काठमाडौं, सरकारले गरेको बाचा अनुसार ७ बर्ष वित्दा पनि कुनै काम नगरिएका कारण भारतमा रोजगारी गर्ने नेपालीको विषय ओझेलमा परेको सरोकारवालाहरुले बताएका छन् । विसं २०७३ सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले गरेको प्रतिवद्धता व्यवहारमा नआएको भन्दै यस विषयमा सघन अभियानको आवश्यकता रहेकोमा अभियानकर्मीहरुको जोड थियो ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले निड्स नेपालसँगको साझेदारीमा काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रमका सहभागिहरुले भारतमा काम गर्ने नेपालीहरुले भोग्नु परेको विविध समस्याका बारेमा चर्चा गरेका थिए ।

सो अवसरमा बोल्दै निड्सका उपकार्यकारी निर्देशक प्रकाशचन्द्र मडैले तिहार पश्चात सुदुर पश्चिम नेपालबाट प्रतिदिन दुई हजार नेपाली रोजगारीका लागि भारत जाने गरेको बताए । उनले भारतमा उनीहरुले विभिन्न खालका दु:ख कष्ट सहनु परिरहेको भन्दै यसमा केन्द्रको ध्यान भनें पुग्न नसकेको बताए । सुदुर पश्चिमको डोटीको आदर्श गाउँपालिकामा गरिएको एक अध्ययनको निश्कर्ष प्रस्तुत गर्दै उनले सो पालिकाका ४ हजार ६ सय ३६ घरधुरीमा गरिएको सर्वेक्षणमा २ हजार ९ सय २१ घरधुरीका कोहि न कोहि व्यक्ति रोजगारीका लागि बाहिर रहेको पाएको बताए । त्यसमध्ये ९८ प्रतिशत भारतमा रोजगारीका लागि गएको उनको भनाई थियो ।

कान्तिपुर दैनिकमा कार्यरत पत्रकार दिनेश रेग्मिले भारतमा काम गर्ने नेपालीले आफूले कमाएको रकम सहज रुपमा बैंक मार्फत नेपाल पठाउन समेत नपाइरहेको बताए । यसमा नेपाल सरकारले सहजिकरण गर्नुपर्नेमा उनको जोड थियो । नेपालमा कार्यरत भारतीयहरुले भारतीय दूतावासको सिफारिसका आधारमा सहज रुपमा भारतमा पैसा पठाउन पाउने तर नेपालीलाई भारतबाट रकम नेपाल पठाउन गाह्रो रहेको भन्दै यसमा नेपाल सरकारले भारत सरकारसँग सम्वाद गरि सहज बनाउनुपर्ने धारणा राखे । उनले भारतमा कार्यरत नेपालीका बारेमा नेपाल सरकार र मातहतका निकायहरु नै बेखवर रहने गरेको बताए । उनले भारतमा समस्या पर्दा नेपालीले कसलाई भन्ने, कहाँ भन्ने प्रश्न रहेको भन्दै भारतीय दूतावासमा पनि श्रम डेस्क, श्रम सहचारीको व्यवस्था गरिनु आवश्यक रहेको धारणा राखे ।

कार्यक्रमका सहभागिहरुले भारत केन्द्रीत रोजगारीका मुख्य समस्याहरुको पहिचान बुँदागत रुपमा गरी त्यसलाई सम्बोधन गर्न निरन्तर बहस पैरवीको खाँचो औल्याएका थिए । कार्यक्रममा एडव्लुओ ईन्टरनेशनलको साझेदारी रहेको थियो ।

भारतमा हाल कति नेपाली कार्यरत छन् भन्ने तथ्याङ्कको समेत अभाव छ । अनुमानित १५ लाख भन्दा बढी नेपाली भारतमा कार्यरत रहेको त्यहाँ रहेका राजनीतिक दलहरुका भातृ संगठनहरुको भनाई छ ।

यो पनि पढ्नुहोस् उनीहरु निरन्तर दक्षिण बगिरहेछन्, महाकालीको पानी झैं

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: