निमेश गिरी-
आजको लेखाईमा केहि समय अघि सम्पन्न गैर आवासिय नेपाली संघ(एनआरएनए) को विश्व सम्मेलन तथा अन्तराष्ट्रिय साधारण सभाको अनुभवमा केन्द्रीत गरेको छु । सो सम्मेलनमा सहभागि हुन खाडीबाट हवाई जहाज चडेर उत्रिएँ कान्तिपुर नगरी । सरकारले बनाएको बुटिक विमानस्थलमा लम्कँदा चञ्चल चित्तमा हलचल आयो । विमानको टिकसका लागि पो पैसो तिर्नुपरेको थियो, मनको विमानमा त निःशुल्क नै उड्न पाईन्छ नी हौ गाँठे ।
विमानस्थलमा लाईनको लर्को थियो । आफू बसियो ईमान्दार भएर । यसो दायाँ बायाँ हेरेको त आफु भन्दा पछाडिका साथि त लाईनको टुप्पैमा पुगिसकेछन् । हाँस्दै घुस्रिएँ म पनि उनको वीचमा । स्वात्तै पुगियो अध्यागमनका कर्मचारीको अगाडी र ट्याच लगाईदिए छाप पसपोर्टमा, अनि फूत्त निस्किएँ लगेजको लाईन तिर । ख्याल मज्जा आएन । एउटा ज्ञान प्राप्त भयो त्यसैले पो नियम मिच्न माहिर भएका रहेछौं हामी नेपाली । अन्य मुलुकको विमानस्थलमा थुतुनोमा बुझो लगाएर लाईन बस्नेहरु, नेपाल छिर्ने बित्तिकै वैंश चढेको मत्ता साँढे बनेर शीशा फुटाउन उद्धत बन्दै, बुझक्कड बनि टोपलेको पनि सुनियो ।
विमानस्थलबाट बाहिर निस्कने वित्तिकै ट्याक्सी ट्याक्सी भन्नेहरुको कानै खाने हल्ला मात्र होइन तानातानमै उत्रिन तम्तयार थिए ट्याक्सीवालाहरु ।
कान्तिपुर नगरीमा उत्रिएको दिन नै एनआरएनएको डेलिगेटमा नाम दर्ता गर्न बालुवाटार लागियो । कार्यालय छेउको सभामुखको निवास चकमन्न भएपनि त्यसको नजिकै रहेको एनआरएनको कार्यालयमा लाईन देखेर दिमागको बत्तिमा लोडसेडिङ्ग भए जस्तो भयो । केहि समय अगाडी एनआरएनले आयोजना गरेको विज्ञ सम्मेलनको औचित्यलाई नै कुरी कुरी गरीरहेको थियो । कुरा मुरी मुरीका गर्नेहरुको मुख अगाडी नै गएर कुरी कुरी भन्न जंग नचलेको त कहाँ हो र ? तर मनलाई कच्याककुचुक पारेर लागियो लाईनमा ।
सरकार विदेशमा सिकेको सीपले विकासको सपना देख्छ तर एनआरएनको कार्यक्रमको चाला र दर्ता गर्ने प्रकृया झण्डु टाईपको देख्दा “यस्तै छ ब्रो” भन्न मन लाग्यो । कति त टाई लगाएर हाई गर्दै लाईनमा लागेको देख्दा वरपरकाले एनआरएनको औकात र हैसियत देखियो भन्दै बाटामा कानेखुशी गरेको देख्दा त्यहिंबाट फर्कौं फर्कौं लागेको थियो । कार्यक्रम आयोजक समितिमा बस्नेहरुलाई महादेवको जस्तो तेस्रो नेत्र हुँदो हो त त्यहिं धुलिसात पार्ने मन थियो । तर आफु डोरी लाउरे परियो । कतै यस मध्यपुर्वमा रहेका नेपालीहरुका लागि एनआरएनलाई प्रयोग गर्न सकिन्छ र प्रयोग गर्नु पर्छ भन्ने ठानियो । त्यसैले मुखमा पट्टि हानियो र लाईनमा झ्याल गरेर बुर्कुसी मारियो ।
त्यसैपनि एनआरएनको विश्व सम्मेलनमा सहभागि हुन गएको मान्छे परियो । बिहानै उठेर सकेसम्म चिटिक्क परेर लागियो हायत होटलतर्फ । तर अनुहारमा फाउण्डेशन नै लगाउनु नपर्ने विकास देखेर आँखा पनि चित खायो । धुलो र धुँवाको बाँस्नाले फोक्सोबाट चाँडै सिद्धिने भएँ भन्ने आवाज आयो । हायातको गेटबाट भित्र छिरेको त कुमार पन्त, कुल आचार्य, बद्रि केसी, सोनाम लामा सबै भुईमा उत्तानो चित परेको देखें । कसैकसैलाई पैताला, मोटर बाईक र गाडीको टायर मुनि पसेको समेत देखें । हत्तेरीका विभिन्न पर्चामा तस्वीर छापेर छरेको प्रचार सामग्रीको चमत्कार भन्दा बलात्कार भएको देख्दा चित्तको पित्त फुटेर पेट नै तितो भएर आयो ।
नेपाल र नेपालीको समृद्धिको कोहोराम मच्चाउने एनआरएनका नेताहरुले जताततै लम्पसार हुने कुरामा गर्ने खर्चलाई, कुनै दुर्गम गाउँको विद्यालयलाई पुस्तक नै उपहार दिएको भएको सुनमा सुगन्ध हुने थियो । त्यहाँका विद्यार्थीले बरु स्वस्ति र मुक्तकण्ठले प्रशंसा गर्ने थिए । भुईमा यत्रतत्र अलपत्र भएर पछारिनु भन्दा, कुनै पुस्तकको गातामा छापिनुको मज्जा नै बेग्लै हुने थियो । बेलैमा बिचार पुर्याए राम्रो ।
पहिलो दिनको उद्घाटन सत्रमा बस्न र पस्न ठाउँ नै थिएन । लाग्थ्यो कुनै मेलामा दोहोरी सुन्न धकेलाधकेल गरेको भिड जस्तो । महको गाउँखाने कथा जस्तो “पस्न धेरै गाह्रो, पसेपछि निस्कन झन् गाह्र्रो“ अवस्था थियो । राष्ट्रप्रमुखको उपस्थितिमा के के न होला भनेको त “माछा माछा भ्यागुता मात्र भयो । धन्न सो कार्यक्रम पश्चात नेपालको आर्थिक रुपान्तरणका सन्दर्भमा आयोजना गरिएको कार्यक्रमले आहत भएको मनलाई राहत दियो । घाँटिको नशा फाट्ने गरी नेपालको आर्थिक समृद्धिमा एनआरएनको कोहोराम मच्चाउनेहरु हलमा लगभग शुन्य र भोट माग्ने कार्यक्रममा १०० जनाको हल्ला चलेको थियो । त्यसैगरी लिने र छोड्नेको हल्ला र सल्लाहमा ब्यस्त देख्दा हामी जस्ताहरु त्रस्त भएका थियौ ।
अर्को रोचक कुरा त, राजनीतिक दलका नेताहरुको आशिर्वाद थाप्न जानेको लर्को थियो । विदेशका विभिन्न ठाउँबाट गएका ठुटे नेताहरुको कुरा चर्को थियो । लाग्थ्यो त्यहाँ गएका डेलिगेट्सका निर्णय गर्ने अधिकार तिनिहरुसंगै छ । विहान एकजनासँग बस्ने र बेलुकी अर्कोकोमा पस्ने औकात देखाए । तिनको चर्तिकाला देख्दा राजनीति त होईन तिनलाई लाजनीति पनि लाग्दैन रहेछ ।
अन्तराष्ट्रियस्तरको संस्था, सबै एनसीसीको माउ संस्थाको कार्यक्रम देख्दा हाम्रो सानो ठाउँको गाउँको बाल क्लवको कार्जेक्रम बरु मज्जाले चल्छ । तर तिनका न त प्रगति विवरण पास भए न त आर्थिक विवरण नै । १ घण्टा पश्चात विधान संशोधन गर्ने भन्दै ब्रेक लिएका थिए । ति त तिर्खाले पानी खोज्न गएका पाँच पाण्डव जस्ता भए । हराएका हरायै । त्यत्रा नेपालीहरु एनआरएनमा केहि होला, विधानमा यो यो परिवर्तन गरिएला, यसरी संस्थालाई गति दिन सकिएला भनेर गएकाहरुको पैसाको नाश । नेतृत्वमा भएका र त्यहिंबाट छानिएर जानेहरुको औकात र अभियान प्रति जिम्मेवारी देखियो, भोगियो । सबैलाई कुर्सिमा जान नै हतार थियो । आफ्नो जिम्मेवारी र दयित्वबाट पन्छिएर भवन भट्टलाई चट्ट छोडेर चुनावको फलास खेल्नमै मदमस्त भएका थिए ।
“नेपालीका लागि नेपाली”नारा बोकेर खुलेको संस्थाको संस्थापक अध्यक्षको अनुपस्थितिले विभिन्न अड्कलबाजी गरायो । राजनीति हुँदैन र प्यानल बनाएर लड्न पाईंदैन भन्ने आचारसंहिता कुन दुलोमा हरायो ? भोटको लागि नोटको हल्ला पनि कहाँ नचलेको हो र ? मध्यपुर्वको नारा बोकेर लिंगे पिङ्गमा हुईकिनेहरुले गोजी भरे भन्ने कुरा पनि डढेलो झैं सल्कियो । मध्यपूर्वका नेता बन्न खुट्टा उचालेका महान दामरेटहरुले पनि सिद्धान्तलाई हरिया नोटहरुसँग साटेर मध्यपूर्वका उम्मेदवारलाई नै पछार्न सफल भए । खै के के हो ? के हो सुन्न त धेरै सुनियो । अर्का लालबहादुरले पार्टीगत बैठकमा नै म त हामीसँग जोडिएका फुर्कोवालाका कार्जेकर्ताहरुलाई फुटेको आँखाले पनि हेर्न सक्दिन भनेछन । बिचरालाई एक जोर लुगाले नै बैंश जाने भएछ । हल्लाको कुरा सोह्रै आना साँचो नहोला तर पात त अवश्य नै हावा नचलि हल्लिएन होला ।
जैनेपालका त ठूला नेताहरु कोठाचोका चहारेकै हुन् । राजनीति नगर्ने कुरा धोती लागेकै थियो । प्यानलाँ हल्ला गरेर बन्नु हुँदैन तर सल्लाह गरेर मतदानमा चिट चोर्न जति नि पाईन्छ । त्यसैले नियम, कानुन र परिधी लेख्न र पढ्नका लागि मात्र हो है विचार गर्नु ।
मतदान गर्ने ईलेक्ट्रीक मशिनको त के कुरा गर्नु । हजार जिब्रो भएका शेषनागले पनि त्यो मशिनको बारेमा चर्चा गर्न सक्दैन । अव यसपटकको विज्ञ सम्मेलनमा बिग्रिएको मतदान मशिन किन बिग्रियो भन्ने छलफल गर्ने रे । अर्को पटक मतदान नगरी नतिजा दिने, मनको कुरा पढ्ने बनाउने होला ।
यसैगरी उम्मेदवारी शुल्कको के कुरा गर्नु र ? म जस्ता मान्छेले उम्मेदवार हुने सोच बनाउन पनि तर्सिनु पर्दछ । त्यो शुल्क सुनेर अचेत रातमा ऐठन परेर जुरुक्क उठ्दै म उम्मेदवार होईन भन्दै चिच्याउन बेर छैन ।
आजलाई आईसीसीको विश्व सम्मेलन र अन्तराष्ट्रिय सम्मेलनको “हात्ति आयो हात्ति आयो फुस्स” यति मै शेष गर्दछु । आईसीसी अधिवेशनाय, पैसा चडाय, पद चिप्लिगयाय, राजनीति र दलको कुरा अझै बाँकी रह्या ।
(विकृति, विसंगति विरुद्ध कलम चलाउने पत्रकार गिरी युएईमा कार्यरत छन् । यो सामग्री २०७६ कात्तिक २२ गते प्रकाशित भएको हो ।)