बाबु बेपत्ता भए मलेसियामा, छोराछोरी विद्यालय जानै पाएनन्

धनुषाका प्रमोद राउत कुर्मी परिवारको पालनपोषण गर्न मलेसिया उडेका थिए । २०५९ सालमा पहिलो पटक मलेसिया उडेका प्रमोदको मलेसिया बसाई परिवारका लागि फलिफाप सिद्ध नै थियो । तर अहिले त्यहि मलेसिया कुर्मी परिवारका लागि मनमा गढेको सुल भएको छ । हरवखत दुखिरहने नाम भएको छ । पहिले गाउँमै ज्याला मजदुरीमा काम गर्ने प्रमोद मलेसियामा ग्लोरी डोर नामको फर्निचर कम्पनीमा काम गर्दथे । बेगां शिवपुर १ धनुषाका ३४ वर्षे प्रमोद विदेश गएको करिब ६ वर्ष पछि एकपटक घर फर्केका थिए । विदा सकेर पुनः सोही कम्पनीमा काम गर्न फर्केका उनी अहिले न परिवारको सम्पर्कमा छन् न त घर नै फर्किन्छन् । यसले कुर्मी परिवारलाई अत्याएको छ । उनकी श्रीमति रामदुलारी श्रीमानको खोजखवर गरिदिन हारगुहार गर्दै हिंडिरहेकी छिन् । “श्रीमानसंग कुरा गर्दा करिव ३ वर्षको तलब लिन बाँकि रहेको र रकम पाउने वित्तिकै आफु नेपाल फर्किने कुरा गर्नुहुन्थ्यो । तर अहिलेसम्म न मान्छे नै फर्किनुभयो न त फोन नै आउँछ” श्रीमान प्रमोदको अवस्था पत्ता लगाइदिन आग्रह गर्दै हेल्भेटास स्वीस इण्टरकोअपरेशन नेपाल, सामी परियोजनाको सहयोगमा मित्र धनुषाद्धारा सञ्चालित सुचना केन्द्रमा आइपुगेकी रामदुलारीले भनिन् । विदामा नेपाल आएर मलेसिया फर्केपछि पनि प्रमोदले केहि रकम घरमा पठाएका थिए । उनले एकपटक ४० हजार पठाएका थिए भनें अर्कोपटक ५० हजार । त्यसपछि आफू नेपाल फर्किने कुरा गरेका प्रमोद एकाएक वेपत्ता छन् । प्रमोद घर फर्किने आशमा छन् उनका दुई छोरी, एक छोरा र श्रीमति । उनकी जेठी छोरी १८ बर्षकी छिन् भनें कान्छि छोरी ७ बर्षकी । छोरा १२ बर्षका छन् । पहिले प्रमोदले पैसा पठाएसम्म विद्यालयमा अध्ययन गरिरहेका उनीहरुको विद्यालय छुटेको छ । कापी कलम र पोेशाक किन्ने पैसा समेत नभएपछि छोराछोरीलाई विद्यालय पठाउन नसकेको रामदुलारी बताउँछिन् । कमाउने व्यक्ति नै बेपत्ता भएपछि परिवारको कन्तविजोग भएको उनको गुनासो छ । प्रमोद बेपत्ता भएपछि केहि समय माइतीबाट आर्थिक सहयोग पाएकी रामदुलारी हाल जनमजदुरी गरेर परिवार पालिरहेको बताँछिन् । कुर्मी परिवारको सम्पत्तीका नाममा खपडाले छाएको एउटा घर मात्र छ । एकातिर श्रीमान् मलेसियामा बेपत्ता छन्, अर्कातिर जेठी छोरीको विवाह गर्ने उमेर भइसकेका कारण रामदुलारी चिन्तित छिन् । अव यो अवस्थामा कसरी छोरीको विवाह गर्ने हो ? कहाँबाट रकम जुटाउने ? उनले सोही चिन्ता प्रकट गरिन् । प्रमोदको मलेसियाको मोवाइल नम्वरमा फोन गर्दा हाल पनि फोन जाने गरेको तर फोन नउठ्ने समस्या भएको मित्र धनुषाद्धारा सञ्चालित सुचना केन्द्रका संयोजक  रामकुमार कर्ण बताउँछन् । प्रमोदलाई परिवारसँग सम्पर्क गराउन सकेमा कुर्मी परिवारको मानसिक तनाव कम हुनेछ । यसरी नै समाचार प्रकाशित भएपछि हालसम्म बेपत्ता भनिएका(परिवारको सम्पर्कमा नरहेका) तीनजनाले परिवारसँग सम्पर्क गरेका छन् । त्यसैले प्रमोदको खोजीमा तपाईले महत्वपूर्ण सहयोग गर्न सक्नुहुन्छ । तपाई उनको खोजीमा मद्धत गर्न इच्छुक हुनुहुन्छ भनें हामी तपाईलाई उनको मलेसियाको सम्पर्क नम्वर उपलव्ध गराउने छौं । साथै यो समाचार धेरै व्यक्तिसामु पुर्याएर पनि प्रमोदको खोजीमा हातेमालो गर्न सकिन्छ । समिताकुमारी तामाङ, जनकपुर यो पनि पढ्नुहोस् भेटिए साउदीमा हराएका परदेशी साउदीमा हराएका भनिएका नेपालीले श्रीमतिलाई फोन गरे

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय