म्यानमारबाट उद्धार गरिएका ४७ नेपाली स्वदेश फर्किए

काठमाडौ । विभिन्न माध्यम मार्फत म्यानमार पुर्याई अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा काम गर्न बाध्य पारिएका ४७ जना नेपाली स्वदेश फर्किएका छन्। नेपाली राजदूतावास बैंककले थाइल्यान्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उनीहरूको उद्धार गररी नेपाल फर्काएको हो । उनीहरु नेपाल एयरलाइन्सको जहाज मार्फत बुधवार नेपाल फर्किए ।
अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाइएका २६ जिल्लाका ४७ जना नेपालीको उद्धार गरिएको हो। जसमा ४५ जना पुरुष तथा २ जना महिला छन्। यसरी फर्काइएकाहरु चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ, तेह्रथुम जिल्लाका एक एक(जना, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँ जिल्लाका दुई(दुई जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुर जिल्लाका तीन(तीन जना तथा झापा जिल्लाका ५ जना रहेका छन्। ति युवाहरू स्क्यामिङ केन्द्रहरूमा दुई महिना देखि १८ महिनासम्म कार्यरत रहेको बैंककस्थित नेपाली दूतावासले जनाएको छ।

नेपाली दूतावासका अनुसार उद्धार गरिएका व्यक्तिहरू विभिन्न व्यक्ति, साथीभाई तथा अनलाइन साथी, पवजी लगायतको अनलाइन गेम खेल्ने साथी, सामाजिक सञ्जालको विज्ञापन आदिबाट सम्पर्क गरी त्यहाँ पुगेको देखिएको छ। कुनै कुनै भारतमा अध्ययन गर्दाको साथी मार्फत, कुनै दुवईमा अध्ययन गर्दा तथा काम गर्दा चिनजान भएको साथीमार्फत समेत त्यहाँ पुगेका छन्।

ह्वाट्सएप, भाईवर, मेसेन्जर, टिकटक, टेलिग्राम लगायतका सामाजिक सञ्जालबाट काठमाडौँमा घण्टाको यति कमाईन्छ भनी रोजगारीको प्रस्ताव आउने, त्यसमा रेस्पोन्स गरेपछि थप सम्पर्क हुँदै जाने र केही समय पछि भ्रमणको लागि आकर्षित मानिने मुलुकमा अफिस, कल सेन्टर, कम्प्युटर अपरेटर, रिसिप्सनिष्ट आदिको काम छ, एक लाखभन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पार्ने गरेको देखिएको छ। त्यसरी प्रलोभनमा पारेपछि विभिन्न माध्यमबाट स्क्यामिङ्ग केन्द्रहरूमा पुराएको देखिएको दूतावासले विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

स्क्यामिङ्ग केन्द्रहरूमा पुगेपछि निजहरूलाई केही महिनासम्म आरामदायी किसिमले काम लगाउने, केही समय व्यतित भएपछि कामको निश्चित लक्ष्य दिइने र सो पूरा गर्न नसके अन्य कुनै अपराधको दोष लगाई चरम आर्थिक तथा शारीरिक शोषण गर्ने, निजहरूलाई बन्धक बनाई परिवारबाट फिरौती माग गर्ने, जेल पठाउने, हत्या गर्ने लगायतका यातना समेत भोग्ने गरेको देखिएको छ।

स्क्यामिङ्ग केन्द्रबाट निस्किन खोजेमा आफ्नो सट्टामा अर्को व्यक्तिलाई नल्याएसम्म सो स्थानबाट छुटकारा समेत नगराउने देखिएको दूतावासको भनाई छ। नेपाली दूतावास थाइल्यान्डले आर्थिक वर्ष २०८०-८१ मा ६८ जना, आर्थिक वर्ष २०८१-८२ मा १५६ जना र चालु आर्थिक वर्षमा हालसम्म १४१ जना उद्धार गरी नेपाल पठाएको छ ।

दूतावासले विदेश जाने नाममा हतार नगर्न, राम्रोसँग बुझ्न तथा सामाजिक सञ्जाल, आफ्ना साथीभाइले प्रस्ताव गरेका वैदेशिक रोजगारीको आधिकारीकताको यथार्थता बुझ्न र रोजगारदाताको आधिकारिकता बुझी नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ। साथै, कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले सबैमा अनुरोध गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय