जापानको रोजगारी लक्षित गर्दै जेईसीसी (जापान ईम्प्लोयमेण्ट कोअर्डिनेशन काउन्सील) नामको संस्था दर्तासँगै वैदेशिक रोजगार क्षेत्रमा विवाद सुरु भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सो संस्था र वैदेशिक रोजगार विभागको मिलेमतोमा जापानको रोजगारीमा सिण्डिकेट खडा गर्न खोजिएको आशंका प्रकट गर्दै आपत्ति जनाएको छ ।
संघका अध्यक्ष विष्णु प्रसाद गैरेले विज्ञप्ती प्रकाशित गर्दै विभागमा पटक–पटक लिखित र मौखिक रुपमा जापानमा प्रशिक्षार्थी कामदार पठाउन सूचिकरण गर्ने प्रकृया अगाडी बढाई पाउँ भनेर संघका तर्फबाट पत्र पठाउँदा पनि सूचिकरणको प्रकृया अगाडी नबढाई योग्यता पुगेका र्ईच्छुक ईजाजतपत्रवालाहरुलाई अवसर नदिइएको र सिमित व्यवसायीलाई मात्र अवसर दिई सिण्डिकेट लागु गर्न जेइसीसीमा संलग्न व्यवसायी र विभागको मिलेमतो भएको हो भन्दै प्रश्न उठाएको छ ।
संघका महासचिव सुजित कुमार श्रेष्ठले देशपरदेशसँगको कुराकानीमा जापानमा प्रशिक्षार्थी कामदार पठाउन जिट्कोको ईजाजतका लागि प्रत्येक बर्ष सूचना निकाल्नु पर्नेमा त्यसो नगर्नु र विगत ६–७ महिनादेखि विभागमा आग्रह गर्दा पनि सूचिकरणको प्रकृया अगाडी नबढाउनु आश्चर्यजनक भएको बताए । नेपालबाट कामदार लैजान जापानका कम्पनीहरु आकर्षिक हुँदै गएको अवस्थामा जापानको रोजगारीमा कामदार पठाउन ईच्छुक रहेको र त्यसका लागि ईजाजतपत्रका लागि सहजिकरण गरिदिन भन्दै संघमा झण्डै तीनचार सय व्यवसायीले आवेदन दिएको महासचिव श्रेष्ठले बताए ।
संघले कुनै पनि नाम र आवरणमा गरिने मनोमानी तथा सिण्डिकेटजन्य कामको संघले सशक्त विरोध गर्ने भन्दै आवश्यक परे कानूनी प्रकृयामा समेत जान सक्ने चेतावनी दिएको छ । महासचिव श्रेष्ठले जापानको रोजगारीका पठाउन ईजाजत दिने सम्वन्धमा कार्यविधिमा स्पष्ट व्यवस्था हुँदा हुँदै पनि विभागले त्यसमा आलटाल गरिरहेको गुनासो गरे ।
तर विभागका महानिर्देशक कुमारप्रसाद दहालले भनें नयाँ संस्थालाई ईजाजत दिने सम्वन्धमा कार्यविधिमा स्पष्ट उल्लेख नभएको र वैदेशिक रोजगार ऐन पनि यस विषयमा प्रष्ट नभएका कारण विभागले नयाँ संस्थालाई ईजाजत नदिएको तर्क गरे । “ऐन, कार्यविधिमा दर्ताको विषयमा स्पष्टता छैन, विभागले आलटाल गर्यो भन्ने आरोप निराधार हो” महानिर्देशक दहालले देशपरदेशलाई बताए ।
संघले बुधवार नै ध्यानाकर्षण पत्र वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइने जनाएको छ ।
हिमालयन जब एक्सप्लोलर प्रा.लि.का सञ्चालक मदन कुमार महतको अध्यक्षतामा जापान रोजगारीलाई प्रवद्र्धन गर्ने भन्दै ११ वटा वैदेशिक रोजगार व्यवसायी संस्थाको संलग्नतामा जेईसीसी (जापान ईम्प्लोयमेण्ट कोअर्डिनेशन काउन्सील) दर्ता गरिएको छ । सो संस्था दर्ता गर्ने व्यवसायीहरुले यसअगाडी देखि नै जिट्को अन्तर्गत प्रशिक्षार्थी कामदार जापान पठाउने ईजाजत पाएका छन् ।
गलत बुझाईः महत
जेआइसीसीका अध्यक्ष मदन कुमार महतले भनें आफूहरुले दर्ता गरेको संस्थाका विषयमा गलत बुझाई भएको बताए । हामी न त कुनै सिण्डिकेट सञ्चालन गर्ने हौं, न त हामीले संघको समानान्तर संस्था खडा गरेका हौं महतले देशपरदेशसँग भने यो संस्था जापानको रोजगारीमा नेपाली युवा युवतीलाई सकेसम्म बढी अवसर उपलव्ध गराउन सहजिकरण गर्ने देखि सामाजिक काम गर्नेसम्मको उद्धेश्यले खोलिएको हो ।
उनले संस्था दर्ताका विषयमा संघका अध्यक्ष गैरलाई यसअगाडी नै जानकारी गराइएको, जेईसीसीको पदेन सल्लाहकारमा संघका अध्यक्षलाई राखिएको भन्दै बुधवार नै बैठक बसेर संस्थागत धारणा सार्वजनिक गरिने बताए ।
यो पनि पढ्नुहोस् मलेसियामा अर्को एक कम्पनी कामदारले तिरेको रकम फिर्ता दिन सहमत
