विदेशी श्रमिकलाई सुरुमा कोरोना विरुद्दको खोप नदिन दवाव

मलेसियामा विदेशी श्रमिकलाई पनि प्राथमिकताका साथ खोप दिइने समाचार सार्वजनिक भइरहेका बेला पहिले स्वदेशी नागरिकलाई खोप दिइएपछि मात्र विदेशीलाई खोप दिनुपर्ने माग सुरु भएको छ । यसको नेतृत्व श्रमिकको संगठनले नै गरेको छ ।

मलेसियन ट्रेड यूनियन कंग्रेस (एमटीयूसी) ले सरकारले पहिले स्वदेशी नागरिकलाई खोप दिइएपछि मात्र विदेशी श्रमिकलाई खोप लगाउन सुरु गर्नुपर्ने माग राखेको हो । एमटीयूसीका महासचिव कमारुल बहरिन मन्सुरले यस्तो तर्क गरेको स्थानीय सञ्चार माध्यम फ्रि मलेसिया टुडेले लेखेको छ । तर रोजगारदाताहरुको संगठन मलेसियन ईम्प्लोयर फेडेरेसन (एमईएफ) ले भनें विदेशी श्रमिकलाई सुरुमा खोप दिइनुपर्ने तर्क राखेको छ । विशेषगरी उत्पादन तथा निर्माण क्षेत्रमा कार्यरत विदेशी श्रमिकलाई प्राथमिकताका साथ खोप दिइनुपर्ने सो संस्थाको माग छ । एमईएफका कार्यकारी निर्देशक शम्शुद्दिन बरदानले स्वदेशी र विदेशीलाई उत्तिकै प्राथमिकताका साथ खोप दिइनु आवश्यक रहेको भन्दै विदेशी श्रमिक अझ बढी जोखिममा रहेको धारणा राखेका छन् ।

तर एमटीयूसीका महासचिव मन्सुरले भनें आफूहरुले विदेशी श्रमिकलाई समान प्राथमिकताका साथ खोप लगाउने सरकारको योजनालाई सहयोग गर्ने भएपछि सुरुमा स्वदेशीलाई खोप दिइनुपर्ने र त्यसपछि मात्र विदेशी श्रमिकलाई दिइनुपर्ने बताएका छन् । उनले विदेशी श्रमिकलाई निःशुल्क खोप दिइनु पर्छ भन्नेमा आफ्नो विमति नरहेको तर मलेसियन नागरिकलाई दोश्रो बनाउने गरी खोप अभियान सञ्चालन हुनुहुन्न भन्नेमा स्पष्ट रहेको तर्क गरे । मलेसियन नागरिकलाई नै सुरुमा खोप दिइनु पर्दछ उनले दोहोर्याए ।

विज्ञान, प्रविधि तथा अन्वेषण मन्त्री खाईरी जमालुद्दिनले अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिकहरु समेत खोपबाट वञ्चित हुन नहुने बताएका छन् । उनले केहि दिन अगाडी विदेशी श्रमिकले पनि उत्तिकै प्राथमिकताका साथ निःशुल्क रुपमा कोरोना विरुद्दको खोप पाउने बताएका थिए ।

मलेसियामा हाल २३ लाख वैधानिक रुपमा कार्यरत विदेशी श्रमिक छन् । यसैगरी लाखौंको संख्यामा अवैधानिक रुपमा बसेर काम गरिरहेका विदेशी श्रमिक रहेको अनुमान गरिन्छ । 

एमईएफका कार्यकारी निर्देशक बरदानले विदेशी श्रमिकलाई छोडेर मलेसियन नागरिकलाई मात्र खोरोना विरुद्दको खोप लगाइएमा संक्रमणको दर नघट्ने र यसले मलेसियामा कोभिड १९ नियन्त्रण गर्न सजिलो नहुने तर्क गरेका छन् । हाल मलेसियामा भेटिएका संक्रमित मध्ये ६० प्रतिशत कार्यथलोबाट संक्रमित भएकाहरु रहेको र विदेशी श्रमिक ति कार्यथलोमा काम गर्ने रहेको उनको भनाई छ । उनले उचित बसोवासको अभावमा तथा पर्याप्त स्वास्थ्य सेवा समेत नपाउने उच्च जोखिममा रहेका विदेशी श्रमिकलाई खोपमा प्राथमिकता दिइनुपर्ने बरदानको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय