साउदीमा श्रम कानुन सुधार, रोजगारदाता फेर्ने तथा मुलुक छोड्ने विषयमा यस्तो छ व्यवस्था

साउदी अरेवियाले धेरै बर्षयताको प्रतिवद्दता पश्चात विदेशी श्रमिकका लागि लागु हुँदै आएको कफाला प्रणालीमा सुधार सहित श्रम कानुनमा सुधार कार्यान्वयन सुरु भएको जनाएको छ । श्रम कानुनमा गरिएको सुधारबाट साउदी अरेवियामा कार्यरत लाखौं विदेशी श्रमिक आइतवार देखि नै लाभान्वित हुने साउदी अरेवियाका सञ्चार माध्यमहरुले लेखेका छन ।

साउदी अरेवियाका सञ्चार माध्यमहरुका अनुसार साउदीमा श्रम कानुनमा गरिएको सुधार पश्चात अवदेखि विदेशी श्रमिकले सहज रुपमा रोजगारदाता फेर्न सक्ने र स्वदेश फर्किन रोजगारदाताको अनुमति आवश्यक पर्ने छैन । स्थानीय सञ्चार माध्यमहरुले यसलाई साउदी अरेवियामा ‘नयाँ युग शुरु भएको’ तथा ‘ऐतिहासिक घटना’ भन्दै लेखेका छन् । यद्यपी आप्रवासी श्रमिकमाथि चर्को विभेद गर्ने गरेको साउदी अरेवियाले सुरु गरेको नयाँ कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा आउनेमा अझै पनि आशंका गरिएको छ ।

नयाँ कानुन अनुसार साउदी अरेवियाको सरकारी निकायमा पनि विदेशी श्रमिकले सिधै आवेदन दिन सक्नेछन् । नयाँ सुधारले झण्डै एक करोड विदेशी श्रमिक लाभान्वित हुने जनाइएको छ । यसले प्रतिस्पर्धी तथा न्यायोचित कार्य वातावरण बनाउने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।

तर साउदी अरेविया प्रवेश तथा छोड्न हरेक विदेशी श्रमिकले मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयको अनुमति लिनुपर्ने, एक बर्ष पुरा भएपछि वा रोजागार सम्झौताको अवधि सकिएपछि मात्र श्रमिकले रोजगारदाता परिवर्तनका लागि आवेदन दिन सक्ने व्यवस्थाले श्रमिकलाई बन्देज कायमै राखेको भन्दै अधिकारकर्मी संस्थाहरुले भनें यसको विरोध गरेका छन् ।

नयाँ कानुन अनुसार श्रमिकको कामलाई कुनै एक रोजगारदातामा मात्र अनुबन्धित गरिने छैन । यसले आफ्नो रोजगारदातासँग मात्र आवद्द हुनुपर्ने कफालाको मुख्य अंशलाई प्रतिस्थापन गरिएको मानिएको छ । यो व्यवस्थाले रोजगारदाता परिवर्तन गर्न तथा साउदी अरेविया छोडेर स्वदेश फर्किन विदेशी श्रमिकलाई सहज हुने अपेक्षा गरिएको छ ।

गत नोभेम्वरमा साउदी अरेवियाको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले मार्च महिनादेखि कफाला प्रणालीमा सुधार गरिने जानकारी गराएको थियो । अल अरेविया न्यूजका अनुसार आफ्नो रोजगार करार सकिएका श्रमिकले आफ्नो पूर्व रोजगारदाताको अनुमति विना नै नयाँ रोजगारीका लागि आवेदन दिन सक्नेछन् । यसैगरी साउदी अरेविया भन्दा बाहिर जानका लागि पनि विदेशी श्रमिकले अनलाइन प्रणाली मार्फत रोजगारदातालाई सुचना दिन सक्नेछन् । यस्तो अवस्थामा रोजगारदाताको पूर्वस्वीकृति आवश्यक पर्दैन । यसैगरी आफ्नो रोजगार करार सकिएपछि श्रमिकले सो मुलुक छोडेर बाहिरिनका लागि रोजगारदाताको कुनै स्वीकृति आवश्यक पर्नेछैन । रोजगारदातालाई सिधै सो श्रमिक साउदी अरेविया छोडेर बाहिरन लागेको जानकारी पुग्ने व्यवस्था हुने जनाइएको छ ।

कतारले सन् २०२० मा नै कफाला प्रणाली अन्त्यको घोषणा गरिसकेको छ । यसैगरी खाडी मुलुकमै पहिलो मुलुकका रुपमा श्रमिकको न्यूनतम ज्याला समेत तोकिसकेको छ ।

यसैबीच आप्रवासी श्रमिकको विषयमा काम गर्दै आएको अधिकारमुखी संस्था ईक्वेडेम फाउण्डेसनले साउदी अरेवियाले गरेको श्रम क्षेत्र सुधारले आप्रवासी श्रमिकको अधिकार रक्षा पर्याप्त रुपमा गर्न नसक्ने धारणा सार्वजनिक गरेको छ । विश्वमै धेरै आप्रवासी श्रमिकलाई रोजगारी दिने मुलुकमा तेश्रो ठूलो मुलुकका रुपमा रहेको सो मुलुकमा आइतवार देखि लागु गरिएको श्रम क्षेत्र सुधारले अपेक्षित नतिजा नआएको सो संस्थाले जनाएको हो । साउदी अरेवियाको श्रम क्षेत्रको ८० प्रतिशत ओगट्ने विदेशी श्रमिकको अधिकार रक्षाका विषयमा नयाँ सुधारले पर्याप्त सम्वोधन गर्न नसकेको ईक्वेडेमले जनाएको छ । विदेशी श्रमिकमाथि हुने भेदभाव रोक्न, कानुन कार्यान्वयनमा फितलोपन तथा श्रमिकलाई यूनियन खोल्ने अधिकार नदिइएका कारण नयाँ सुधारले उल्लेख्य नतिजा दिन नसक्ने अनुमान सो संस्थाले गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय