कतारले सहमति विपरित एकतर्फी रुपमा खोल्यो घरेलु श्रमिकको भिसा !

नेपालसँग यस अगाडी गरिएको सहमति विपरित कतारले घरेलु श्रमिकका लागि भिसा खुल्ला गरेको छ । गत मंसिरमा नेपालमा बसेको नेपाल र कतारको संयुक्त बैठकले कतारले घरेलु श्रमिकका लागि नेपाललाई ईम्प्लिमेण्टेसन प्रोटोकल (अनुरोध पत्र) पठाउने र सो अनुरुप नेपालले आवश्यक प्रकृया पुरा गरी घरेलु श्रमिक पठाउने व्यवस्था गर्ने सहमति भएको थियो । घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि सो बिषयमा निर्णय गर्न दुई पक्षीय संयुक्त समिति गठन गर्ने र त्यसको सुझावलाई श्रम सम्झौता पुनरावलोकनको क्रममा समेट्ने सहमति गरिएको थियो । सोही अनुरुप कतारले ईम्प्लिमेण्टेसन प्रोटोकल (अनुरोध पत्र) पठाउनु पर्ने थियो ।

श्रम मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव डण्डुराज घिमिरेले कतारले हालसम्म ईम्प्लिमेण्ट प्रोटोकल नपठाएको भन्दै यो अवस्थामा नेपाल सरकारले घरेलु श्रमिकका लागि अनुमति दिन नसक्ने बताए । देशपरदेशसँग घिमिरेले भने, “संसदीय समितिको सिफारिसमा रोकिएको घरेलु श्रमिकको श्रम स्वीकृति खुल्ला गर्नका लागि यस अगाडी दुई देशका सरकारबीच भएको सहमति अनुरुपको पत्र प्राप्त हुनु पर्दछ ।” उनले अनुरोध पत्र नै नआएको अवस्थामा कतारले कसरी एकतर्फी रुपमा घरेलु श्रमिकका लागि भिसा खोल्यो भन्ने विषयमा मन्त्रालय अनभिज्ञ रहेको बताए ।

कतारको आन्तरिक मामिला मन्त्रालयले विहिवार नै एक सुचना निकाल्दै नेपालबाट घरेलु श्रमिक (महिला तथा पुरुष) का लागि आवेदन दिन सकिने र त्यसका लागि समय बुक गर्न आव्हान गरिएको थियो ।

श्रम मन्त्रालयले घरेलु श्रमिकका विषयमा आवश्यक राय मागेर परराष्ट्र मन्त्रालयमा पत्र पठाएको भएपनि त्यसको जवाफ श्रमले प्राप्त नगरेको सहसचिव घिमिरेले बताए । यस अगाडी पनि गोकर्ण विष्ट श्रम मन्त्री रहेको समयमा श्रम मन्त्रालयले अनुमति नदिंदा नदिंदै पनि परराष्ट्र मन्त्रालयले सोझै कतार भिसा सेण्टर खोल्ने अनुमति दिएको थियो । सो विषयमा दुई मन्त्रालय बीचमा सम्वन्ध चिसो भएको थियो । तथापी कतार भिसा सेण्टर श्रम मन्त्रालयको चाहना विपरित नै काठमाडौंमा स्थापना भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय