
वैदेशिक रोजगारमा रहेकाहरु स्वदेश फर्किंदा विभिन्न व्यक्तिले बोकाउने सुनको भरिया बन्ने गरेको समाचार समय-समयमा सार्वजनिक हुने गरेको छ । सोही सन्दर्भमा कतारस्थित नेपाली दूतावासले त्यसरी सुनको भरिया नबन्न आग्रह गर्दै सुचना निकालेको छ ।
कतारस्थित नेपाली दूतावासले एक सुचना जारी गर्दै हालैका दिनमा कतारबाट नेपाल जाने केहि नेपालीले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परेर सुन लगायतका बहुमुल्य वस्तुहरु लैजाने तथा यसै कारणले नेपालमा विभिन्न समस्यामा परेको जनाएको छ ।
कतारमा रहँदा आफूले खरिद गरेको सुन लगायतका बहुमुल्य वस्तुहरु नेपालको प्रचलित कानूनले तोकेको परिमाणभित्र नेपाल लैजान र ति वस्तुको खरिदवील पनि साथै बोक्न दूतावासले आग्रह गरेको छ ।
दोहाबाट काठमाडौं यात्रा गर्दा खरिदवील साथमा नभएको वा आफ्नो स्वामित्व प्रमाणित नहुने तथा कानूनले तोकेको परिमाणभन्दा बढी त्यस्ता वहुमुल्य वस्तु लगेमा सामान जफत हुने र कानूनी कारवाहीमा परिनेमा समेत दूतावासले सचेत गराएको छ ।
खाडीका मुलुकहरुबाट विभिन्न व्यक्तिहरुले स्वदेश फर्किने व्यक्तिहरुलाई केहि रकम दिने प्रलोभनमा पारेर सुनको तस्करी गर्दै आएका छन् । यसरी तस्करी गर्नेहरुमा ति मुलुकमा नेपाली व्यवसायीका रुपमा कार्यरत नेपाली समेत हुने गरेका छन् ।
यो पनि पढ्नुहोस् कतारका दुई कम्पनीले तलव दिएनन्, सरकारले प्रतिवद्धता पुरा गरेनः ह्युमन राइट्स वाच