तत्काल नियमित उडान खोलेर अलपत्र परेकाहरुलाई बिना शर्त उद्धार गरः संघ

 

गैर आवासिय नेपाली संघ (एनआरएनए) ले उच्च स्वास्थ्य सावधानीको मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन तथा बेखर्ची भएर अलपत्र परेकाहरुलाई बिना शर्त वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् उद्धार गर्न आग्रह गरेको छ । संघका अध्यक्ष कुमार पन्तले उपप्रधान तथा रक्षा मन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई ज्ञापन पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन् ।

संघले सरकारले विदेशबाट उल्लेख्य संख्याको उद्धार गरे पनि अझै हजारौं नेपाली उतै रोकिएकाले चिन्ता बढाएको भन्दै अन्तर्राष्ट्रिय उडान पुनः स्थगित गर्ने वा सीमित उद्धार गर्ने जस्ता अस्पष्ट निर्णयले विदेशमा अलपत्र नेपालीको समस्या सम्बोधनमा अझै अनिश्चतता थपेको जनाएको छ । संघले एकातिर चार्टर्ड उडानको अति नै महंगो भाडा तिर्नुपर्ने बाध्यता र अर्कोतिर फर्कन पाउने वा नपाउने भन्ने अन्योलले थप पिरोलेको बताएको छ ।

खाडी लगायत अन्य मुलुकमा अलपत्र परेका र काम नै गुमाएर दैनिक गुजारा गर्नसम्म हम्मे हम्मे परेका नेपालीको संख्या ठूलो रहेको भन्दै विदेशी भूमिमा रोग र भोकको भयमा बस्नुपरेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारण विदेश मै रोकिएकाको उद्धार यथाशीघ्र गरिनु पर्नेमा संघले जोड दिएको छ ।

नेपालमा फर्किइसकेका नेपालीको व्यवस्थापन, रोजगारीको सुनिश्चितता जस्ता कयौं प्रश्न अझै अनुत्तरित रहेको भन्दै संघले लाखौको संख्यामा विदेशबाट फर्कने नेपालीको व्यवस्थापन माझ नेपालको अर्थतन्त्र तथा सामाजिक सन्तुलनमा असर पर्ने निश्चित रहेको जनाएको छ । ज्ञापनपत्रमा यस विषम परिस्थितिमा सवै दलहरु एकजुट भई गम्भीर भएर यस दिशातर्फ स्पष्ट मार्गचित्रका साथ अगाडि बढ्न आग्रह गरिएको छ ।

संघले कोभिड–१९ को महामारीका कारण विश्वभरका प्रभावित नेपालीका लागि उनीहरुको अवस्था अद्यावधिक गर्ने देखि एक उच्चस्तरीय समिति गठन गरी हटलाइन सेवा, राहत वितरण, उद्धार उडानमा सहजीकरण, स्वास्थ्य सामग्री एवं खाद्यान्न वितरण लगायत सहायताका कार्यलाई जारी राखेको जनाएको छ । संघले विश्वभर ५० देशमा २१ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी करिब ८० हजारभन्दा बढी नेपालीलाई राहत, स्वास्थ्य सामग्री तथा आर्थिक सहायता पु¥याइरहेको उल्लेख गरेको छ ।

यसैबीच गैरआवासीय नेपाली नागरिकतासँग जोडिएको नागरिकता विधेयकमा पनि संघले आफ्नो व्यग्र चासो रहेको र सो विधेयक संघीय संसदको अघिल्लै अधिवेशनबाट पारित हुने अपेक्षाका साथ प्रतिक्षामा रहेको जनाएको छ । त्यो अपेक्षा पूरा हुन नसक्दा केहि बेचैन बनाएको भन्दै अव सुरु हुने अधिवेशनमा प्राथमिकताका साथ छलफल चलाई टुंगो लगाइनेमा संघले विश्वास राखेको अध्यक्ष पन्तले उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस् हालसम्म सवैभन्दा धेरै नेपाली युएईबाट फर्किए, दोश्रोमा साउदी अरेवियाबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: