वैदेशिक रोजगारको क्षेत्रमा काम गर्नेहरुलाई पाप र धर्मको ख्याल गरेर काम गर्न महानिर्देशक दाहालको आग्रह

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले वैदेशिक रोजगारको क्षेत्रमा काम गर्नेहरुलाई पाप र धर्मको ख्याल गरेर काम गर्न आग्रह गरेका छन् । वैदेशिक रोजगारमा जानेहरुलाई कस्तो बाटो तय गराउने भन्ने जिम्मेवारीमा वैदेशिक रोजगार व्यवसायी तथा अभिमुखिकरण तालिम दिनेहरुको ठूलो भूमिका हुने उनले बताए ।

वैदेशिक रोजगार बोर्डको आयोजनामा सुरु भएको अभिमुखिकरण तालिम प्रदायक संस्थाका प्रशिक्षकहरुका लागि पुनर्ताजगी तालिमको पहिलो समूहको समापनका अवशरमा बोल्दै महानिर्देशक दाहालले यस्तो आग्रह गरे । “वैदेशिक रोजगारमा जानेहरु तपाईका लालाबाला जस्तै हुन्” महानिर्देशक दहालले भने, “उनीहरुका कुरा राम्रोसँग सुनिदिनुस्, राम्रोसँग सिकाएर पठाउनुस् ताकि उनीहरु विदेश पुगेपछि दुःख नपाउन् ।” वैदेशिक रोजगारमा जाने श्रमिक नेपालका सम्पत्ति भएको भन्दै उनीहरुकै कारण नेपालमा चुल्हो बलिरहेको छ भन्ने नविर्सिन महानिर्देशक दाहालले आग्रह गरे ।

अभिमुखिकरण तालिमलाई केवल आफ्नो सामान्य जिम्मेवारीका रुपमा मात्र नलिन आग्रह गर्दै दाहालले वैदेशिक रोजगारमा जानेहरुका लागि सो तालिमको धेरै ठूलो महत्व रहेको धारणा राखे । आफ्नो पेशप्रति ईमान्दर हुन जरुरी रहेको भन्दै उनले आफ्नो कामलाई पुजाको रुपमा लिन र बोझको रुपमा नलिन पनि आग्रह गरे । जवजव विदेशमा कुनै समस्या आईपर्दछ, ति व्यक्तिले कक्षामा आफूले सुनेका, सिकेका कुरा स्मरण गर्नेछन् भन्दै दक्षता हासिल गरेर उपयोगि जानकारीहरु दिन पनि उनले सवैसँग आग्रह गरे ।

सरकारी निकाय नीजि क्षेत्रसँग आश्वस्त नरहेको र नीजि क्षेत्रले पनि सरकारी निकायलाई विश्वास नगर्ने वातावरण रहेको भन्दै महानिर्देशक दाहालले यो अविश्वासको खाडल हटाउनु पर्ने खाँचो औल्याए । उनले अभिमुखिकरण तालिम दिने समयमा पनि पुनर्विचार गर्नुपर्ने धारणा राखे । अन्तिम समयमा वैदेशिक रोजगारमा जान सक्नुपर्ने सवै प्रकृया हतार हतार सक्नुपर्ने दवावमा रहेको अवस्थामा र वैदेशिक रोजगारका लागि जान ठिक्क परिसकेको समयमा दिइने गरिएको तालिमलाई केहि समय अगावै दिइएमा त्यो प्रभावकारी हुने आफ्नो विश्वास रहेको र सो कुरा आफू महानिर्देशक भएर आएको समयदेखि नै भन्दै आएको पनि उनले बताए ।

सो अवशरमा बोल्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले वैदेशिक रोजगारमा जानेहरु शारिरीक तथा मानसिक रुपमा बलियो भएर गएमा मात्र केहि पुँजी र सीप सिकेर स्वदेश फर्किने र उनीहरुको बाँकी जीवन राम्रो हुने धारणा राखे । यसमा पूर्वप्रस्थान अभिमुखिकरणको महत्वपूर्ण भूमिका हुने भएका कारण बोर्डले अभिमुखिकरण तालिम दिने प्रशिक्षकहरुको दक्षता अभिवृद्धिका लागि काम गर्ने बताए ।

कार्यकारी निर्देशक श्रेष्ठले कोभिड-१९ को समस्या सुरु भएपछि भारत बाहेक अन्य देशमा कार्यरत २१ लाखको हाराहारी श्रमिक मध्ये ठूलो संख्यामा स्वदेश फर्किने अनुमान गरिएको भएपनि त्यस्तो नभएको र हाल पुनः दैनिक पाँच सयको हाराहारी नेपालबाट श्रम स्वीकृति लिएकाहरु विदेश जान थालेको भन्दै वैदेशिक रोजगारमा जानेहरुलाई आवश्यक जानकारी उपयुक्त ढंगबाट दिन पुनर्ताजगी तालिम आयोजना गरिएको जानकारी दिए । उनले पूर्वप्रस्थान अभिमुखिकरण तालिममा सुधारको माग निक्कै बर्षयता हुँदै आएको सन्दर्भमा बोर्डले नयाँ पाठ्यक्रम विकास गरेको र अव निकट भविष्यमा नै सो लागु हुने पनि बताए ।

सो अवसरमा नेपाल अभिमुखिकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले अभिमुखिकरणको पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउन आफ्नो महासंघले लामो समयदेखि पहल गर्दै आएको स्मरण गरे । उनले तालिम प्रदायकहरुको समस्यालाई पनि सम्वोधन गर्न आवश्यक रहेको भन्दै यसमा सम्वन्धित निकायको ध्यान पुग्ने विश्वास प्रकट गरे ।

वैदेशिक रोजगारमा जानेहरुलाई पूर्वप्रस्थान अभिमुखिकरण तालिम दिंदै आएका झण्डै दुई सयजना प्रशिक्षकहरु सहभागि पुनर्ताजगि तालिम विभिन्न ६ समूहमा आयोजना भइरहेको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् मेनपावर सञ्चालक पौडेल पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय