विदेशबाट नेपाली फर्काउने कार्ययोजना पारित, सूचि परराष्ट्रले बनाउने, पर्यटनले विमानको व्यवस्था मिलाउने

विदेशमा रहेका नेपाली फर्काउने सम्वन्धमा उच्च स्तरीय समितिले तयार पारेको कार्य योजना पारित भएको छ । सरकारले यसअगाडी नै विदेशमा रहेका र कोभिड १९ का कारण समस्यामा परेकाहरु, मानवियताका आधारमा फर्काउनु पर्नेहरु लगायतलाई फर्काउने गरिसकेको छ । सोका लागि आवश्यक कार्ययोजना बनाउने जिम्मेवारी उच्चस्तरीय समितिलाई तोकेको थियो । सोही अनुरुप उच्चस्तरीय समितिले कार्ययोजना बनाएको हो ।

स्वदेश फर्काउने नेपालीको प्राथमिकताको सूची बनाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिईएको छ । परराष्ट्र मन्त्रालयले गन्तव्य मुलुकमा रहेका नेपाली नियोगहरुसँगको समन्वयमा त्यस्तो सूचि बनाउनेछ । यसका लागि यसअघि देखि नै परराष्ट्र मन्त्रालयले दूतावासहरुलाई स्वदेश फर्काउनै पर्नेहरुको सूचि बनाउन लगाउँदै आएको छ ।

विदेशबाट फर्काउनेहरुको आवश्यक व्यवस्थाका लागि पर्यटन मन्त्रालयले आवश्यक विमानको व्यवस्था गर्नेछ । नेपाली फर्काउनका लागि स्वदेशी विमान कम्पनी नै प्राथमिकतामा रहेका छन् ।

शुक्रबार बसेको समितिको बैठकले केही दिनभित्रमै समय तालिका तयार गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । सचिव बिडारीले नेपाल फर्काउने पहिलो जिम्मेवारी नेपाल एयरलाइन्सले पाउने र त्यसले नभ्याएमा नेपालमै रहेका अरु कम्पनीका विमान प्रयोग गरिने बताए । त्यसरी पनि अपुग भएमा अन्य देशका विमान चार्टर गरिने उनले बताए ।

सरकारको कार्ययोजना अनुसार आममाफी पाएर घरफिर्ती केन्द्रमा रहेका नेपालीहरु परेका छन् । नेपाल फर्किन अनुमति पाइसकेका, जुनसुकै कारणले बहिर्गमन भिसा पाइसकेका, आफन्तको मृत्यु भई काज किरियाका लागि नेपाल आउनु पर्ने व्यक्तिहरुलाई पनि पहिलो चरणमा फर्काउने सरकारको तयारी छ । यसैगरी करार अवधि सकिएका र रोजगारी गुमाएका व्यक्तिहरु, कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य अवस्था भएका व्यक्तिहरु, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु पनि घर फर्काउने प्राथमिकतामा छन् ।

सरकारी सेवामा रहेका र विदेश अध्ययन वा तालिमका लागि गएर फर्किन नपाएका, अध्ययन सकिएका विद्यार्थीहरु, कलेज बन्द भएका विद्यार्थीहरु, पारिवारिक भेटघाटमा गएर फर्किन नपाएका व्यक्तिहरुलाई तत्काल फर्काउने उच्च स्तरीय समितिले निर्णय गरेको छ ।
कम्पनीबाट रोजगारीसहित अनिवार्य बिदामा रहेका व्यक्तिहरु, अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्ने र नेपाल आउनु पर्ने अवस्थाका व्यक्तिहरु, पर्यटन र व्यवसायीक भिसामा गइ बाहिर रोकिएका व्यक्तिहरुलाई पनि नेपाल फर्काउने प्राथमिकतामा सरकारले राखेको छ ।

यो पनि पढ्नुहोस ‘हाम्रो सुझाव र श्रम मन्त्रालयले निर्णय कार्यान्वयन गराउने अपेक्षा’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय