क्वालालम्पुरमा फास्ट फुड बेच्न थाले मालिन्दोका पाइलट

 

क्‍वालालम्पुर— प्रत्येक बिहान मलेसियाली पाइलट एज्रिन मोहम्मद जावावी सेतो पोसाक लगाउँछन् । अनि काममा जानुअघि कयाप्टेनले लगाउने ह्याट पनि लगाउँछन् । तर उनी पाइलटको पोसाक लगाएर एयरपोर्ट भने जाँदैनन् । दुई दशकदेखि उनको दिनचर्या यही भए पनि कोरोना महामारीका कारण भने उनको दिनचर्या र काम फेरिएको छ ।

अचेल भने पाइलट एज्रिनले राजधानी क्वालालम्पुरको छेउमा एउटा सानो फास्ट फुड स्टल सञ्चालन गरेका छन् । ४४ वर्षीय एज्रिन कोरोना महामारीका कारण वायु सेवा कम्पनीले उडान बन्द गरेपछि कामविहीन हुने हजारौं कर्मचारीमध्ये एक हुन् ।

‘पहिलेको कम्पनीले मलाई कामबाट हटाएकाले मैले केही कमाउनै पर्छ,’ यसअघि मालिन्दो एयरमा कार्यरत उनले भने । मालिन्दो एयरले कोरोना महामारीका कारण उडान संख्यामा कटौती गर्दै सयौं कर्मचारी निकालेको छ । नियमित रुपमा आम्दानी नहुने भएपछि चार सन्तानका बुवा एज्रिनले सानो खाजा घर खोल्ने निर्णय गरेका हुन् । उनको स्टलमा विशेषगरी मलेसियाली परिकारहरु पाइन्छ । करी नुडल, लाक्सा (पिरो सुपसहितको चाउचाउ) र रोजाक (विभिन्न फलफूल मिसाएर बनाइने परिकार) उनको स्टलमा पाइन्छ ।

पाइलटको पोसाकसहित स्टलमा बसेको एज्रिनको फोटो उनकी श्रीमतीले सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनी अहिले निकै लोकप्रिय भइरहेका छन् । उनको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘क्याप्टेन कर्नर’ नाम दिइएको उनको स्टलमा पछिल्लो समय ग्राहकको भीड लाग्ने गरेको छ ।

कोरोना महामारीका कारण विश्वभर लाखौं व्यक्तिले आफ्नो जागिर गुमाएका छन् । केहीले भने पाइलट एज्रिनले झैं वैकल्पिक उपाय खोजिरहेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सको यो सामग्री कान्तिपुर दैनिकले अनुवाद गरी प्रकाशित गरेको छ ।

यो पनि पढ्नुहोस् कतारको रोजगारीमा सुरु गर्न खोजिएको सिण्डिकेटका बारेमा अनुसन्धान गरः संसदिय समिति

२६ कार्तिक २०७७, बुधबार