विदेशमा अलपत्र रहेका श्रमिकहरुलाई तत्काल घर फर्काउन श्रमिक सञ्जालको आग्रह

कोरोना महामारीका कारण विदेशी भूमिका अलपत्र परेका आफ्ना नागरिकलाई तत्काल घर फर्काउने व्यवस्था गर्न श्रमिक सञ्जालले आग्रह गरेको छ । सरकारका विभिन्न मन्त्रालयहरु, नोभेल कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति,  राष्ट्रिय मानव अधिकार आयोग लगायतलाई ज्ञापनपत्र पठाउँदै सञ्जालले यस्तो आग्रह गरेको हो ।

सञ्जालले बुझाएको ज्ञापनपत्रमा अन्य मुलुकका श्रमिकहरुलाई तिनका सरकारले लकडाउनको अवस्थामा नै स्वदेश फर्किने व्यवस्था गरेपनि नेपाल सरकारले भने विदेशबाट श्रमिकहरुलाई फर्काउन सहज छैन भन्दै बारम्वार जहाँ हो त्यहिं रहिरहनू भनिरहनुले आफूहरुलाई हतास बनाएको उल्लेख छ । सञ्जालको ज्ञापनपत्रमा कोरोना सिर्जित संकट पश्चात् कयौं नेपाली श्रमिकहरुलाई गन्तव्य मुलुकका रोजगारदाताले विना पूर्व जानकारी कामबाट निकाल्ने, करार सम्झौता रद्ध गर्ने, बेतलवी विदामा बस्न दवाव दिने, पारिश्रमिक नदिने वा दिएमा पनि पूरै नदिने गरेको पनि स्मरण गराएको छ ।

कतै हाम्रो सरकार हामी श्रमिकहरु प्रति अनुदार त भएको होइन भनेर प्रश्न गर्दै सञ्जालले सरकारलाई आफूहरुको अनुरोधको सुनुवाईका लागि गत मे १ तारिख देखि “घर जान पाऊँ” भन्ने अभियान सुरु गरेको उल्लेख गरेको छ ।

विदेशमा कार्यरत सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउनु पर्ने आफूहरुको माग नरहेको भन्दै सञ्जालले हाल विदेशमा अलपत्र अवस्थामा रहेकाहरुलाई उद्धार र घरफिर्तीको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

चीनको वुहानबाट नेपालीहरुलाई कुशलतापूर्वक नेपाल फर्काएको सरकारले अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत नेपालीलाई पनि स्वदेश ल्याउने निर्णय गरिसकेको अवस्थामा खाडी तथा मलेसिया लगायतका देशमा श्रमरत नेपालीलाई फिर्ता ल्याउन चाहिं कसरी असम्भव हुन्छ भन्ने सञ्जालको प्रश्न रहेको छ ।

गन्तव्य मुलुकहरुमा नेपाली श्रमिकहरुले भोगिरहेको समस्याका वारेमा विस्तृतमा ज्ञापनपत्रमा उल्लेख गर्दै सञ्जालले संकटको अवस्थालाई कारण देखाएर सरकार पछि हट्न नमिल्ने तर्क गरेको छ । सामान्य समयमा भन्दा नागरिकहरुलाई यस्तै बेलामा नै सरकारको बढी सहयोग चाहिने भन्दै संकटको घडीमा आफ्ना नागरिकप्रतिको आफ्नो कर्तव्य पूरा गर्न, स्वदेश फर्कन पाउने नेपाली श्रमिकहरुको अधिकारलाई नेपाल सरकारले सम्मान गर्न माग गरिएको छ ।

यो पनि पढ्नुहोस् भूमिकाविहिन श्रम मन्त्रालय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: