नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले कोभिड १९ को महामारी फैलिन नदिन दिनरात नभनी काम गरिरहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु माथि कतिपय अस्पतालहरुले अन्याय गरिरहेको भन्दै त्यसलाई अविलम्व रोक्न माग गरेको छ ।
यूनियनका अध्यक्ष चन्द्र थापाले एक विज्ञप्ती प्रकाशित गर्दै हाल कतिपय अस्पतालमा एउटैै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खाजा तथा खाना र उपयुक्त आरामको व्यवस्था समेत नगरी २–३ सिफ्टको ड्यूटीमा लगाएको जनाएका छन् । स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको पारिश्रमिक कटौती गरिएको र कर्मचारीहरुलाई बेतलवी विदा बस्न बाध्य पारिरहेको भन्दै यूनियनले त्यस्तो प्रवृत्ति अविलम्व रोक्न माग गरेको हो ।
सरकारले घोषणा गरेको व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), बिमा र भत्ता लगायतको प्याकेज निजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले पाउने हुन् वा होईनन् स्पष्ट पार्न पनि यूनियनले नेपाल सरकारसँग माग गरेको छ ।
विज्ञप्तीमा भनिएको छः स्वास्थ्यकर्मी तथा आवश्यक हेरी सवै कर्मचारीहरुलाई विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड अनुसारका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), यातायातको उचित व्यवस्था गर्न र उच्च जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा सवै कर्मचारीहरुका लागि प्रोत्साहनको उचित व्यवस्था गर्न माग गर्दर्छौ ।
काम गर्ने उचित वातावरण तथा समयानुकुल तालिमको अनिवार्य व्यवस्था गर्न, खास कुनै संकटको बेलामा मात्र नभई पूर्वतयारी गरीरहने व्यवस्था गर्न आवश्यक ऐन कानून निर्माणमा अवका दिनमा ध्यान दिन पनि जरुरी देखिएको यूनियनले जनाएको छ ।
राज्यका तीनै तहका सरकार र निजिस्तरबाट स्वास्थ्य सेवाप्रदायक संस्थाहरुले स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण सिर्जना गर्नका लागि यूनियनले अनुरोध गरेको छ । आफू सुरक्षित हुँदै अझ उच्च मनोवलका साथ सशक्त रुपमा जनता र देशप्रति समर्पित भई काम गर्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई यूनियनले अनुरोध गरेको छ ।
यो पनि पढ्नुहोस् महामारी पछिको संकटः नेपालले गर्नुपर्ने तयारी
