चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन छन्। विगत छ वर्षदेखि उनी मौरीपालन व्यवसायमा लागेका हुन्।
राप्ती–५ का मोक्तान सन् २०१५ मा विदेश गएर विदेशमा सोचे जस्तो राम्रो नभएपछि नेपाल फकिएको र उनी नेपाल आएर मौरीपालन व्यवसायमा लागेका हुन्। उनले करिब २५ घारबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले १३५ घार पु¥याएका छन्। विदेशमा भन्दा काम गर्न सके नेपालमा नै राम्रो गर्न सकिन्छ भन्ने सोचका साथ उनले यो व्यवसाय सुरु गरेका हुन्।
उनले भने, ‘अहिले पनि कहिले काहीँ कमाउनका लागि विदेश जाउँकी भन्ने भान भए पनि नेपालमा नै कमाउन सकिन्छ भन्ने भएर यो व्यवसाय सुरु गरेको हुँ।’
परिवारले सामान्य रुपमा गर्दै आएको व्यवसायलाई नै सशक्त बनाएर उनले व्यावसायिक रुपमा मौरीपालन गरेका छन्। आरकेएम पशुपंक्षी कृषि फर्म दर्ता गरेर उनले मौरीपालन व्यवसाय सुरु गरेका हुन्। उनले भने, ‘नेपालमा केही गर्न सकिन्छ भन्ने युवापुस्तालाई देखाउनका लागि कृषि कर्ममा लागेको हुँ।’
मौरीपालन गर्दा चरनको समस्या हुने गरेको भए पनि त्यसलाई सामना गर्दै अघि बढेको उनले बताए। चरनमा लैजाँदा सामुदायिक वनलाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ। मौरीले कसैलाई पनि असर नगर्ने भए पनि सामुदायिक वन तथा समुदायले शुल्क लिने चलन हटाउन सके मौरीपालन गर्ने किसानलाई सहज हुने उनको भनाइ छ।
