मलेसियाको एक कम्पनीले विदेश जाँदा तिरेको रकम फिर्ता दिन थाल्यो, ६ सय नेपाली लाभान्वित

मलेसियाको एक कम्पनीले १ हजार ६ सय श्रमिकको भर्ना शुल्क फिर्ता गर्न सुरु गरेको छ । मलेसियामा कुनै कम्पनीले भर्ना शुल्क फिर्ता गरेको यो पहिलो घटना भएको विश्वास गरिएको स्थानीय अनलाइन फ्रि मलेसिया टुडेले लेखेको छ ।

ग्लोव निर्माण गर्ने कम्पनी डव्लुआरपी एसिया प्यासेफिकले भर्ना शुल्क फिर्ता गर्ने कार्यक्रम अन्तर्गत सो रकम फिर्ता गर्न थालेको हो । यस अन्तर्गत झण्डै ५० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको समाचारमा जनाइएको छ ।

त्रैमासिक रुपमा भुक्तानी गरिने शोधभर्ना वापतको सो रकम श्रमिकले ४ हजार ५ सय ४७ देखि १६ हजार ५४ रिंगिटसम्म प्राप्त गर्नेछन् । मलेसियामा रोजगारीका लागि धेरै रकम तिर्न रोजगारीको खोजिमा रहेका श्रमिक बाध्य हुने गरेको समाचारमा उल्लेख छ । तसर्थ मलेसियामा कमाएको ठूलो हिस्सा ऋण तिर्न नै श्रमिकको खर्च हुने भएका कारण उनीहरुले बाध्यकारी रुपमा श्रम गर्नुपर्ने अवस्था रहेको छ ।

डव्लुआरपीले यसरी श्रमिकको भर्ना शुल्क वापत तिरेको रकम फिर्ता गर्नुको कारण भनें अमेरिकाले सो कम्पनीका उत्पादनहरुको आयातमा लगाएको बन्देज नै हो । अमेरिकाले सो कम्पनीले श्रमिकहरुलाई बाध्यकारी श्रममा लगाएको, तलव, सुविधा समयमा उपलव्ध नगराएकोे तथा चर्को भर्ना शुल्कका कारण श्रमिकमाथि ठूलो आर्थिक शोषण भएको जनाउँदै गत सेप्टेम्वरमा अमेरिकामा डव्लुआरपीका सामग्री आयातमा बन्देज लगाएको थियो । सो बन्देज गत मार्चमा हटाइएपनि अमेरिकी बन्देजका कारण सर्जिकल ग्लोव्स उत्पादन गर्ने सो कम्पनी धराशायी नै हुने अवस्था आएपछि कम्पनी श्रमिकको रकम शोधभर्ना दिन तयार भएको हो ।

“मैले झण्डै १ लाख २० हजार (४ हजार २ सय ८० रिंगिट) तिरेर यो रोजगारीमा आएको हुँ” एक नेपाली श्रमिकलाई उधृत गर्दै समाचारमा लेखिएको छ “म निक्कै खुशी छु, किनभनें मैले गतहप्ता १ सय १४ रिंगिट फिर्ता पाएँ र मैले किस्तावन्दीमा कुल ४ हजार ५ सय ४७ रिंगिट(नेरु झण्डै १ लाख २८ हजार) भर्ना शुल्क वापतको रकम फिर्ता पाउँदैछु ।” सो कम्पनीले हरेक तीन महिनामा उनलाई यसरी नै रकम फिर्ता दिने र उनको रोजगार करार २०२१ अप्रिलसम्म रहेको समाचारमा जनाइएको छ । यसैगरी अर्का एक श्रमिकले पनि आफूले ४ हजार ५ सय ४७ रिंगिट नै शोधभर्ना पाउने गरी रकम फिर्ता पाउन थालेको बताएका छन् । उनले सन् २०२२ सम्ममा गरेर ११ किस्तामा रकम फिर्ता पाउने समाचारमा जनाइएको छ ।

सन् २०१९ को जनवरीमा झण्डै दुई हजार नेपाली श्रमिकको तीन दिनको हड्ताल पश्चात सो कम्पनीले मासिक तलव भुक्तानी नदिएको, गैरकानूनी रुपमा तलव कटौति गरेको लगायतको घटना सार्वजनिक भएको थियो । सो घटनामा सरकारले नै हस्तक्षेप गरेर उनीहरुको बाँकी तलव, सुविधा वापतको रकम दिलाउन पहल गर्नुपरेको थियो ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण ग्लोव्सको माग संसारभर ठूलो छ । तसर्थ पनि डव्लुआरपीले आफ्नो अन्तराष्ट्रिय जगतमा गुमेको शाख फर्काउन तथा सम्भावित बन्देजबाट जोगिनका लागि श्रमिकलाई भर्ना शुल्क वापतको रकम फिर्ता दिन थालेको हो । विश्वभरी प्रयोग हुने ग्लोव्सको तीनभागको झण्डै दुई भाग मलेसियामा नै उत्पादन हुने गरेको छ जसको माग ११ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

काठमाडौं पोष्टले यसरी रकम फिर्ता पाउने १ हजार ६ सय श्रमिक मध्ये झण्डै ६ सय नेपाली रहेको समाचार प्रकाशित गरेको छ । कम्पनीले फिर्ता दिने रकम सो कम्पनीमा काम गरेर गत फेब्रुअरी ३१ पश्चात नेपाल फर्केका वा नेपाल फर्किने योजनामा रहेकाहरुले समेत प्राप्त गर्ने सो कम्पनीमा काम गर्ने एक नेपालीलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।

रोजगारीका लागि जाने श्रमिक माथि हुने चर्को आर्थिक शोषण रोक्न र मर्यादित भर्ना प्रकृयाका लागि यो एउटा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस् मलेसियाबाट पहिलो चरणमा ३३ सय फर्किए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय