कुवेतमा महिला घरेलु कामदारको कुरा नउठेको कार्यक्रम

सुजन केसी- खदामा अर्थात अरबी भाषामा घरेलु महिला कामदार । कुवेतका सबै नागरिकले घरेलु महिला कामदार राखेका हुन्छन । यस्तो काम करिब तिस पैतिस हजार नेपाली महिलाले पनि पाएका छन । जति उनीहरुको संख्या छ समस्याहरु पनि उत्तिनै छन । दुतावास सधैं खदामा र खदामाका समस्याले भरिएको हुन्थ्यो । दुतावासलाई अरु काम गर्ने फुर्सद नै थिएन । दुतावास र संघ संस्थाको बैठक पनि खदामाका कुरामा मात्रै सिमित हुन्थे । निस्कर्षहिन बैठकबाट बाहिरिदै गर्दा सहभागिको मुखबाट खदमा दुतावास, खदामा राजदुत यहाँ आउनुको औचित्य छैन भन्ने गरेको सुनिन्थ्यो तर गत शुक्रबार फरक परिवेश देखियो । गत शुक्रबारका दिन नयाँ बर्ष २०७२ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा नेपालमा पर्यटन प्रवर्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न दुतावासले कृयाशिल संघ संस्थाका प्रतिनिधि समाजसेवी बुद्धिजिवी र पत्रकारहरुलाई बोलाएको थियो । यस्ता छलफलहरु विगतमा पनि नबोलाईएका होईनन् तर जुनसुकै विषयमा छलफल बोलाईए पनि महिला कामदारको विषय उठ्थ्यो अनि वादविवादमै बैठक समापन हुन्थ्यो । महिलाका कारुणिक कथा सुनेर ध्वस्त भएका केहि मनहरुले उनीहरुको समस्याको जड र समाधानको कुरा उठाउँदै गर्दा अर्का थरि पात्रहरुले पख हाम्रो विरोध गर्ने भनी औला ठड्याउँथे । सिधा भाषामा भन्नु पर्दा महिला कामदार रोक्नु पर्छ र किन रोक्नु ? हामीले ल्याउन पाउन पर्छ भन्ने विषयमा नै पक्ष विपक्ष भएर प्रस्तुती हुन्थ्यो माहौल। यस विषयमा दुतावासको भूमिका पनि ताक परे तिवारी नत गोतामे भने जस्तै थियो । यसअघिका राजदुत मधुवन पौडेलले पनि समुदायसँग छलफल र सहकार्य गर्न नखोजेका होइनन् । उनले दुतावास स्थापना गर्नु अगावैबाट समुदायसँग छलफल गर्न सुरु भएका थिए । विडम्बना उनका सबै छलफल घरेलु कामदारको समस्यामै सिमित रहे । उनी चाहेर पनि त्यो दलदलबाट बाहिर निस्कन सकेनन् । यस्तो हुनुको प्रमुख कारण घरेलु कामदारको लागि कुवेतको श्रम कानूनले नसमेट्नु र नेपाल सरकारको प्रष्ट नीति नहुनु नै हो भन्नेमा विवाद हुन सक्दैन । हाल एक बर्ष देखि नेपाल सरकारले घरेलु महिला कामदारलाई कुवेत आउन रोकेको छ । रोक्नु नै समस्याको समाधान होईन । मुलबाटो रोके पनि चोरबाटो चलिरहेकै छ । जे जस्तो अवस्था भएपनि सरकारले रोक लागाएका कारण नै दुतावास खदामाको जालो तोडेर बाहिर निस्कन सफल भएको हो । दुताबास स्थापना भएको पाँच वर्ष भयो । पाँच वर्षको अवधिमा दर्जनौ पटक छलफलमा बस्ने मौका मिल्यो । नेपालबाट भ्रमणमा आएका मन्त्री राजनीतिक दलका नेता आउँदा आयोजना गरिएका सवै भेटघाट तथा छलफल उपस्थित भईयो । तर गत शुक्रबार पहिलो पटक आत्मसन्तुष्टि मिल्यो । किनभने त्यहाँ पहिलो पटक घरेलु महिलाको कुरा गरिएन । नयाँ वर्षको पुर्व सन्ध्यामा, नेपालमा कसरी पर्यटक भित्र्याएर देश विकासमा टेवा पुराउन सकिन्छ भन्ने विषयमा केन्द्रित अन्तरकृया भएको थियो । कार्यक्रममा करिब ६० जनाको उपस्थिति थियो । त्यसमध्येका आधासरो मान्छेहरु पहिलो पटक दुतावासले आयोजना गरेको छलफलमा सहभागि भएका थिए । उनीहरु आफ्नो राय राख्न भन्दा पनि दुतावासको निम्तो पाएकोमा मख्ख थिए । मख्ख नपर्ने कुरै भएन । मधुवन पौडेल र विशाल भट्टराईको कार्यकालमा यस्तो मौका कहिले आएन । बिस, बाइस भन्दा माथिको संख्या कहिले हुँदैन थियो । दुतावासमा ठाउँ छैन । सबैलाई बोलाएर हल्ला मात्र हो भन्ने उनीहरुको जवाफ हुन्थ्यो । गणतन्त्र दिवसमा पनि समुदायका तर्फबाट २० नाघ्दैन थियो । पर्यटन प्रवर्धनमा टेवा पुगे नपुगे पनि राजदुत यज्ञवहादुर हमालको सबैलाई समेट्न खोज्ने ठुलो मन र उच्च विचार प्रशंसनिय छ । मानिसको जीवनमा गर्न आँटेको सबैकाम त पुरा हुँदैन तर कोशिस गर्यो भने कुनै कुरा पनि असम्भव छैन । नेपाल प्राकृतिक सम्पदाले भरिएको रमणिय मुलुक हो । मरुभूमिमा जन्मेका मान्छेहरुले मन पराउने हजारौ गन्तब्य छन् । अरबीहरुले मन पराउने खालका टुर ब्याकेज सहित उनीहरुको माझमा पुग्न सक्ने हो भने देशले ठुलो रकम आर्जन गर्न सक्ने छ । राजदुत हमालले दोस्रो पटक समुदायका प्रतिनिधिसँग छलफल चलाई सकेका छन् । उनले कुवेतमा रहेका संघ संस्थासँग सहकार्य गरेर अगाडि बढ्न चाहेका छन् । विश्वास गरौं नेपाल र नेपालीका हितका लागि नयाँ नयाँ योजना तय हुनेछन् । उनको कार्यकालमा कुवेतमा रहेका नेपाली कामदारको आर्थिक उन्नती हुनेछ । कुवेतबाट पर्यटक तथा लगानि भित्र्याएर समृद्ध नेपालको निर्माणमा टेवा पुर्याउने काममा नयाँ राजदुतको सक्रिय भूमिका हुनेछ भन्ने आशा नेपाली समुदायले गरेको छ । नेपालकुवेत डटकमबाट यो पनि पढ्नुहोस् श्रीमान् उडे विदेश, श्रीमति हिंडिन् अर्कैसँग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय