भूमिकाविहिन श्रम मन्त्रालय

समस्या यस्तो छ, दिनरात नभनि काम गर्दा पनि पार लाउन मुस्किल । लगातारको लकडाउन, संक्रमितको संख्या सानो तथा परीक्षण थोरै हुँदा नेपालमा कोरोना संक्रमित धेरै देखिइसकेका छैनन् । संक्रमित मध्ये हालसम्म कसैको मृत्यु नहुनु र विरामी परेकाहरु पनि निको हुँदै जानु यसका सुखद पक्ष हुन् ।

कोरोना र लकडाउनका कारण सवै क्षेत्रमा दवाव पर्दै गएको छ । श्रमिकहरुलाई हातमुख जोर्न धौ–धौ छ । दैनिक ज्यालामजदुरी गर्नेहरु राहतको आशमा बाँच्नु परेको छ । केहि स्थानमा चलाइएका निःशुल्क खाना खुवाउने अभियानले कतिपयको छाक टार्दैछ ।

अर्कातर्फ लकडाउन भएको डेढ महिना वितिसक्दा स्वदेशका धेरै उद्योगहरु तथा व्यापारिक प्रतिष्ठानहरु अव कसरी बौरिने भन्ने अवस्थामा पुगेका छन् । रोजगारदाताहरुले तलव दिन सक्दैनौं भनेर घोषणा नै गर्न थालिसके । होटल क्षेत्रका रोजगारदाताहरुको संगठनले होटलमा काम गर्ने श्रमिकलाई १२.५ प्रतिशत मात्र तलव दिने र त्यो लिन नमान्नेलाई रोजगारीबाट हटाउने निर्णय नै गरिसक्यो । यसका विरुद्दमा श्रमिक संगठनहरु उत्रिने तरखरमा छन् । बर्षौंदेखि त्यहि रोजगारीले परिवार चलाउँदै आएकाहरुलाई १२.५ प्रतिशत तलव हात्तिको मुखमा जिरा हो । त्यसैले समयमै सरकारले हस्तक्षेप गरेर समस्या सुल्झाएन भनें यस क्षेत्रमा तनाव सुरु हुँदैछ ।

यो त सुरुवात मात्र हो, अव विस्तारै अन्य क्षेत्रमा पनि यस्तै देखिनेछ र सो क्षेत्रका श्रमिकको हविगत होटल क्षेत्रका श्रमिकको झैं हुनेछ । सरकारले केहि उद्योगहरु सञ्चालन गर्न सकिने व्यवस्था त गरेको छ, तर यसले अर्को संकट निम्त्याउने खतरा छ । अत्यन्तै न्यून संख्यामा गरिएको कोरोना परीक्षणकाबीच कार्यथलोमा रोजगारीका लागि पुग्नेहरुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने यकिन हुन्न । यदि श्रमिक वा रोजगारदाताकै बीचमा कोहि संक्रमित रहेमा त्यसले निम्त्याउने समस्या अर्को प्रकृतिको हुनेछ ।

लकडाउन सुरु भएपछि स्वदेशमा श्रमिकहरुले यति चर्को हैरानी व्यहोर्नु पर्यो जसको हिसावकिताव भुक्तभोगिले बाहेक अरुले गर्न सक्दैनन् । काम गरिरहेको स्थानमा खानै समस्या परेपछि उनीहरु थुप्रै दिन हिंडेर आफ्नो घरगाउँ पुगे । उनीहरु जानु हुन्न त भनियो तर आफू बसेकै ठाउँमा उनीहरुले के खान्छन् भन्ने चिन्ता केवल बौद्दिक छलफलको विषय मात्र बन्यो ।

स्वदेशमा मात्र होइन विदेशमा पनि लाखौं श्रमिक कार्यरत छन् । झण्डै १४/१५ लाख नेपाली मलेसिया र खाडीका मुलुकहरुमा कार्यरत छन् जसमध्ये झण्डै १० देखि १५ प्रतिशत अव रोजगारी गुमाएर स्वदेश फर्किने अवस्थामा छन् भन्ने अनुमान गरिन्छ । यो भनेको झण्डै दुईलाख हो । सरकारी निकायको आँकलन यो भन्दा धेरै छ । यदि कोभिड १९ को समस्या अहिले भन्दा बढ्यो भनें संख्या अझ बढ्ने छ । कामना गरौं त्यसो नहोस् ।

मुलुकबाट हरेक बर्ष ५ देखि ६ लाख व्यक्ति श्रम स्वीकृति लिएर तथा पुनः श्रम स्वीकृति लिएर बाहिरिने गरेको तथ्याङ्क छ । आगामी दिनमा अव त्यो श्रमशक्तिका लागि विदेशमा कति रोजगारी उपलव्ध हुन्छ भन्ने यकिन छैन । अदक्ष श्रमिकका रुपमा काम गर्ने नेपाली श्रमिकको माग पुरै बन्द त हुँदैन, तर गन्तव्य मुलुकहरुमा विकास निर्माणका काममा आउने सुस्तताका कारण त्यो माग पक्कै कम हुनेछ । अर्कातर्फ विदेशमा कार्यरतहरु मध्ये पनि तत्कालै दुईलाख भन्दा बढी फर्किने आँकलन छ । यसको अर्थ आन्तरिक श्रम बजारमा दवाव बढ्नेछ ।

यो समयमा श्रम मन्त्रालय तथा श्रम मन्त्रीको अहम् भूमिका रहनु पर्ने हो । विदेशमा रहेका नेपालीको समस्या समाधानका लागि आवश्यक परेमा मन्त्रीपरीषदमा बलियोसँग कुरा उठाउनु पथ्र्यो श्रम मन्त्रीले । ‘हामी भोकै परदेशमा मर्ने भयौं’ भनेर आत्तिएका श्रमिकको खानेकुराको जोहो गर्न अघि सर्नुपर्दथ्यो । अर्थात विदेशमा भएका र स्वदेशमा रहेका श्रमिकलाई अभिभावक भएको अनुभूति दिन सक्नु पर्दथ्यो ।

तर विडम्वना, श्रम मन्त्री यो मुलुकमा छन् भन्ने कुरा आम श्रमिकले अनुभूति गर्नै पाएनन् । उनको भूमिका यसबीचमा कुनै रुपमा पनि प्रभावकारी देखिएन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको छेउमा बसेर राजदूतहरुका कुरा सुनेको देखिएका श्रममन्त्री रामेश्वर राय यादवले यसबीचमा प्रभावकारी रुपमा काम गरेको अनुभूति नै भएन ।

अभिभावक भनेको सन्तानलाई अप्ठ्यारो पर्दा नै चाहिने हो । त्यसैले त अभिभावक । सहज समयमा त जसले पनि आफैं गरेर खान सक्दछ । राज्य पनि त्यहि अभिभावक हो, जसले संकटको समयमा आफ्ना नागरिकको रक्षा गर्न सक्नु पर्दछ । आम श्रमिकले यो संकटको समयमा खोज्ने भनेको श्रम मन्त्रालय, श्रम मन्त्रीको प्रभावकारी भूमिका नै हो ।

आफ्नो अभिभावक कमजोर र लाचार हुँदा सन्तानले कुन हदसम्मको समस्या खेप्नु पर्दछ, त्यो समस्या खेप्ने सन्तानले नै अनुभव गर्दछ । लाचार अभिभावक न बोल्छ, न केहि गर्छ । उ केवल म अभिभावक हुँ चैं भनिरहन्छ । त्यहि लाचार अभिभावकको अनुभव यसपटकको संकटमा गरे स्वदेश र विदेशमा रहेका धेरै नेपाली श्रमिकहरुले पनि ।
यो पनि पढ्नुहोस् विश्वमा नेपालीमा घट्दै छ कोरोना संक्रमणको दर, हालसम्म ७८ को मृत्यु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय