काठमाडौँ- नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं महाधिवेशन सोमबार काठमाडौंमा सम्पन्न भयो। महाधिवेशनले कैलाश खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्ष गायत्री जिसी, द्वितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दाताराम काफ्ले, सचिव लिलाम्वर झा, कोषाध्यक्ष रामपुकार तिवारी रहेका छन्।
त्यस्तै केन्द्रीय सदस्यहरुमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, वेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल रहेका छन्।
महाधिवेशनको बन्द सत्रमा पेस गरिएको प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भयो। महाधिवेशनले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परिक्षणको गुणस्तरीयलाई सुनिश्चित गर्न गन्तब्य देश मलेसिया र नेपाल सरकारले स्वास्थ्य परिक्षण सम्बन्धी लिइएको नीति, ऐन, नियमवाली र कार्यविधिलाई पूर्ण रुपमा पालना गर्ने निर्णय गरेको छ।
बन्द सत्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठित वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि विशेषज्ञ अध्ययन कार्यदलको प्रतिवेदनलाई स्वागत गर्दै यसको कार्यान्वयन गर्न सरकारलाई सुझाब दिएको छ।
महाधिवेशनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मिर्गौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परिक्षणमा ध्यान दिइएको बताएका थिए।