विदेशबाट थोरै प्रतिशत नेपालीलाई पनि तत्काल फर्काउन हाम्रो क्षमताले थेग्दैन: श्रम मन्त्री यादव

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले लकडाउनका कारण विदेशमा रहेका नेपालीलाई परेको समस्याका विषयमा सरकार चिन्तित रहेपनि तत्काल उनीहरुलाई नेपाल फर्काउन नेपालको क्षमताले नथेग्ने बताएका छन् । उनले बीसौं लाख नेपाली आप्रवासी श्रमिकहरु खाडी, मलेसिया तथा अन्य मुलुकहरुमा कार्यरत रहेको भन्दै त्यसमध्ये थोरै प्रतिशत मात्र नेपालीलाई फिर्ता गर्न पनि ठूलो स्रोत साधन आवश्यक पर्ने र त्यसलाई नेपालको क्षमताले नधान्ने बताएका हुन् ।

मन्त्री यादवले विदेशमा रहेका नेपालीलाई सम्वोधन गर्दै भनेका छन्ः लकडाउन खुकुलो हुँदै गर्दा के कस्तो प्रणाली अवलम्बन गरी तपाईहरुलाई स्वदेश फिर्ता ल्याउने भन्ने कुरामा हामीले गम्भीरताका साथ अध्ययन गर्दै आवश्यक गृहकार्य गरिरहेका छौं । यस बारेमा पछि तपाईहरुलाई जानकारी अवश्य हुनेछ । तर हामीले मनन गर्नुपर्ने एउटा कटु यथार्थ के हो भने बीसौं लाख नेपाली आप्रवासी श्रमिकहरु खाडी, मलेसिया तथा अन्य मुलुकहरुमा हुनुहुन्छ । यसमध्ये थोरै प्रतिशतमात्र नेपालीहरुलाई फिर्ता गर्न र नेपाल आइसकेपछि क्वारेन्टाइनमा राख्ने लगायतको व्यवस्थापन गर्न पनि ठूलो स्रोत साधनको आवश्यकता पर्दछ । हाम्रो क्षमता यसलाई थेग्न सक्छ सक्दैन भन्ने कुरामा पनि हामी सचेत रहनैपर्ने हुन्छ । अतः विभिन्न कारणले अलपत्र परेका, विरामी तथा असक्त व्यक्तिहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने नै हुन्छ ।

मन्त्री यादवले यस संवेदनशील घडीमा सवैको धैर्यता र सहयोगको लागि समेत याचना गर्दै अनाधिकारिक हल्लाको पछि नलागी आधिकारिक निकाय तथा स्रोतबाट प्राप्त सूचना लिई हाललाई आफू जहाँ रहेको अवस्था छ, त्यहि सुरक्षित भएर बस्न पुनः अनुरोध गरेका छन् ।

जस्तोसुकै कठिन अवस्थामा पनि विचलित नभई उच्च मनोवलका साथ आफ्ना आफन्तजन तथा नेपाली दुतावासमा आफ्नो अवस्थाका सम्बन्धमा नियमित सम्पर्क गरी जानकारी दिन पनि मन्त्री यादवले अनुरोध गरेका छन् ।

पढ्नुहोस् मन्त्री यादवले जारी गरेको विज्ञप्तीको पुरा भाग
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना रोगका कारण एउटा विषम अवस्थामा हामीहरु छौं । रहर वा बाध्यतामा परी यहाँहरुले आफ्नो घरपरिवार तथा देश छाडी परदेशमा बगाएको पसिनाका कारण नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग पुगेको कुरा हामी कसैले भुल्न सक्दैनौ । हाम्रा दिनहरु हिंजो पनि सहज त थिएनन् तर आज फरक अवस्थामा हामी आइपुगेका छौं । कोरोना भाइरसको महामारी विरुद्ध सवैजसो देशहरुमा आवागमन सहज छैन, कलकारखाना, व्यापार(व्यवसाय तथा कार्यालयहरु बन्द भएका छन्, जतासुकै लकडाउनको अवस्था छ । यसले निश्चय पनि यहाँहरु सवैलाई प्रताडित बनाएको छ । हामी सवैलाई यस्तो कठिन समयमा आफ्ना परिवारजनको आवश्यकता अरु समयभन्दा बढी हुन्छ ।यहाँहरुलाई त यसको आवश्यकता अझ बढी छ ।

कोरोना भाईरससंग लड्ने औषधि विकास गर्न अन्तराष्ट्रिय रुपमै अध्ययन अनुसन्धान भैरहेको छ तथापि आजका दिनसम्म यस विरुद्धको औषधि पत्ता लागिसकेको भने छैन । यस भाइरसलाई फैलन नदिने एकमात्र उपाय भनेको व्यक्ति व्यक्ति बीचको दुरी कायम गर्नु नै हो । साथै, कम्तीमा २० सेकेण्डसम्म साबुन पानीले हात धुने, आफ्नो हातलाई सकभर नाक, आँखा र मुखमा पुग्न नदिने, मास्क लगाउने र व्यक्तिगत सरसफाइलाई ध्यान दिएर पनि यस भाइरसको संक्रमणबाट बच्न सकिन्छ र एक अर्कालाई सार्नबाट रोक्न सकिन्छ ।

व्यक्ति व्यक्ति बीचको दुरी कायम गरी संक्रमणलाई थप फैलन नदिन नेपालले पनि गत चैत्र ११ देखि लकडाउनको रणनीति अख्तियार गरेको छ भने बाह्य तथा आन्तरिक यातायातका साधनहरुमा रोक लगाइएको छ । यस परिस्थितिमा वैदेशिक रोजगारमा रहेका कतिपय हाम्रा दाजुभाई तथा दिदीबहिनीहरु कम्पनीले विदा दिंदा, करार अवधि समाप्त हुँदा र अन्य कारणले स्वदेश फर्कने चाहना र बाध्यता हुँदा पनि फर्कन पाइरहनु भएको छैन । हामी हाम्रा दुतावासहरु, अवैतनिक राजदुतहरु, गैर आवासीय नेपाली संघ संगठन, राष्ट्रिय एवं अन्तराष्ट्रिय मिडियामार्फत यहाँहरुले भोगेको पीडालाई दैनिक रुपमा जानकारी लिई अनुभूत गरिरहेका छौं ।

लकडाउनको अवधि भनेको आफू जहाँ रहिएको छ त्यही सुरक्षित रहेर बस्नु नै हो । म पनि यहाँहरु सबैलाई यस कठिन परिस्थितिमा आफु जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्न हार्दिक आह्वान गर्दछु । खर्चको अभावमा र अन्य कारणले खान बस्नको कठिनाई छ भने कृपया सम्बन्धित दुतावासहरुमा फोन वा सामाजिक सञ्जालका माध्यमबाट सम्पर्क गर्नसक्नुहुनेछ । हामी नेपालीहरु सहज समयमा त निस्वार्थ रुपमा एक अर्कालाई सहयोग गर्ने जातिका रुपमा चिनिन्छौ भने यस्तो विषम परिस्थितिमा मानवीय भावनालाई थप जागृत गर्दै एक अर्को नेपालीलाई सहयोग गर्न चुक्ने छैनौ भन्ने कुरामा म पूर्ण विश्वस्त छु । विदेशमा रहेका नेपाली संघ संस्थाहरु तथा व्यक्ति विशेषलाई दुःखमा परेका र अलपत्र भएका नेपालीहरुलाई यस्तै सहयोगको निम्ति हातेमालो गर्न समेत हार्दिक अपिल गर्दछु ।

मानव अधिकारको अन्तराष्ट्रिय मूल्य मान्यता र विश्व स्वास्थ्य संगठनको आधारभूत स्वास्थ्य उपचारको व्यवस्था बमोजिम यथोचित प्रवन्धका लागि नेपाल सरकारले यहाँहरुको पक्षमा कुटनैतिक पहल गरी नै रहेको छ । कोभिड(१९ संक्रमणको यस परिस्थितिमा नेपाली कामदारहरुको हकहित र सुरक्षालाई लिएर सम्माननीय प्रधानमन्त्रीज्यू समेतबाट विदेशस्थित आफ्ना समकक्षीहरुसंग निरन्तर टेलिफोन संवाद गरिरहनु भएको तर्फ पनि यहाँहरु जानकार नै हुनुहुन्छ । यसै सन्दर्भमा, हाम्रा गन्तव्य मुलुकका कतिपय सरकारहरुले कोभिड(१९ का कारण आप्रवासी श्रमिकलाई राहतका कार्यक्रमहरु घोषणा गरेका छन् । हाम्रा दुतावासहरु मार्फत ती कार्यक्रमहरुको आधिकारिक जानकारी लिई त्यसबाट लाभ लिन पनि म यहाँहरुमा विनम्र अनुरोध गर्दछु ।

लकडाउन खुकुलो हुँदै गर्दा के कस्तो प्रणाली अवलम्बन गरी तपाईहरुलाई स्वदेश फिर्ता ल्याउने भन्ने कुरामा हामीले गम्भीरताका साथ अध्ययन गर्दै आवश्यक गृहकार्य गरिरहेका छौं । यस बारेमा पछि तपाइहरुलाई जानकारी अवश्य हुनेछ । तर हामीले मनन गर्नुपर्ने एउटा कटु यथार्थ के हो भने बीसौं लाख नेपाली आप्रवासी श्रमिकहरु खाडी, मलेसिया तथा अन्य मुलुकहरुमा हुनुहुन्छ । यसमध्ये थोरै प्रतिशतमात्र नेपालीहरुलाई फिर्ता गर्न र नेपाल आइसकेपछि क्वारेन्टाइनमा राख्ने लगायतको व्यवस्थापन गर्न पनि ठूलो स्रोत साधनको आवश्यकता पर्दछ । हाम्रो क्षमता यसलाई थेग्न सक्छ सक्दैन भन्ने कुरामा पनि हामी सचेत रहनैपर्ने हुन्छ । अतः विभिन्न कारणले अलपत्र परेका, विरामी तथा असक्त व्यक्तिहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने नै हुन्छ ।

यस संवेदनशील घडीमा म यहाँहरु सवैको धैर्यता र सहयोगको लागि समेत याचना गर्दछु । अनाधिकारिक हल्लाको पछि नलागी आधिकारिक निकाय तथा स्रोतबाट प्राप्त सूचना लिई हाललाई आफू जहाँ हुनुहुन्छ कृपया त्यही सुरक्षित हुन पुनः अनुरोध गर्दछु । जस्तोसुकै कठिन अवस्थामा पनि विचलित नभई उच्च मनोवलका साथ आफ्ना आफन्तजन तथा नेपाली दुतावासमा आफ्नो अवस्थाका सम्बन्धमा नियमित सम्पर्क गरी जानकारी दिनु होला । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टर मार्फत पनि यहाँहरुले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामी सवैले संयमित रही मिलेर लड्यौ भने संक्रामक रोगको यो विषम परिस्थिति विरुद्ध पनि हामी सबैले बिजय प्राप्त गर्न सफल हुनेछौं । धन्यवाद ।

यो पनि पढ्नुहोस् विदेशमा भएका नेपाली फर्काउन मन्त्री वा सचिवले बेच्नु पर्दैन घरखेत

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: