयोग गरेको छ । त्यसैगरी दुताबास मार्फत नै लुलु हाईपर मार्केट ग्रुपले २ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । युएईको प्रसिद्द लाइफ लाइन हस्पिटल ग्रुप कम्पनीले ६० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषको लागि प्रदान गरेको र ४० लाख रुपैयाँ बराबरको औषधी प्रदान गरेको भुसालले जनाएका छन । युएईमा रहेका भारतीयहरुले नेपालीहरुको पीडामा साथ दिईरहेको महशुस गरिएको छ । माथि उल्लेखित कम्पनीहरु भारतीयहरुको लगानीमा सञ्चालित हुन । विश्वको सबै भन्दा ठुलो सेरामिक्स कम्पनी आरएके सेरामिक्सले पनि रेड क्रसेन्ट मार्फत १ लाख ४० हजार दिर्हाम रकम सहयोग गरेको नेपाली जनप्रगतिशिल मञ्च, रस अल खैमहका अध्यक्ष टेक नाथ मिश्रले बताएका छन । मिश्रका अनुसार झण्डै ८ हजार कामदार रहेको उक्त कम्पनीमा ३०० जति नेपालीहरु कार्यरत छन । उक्त कम्पनीमा कार्यरत सबैले १ दिन बराबरको तलब भुकम्प पीडितको सहयोगार्थ प्रदान गरेको मिश्रले जानकारी दिएका छन । भारतीयहरु द्वारा सञ्चालित गैर नाफामुलक संस्था ‘शुक्रान वर्कर्स’ ले एनआरएन, युएईको सहयोगमा आगामी शुक्रबार १५ तारिकको दिन भुकम्प पीडितको सहयोगार्थ एक जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ । नेपाल दील से नाम दिईएको उक्त कार्यक्रमले पीडितहरुको राहत संकलनमा सहयोग पुग्ने विश्वास एनआरएन, युएईका उपाध्यक्ष सुदीप कार्कीको रहेको छ । यसैगरी युएईमा रहेका बिभिन्न ब्यक्ती तथा संघसंस्थाहरुले पनि आआफ्नो स्थानबाट नगद तथा जिन्सी सहयोग गरिरहेका छन । आगामी २१ तारिकका दिन हुन गईरहेको नेपथ्य ब्याण्डको कार्यक्रमको सम्पूर्ण मुनाफा भुकम्प पीडितलाई दिईने कार्यक्रम आयोजक राजन अधिकारीले बताएका छन । नेपाली जनप्रगतिशिल मञ्च, रस अल खैमहले गोर्खाको आरुचनौटे गाबिसको ७०, ८० घर रहेको एक दलित बस्तीमा १ लाख ७० हजार रुपैयाँ बराबरको राहत बितरण गर्न गईरहेको मञ्चका सदस्य धन कुमार नेपालीले बताए । युएईको जबल अलीमा रहेको जाफ्को ट्रेडिङले भुकम्प पीडितहरुको लागि भनेर एनआरएन मार्फत १० हजार ५ सय दिर्हाम नगद सहयोग प्रदान गरेको छ । हेल्प राइज फोरम, युएईले सिन्धुपाल्चोक गएर नै राहत बितरण गरेको छ । बिभिन्न जिल्ला समाजहरुले समेत आफ्नै तरिकाले नगद तथा राहत संकलन गरेका छन । दुबई स्थित नमस्ते ट्राभल्सका प्रोपाइटर एकेन्द्र बहादुर थापाले आफ्नो अफिसको एउटा कोठा राहत संकलनको लागि छुट्याएका छन । दिनहुँजसो बिदेशी र स्वदेशी नागरिकहरुबाट स्वस्फुर्त आउने गरेका राहतका सामग्रीहरुलाई उनी रेड क्रसेन्टलाई जिम्मा लगाउने गर्दछन । मनकारीहरुको नाम उल्लेख गर्दा छुटाउनु नहुने अर्को नाम हो युएईका नेपाली ब्यवसायी राम भुवन चौधरी । उनले ५० लाख रुपैयाँ बराबरको राहत सामग्री अहिले आँफै गाउँ गाउँमा गएर बाँडिरहेको खवर छ । त्यस्तै बिभिन्न नेपाली ब्यवसायीहरुले पनि दिल खोलेर सहयोग गरेका छन । सहयोग त जेनतेन उठि नै रहेको छ अबको चिन्ता भनेको कसरी नयाँ नेपाल निर्माण गर्ने रहेको नेपाली जनप्रगतिशिल मन्चका हेमन्त पौडेलले बताए । जनजाती महासंघका डेरराज तमुले त बिदेशमा रहने नेपालीहरुले अनिबार्य एक महिनाको तलब नयाँ नेपाल निर्माणको लागि सहयोग गर्नु पर्ने बताएका छन । उनी भन्छन, ‘बिदेशमा हुनेलाई फर्कन आह्बान गर्ने हल्ला सुनिदै छ । त्यसो हैन, बिदेशमा रहेका ३५, ४० लाख नेपालीले एक महिनाको तलब बराबरको रकम सहयोग गर्ने हो भने चाँही बरु नयाँ नेपाल बन्ला । सबैको चिन्ता यस्तै छ, भुकम्पले गर्नु गर्यो, अब समुन्नत नेपाल कहिले बन्ला ? यो पनि पढ्नुहोस् यो हप्ता युएईका दुई खास कुरा
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1