साउदीमा सुधारः रोजगारदाता फेर्ने अनुमति सहित मार्च देखि नयाँ नियम लागु हुने घोषणा

साउदी अरेवियाले विदेशी श्रमिकलाई लाग्दै आएको महत्वपूर्ण बन्देज फुकुवा गर्ने भएको छ । सन् २०२१ को मार्च देखि लागु हुनेगरी साउदी अरेवियाले रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो ।

अल जजिराका अनुसार साउदी अरेवियाका मानव संशाधन सहायक मन्त्री अव्दुल्लाह बीन नासिर अबुथनैनले सञ्चारकर्मीहरुलाई बुधवार यसका बारेमा जानकारी दिएका हुन् । साउदी अरेवियाको श्रम बजारलाई आकर्षक बनाउन सो व्यवस्था गर्न लागिएको उनले बताएका छन् । रोजगारदाता परिवर्तन गर्न नपाउने र रोजगारदाताको अनुमति विना मुलुक छोड्न नपाउने व्यवस्थाका कारण साउदी अरेवियामा लाखौं विदेशी श्रमिक बाध्यकारी श्रम गर्न समेत बाध्य हुँदै आएका छन् ।

मानव संशाधन मन्त्रालयले नयाँ व्यवस्था लागु भएपछि श्रमिकले एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्पोन्सरशीप परिवर्तन गरी रोजगारी परिवर्तन गर्न सक्ने जानकारी दिएको छ । यसैगरी रोजगारदाताको अनुमति विना पनि साउदी अरेविया छोड्न र पुनः फर्किन सक्ने र पुनः साउदी अरेविया नफर्किने गरी स्वदेश फर्किन समेत सक्नेछन् । यसका बारेमा विगत लामो समय देखि बहस हुँदै आएको थियो । श्रमिकको अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुले यसका लागि दरिलो आवाज उठाउँदै आएका थिए । साउदी अरेवियामा १ करोडको हाराहारीमा विदेशी श्रमिक कार्यरत रहेको तथ्याँक छ । साउदी अरेवियाले अगाडी सारेको लेवर रिलेशन ईनिसिएटीभ नामको सो कार्यक्रमले लाखौंको संख्यामा कार्यरत विदेशी श्रमिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

मानव अधिकारवादी संस्था ह्यूमन राईट्स वाचकी अध्ययनकर्ता रोथाना बेगमले साउदी अरेवियाले दिएको जानकारी अनुसार त्यहाँ कफाला प्रणालीका कतिपय अवयवहरुमा परिवर्तन हुनेछ । तर साउदी अधिकारीहरुले हालसम्म दिएको जानकारीका आधारमा कफला प्रणाली पुरै हट्ने अपेक्षा भनें गर्न नसकिने अध्ययनकर्ता बेगमले बताएकी छन् । नयाँ कानुनी व्यवस्थापछि पनि साउदी अरेवियामा रोजगारीका लागि आउन चाहनेहरुले कुनै रोजगारदाताले नै स्पोन्सर गर्नुपर्नेछ जसले श्रमिकमाथि रोजगारदाताको अधिकार कायम गर्ने उनले बताइन् ।

यस अगाडी साउदी अरेवियाले सन् २०२० भित्रै स्पोन्सरशीप प्रणाली (कफाला) मा सुधार गर्ने घोषणा गरेपनि कोभिड १९ का कारण सो समयावधि भित्र सुधार गर्न नसकिएको साउदी अरेवियाले बताउँदै आएको छ । आधुनिक दासताको रुपमा लिइने कफाला प्रणालीमा खाडी क्षेत्रका एकपछि अर्को मुलुकले सुधार वा अन्त्यको घोषणाका सन्दर्भमा देशपरदेश डटकमको जिज्ञासामा विश्व समुदाय र खासगरी आइटीयूसी लगायतका श्रमिक अधिकारमुखि संस्थाहरुको दवावले नै काम गरेको यस क्षेत्रमा कार्यरतहरुले बताए ।

साउदी अरेवियाको घोषणा खाडीका अन्य मुलुकहरुमा पछिल्लो समयमा देखिएको परिवर्तनकै निरन्तरता हो । यसअगाडी कतारले कफाला अन्त्य गर्दै मध्यपूर्वमा श्रम क्षेत्रमा महत्वपूर्ण सुधारको अभियान अगाडी बढाएको थियो । सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्न गइरहेको कतारमा श्रम क्षेत्र सुधारका लागि ठूलो दवाव थियो ।

यो पनि पढ्नुहोस् दूतावासहरुले मागपत्र प्रमाणिकरण गरेनन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय