विदेशमा भएका नेपाली फर्काउन मन्त्री वा सचिवले बेच्नु पर्दैन घरखेत

भनिन्छ समाधान बिनाको समस्या नै हुँदैन, मात्र त्यसलाई पहिचान गर्न सक्नु पर्दछ र समाधान गर्ने दृढ संकल्प हुनुपर्दछ । कोरोना भइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल फर्काउन सकिंदैन भन्नु पनि समस्या मात्रै देख्ने तर समाधान दिन नचाहनेहरुको गैरजिम्मेवार अभिब्यक्ति हो । विदेशमा रहेका सबै समस्यामा छन् भन्नु साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भन्ने उखानसँग मेल खाए जस्तै समस्यामै छैनन् भन्नु चाकडिको पराकाष्टा हो ।

कुन देशमा कति नागरिक छन, आधिकारीक तथ्याङ्क सरकारसँग समेत छैन । यो अवस्थामा मैलै यति नै छन भन्नु मुर्खायाई नै हुने छ । तर पनि सबैले अनुमान गरे जस्तै गर्ने हो भने भारत बाहेक करिव २५-३० लाख नेपाली होलान् विदेशमा छन । त्यसमध्ये करिव १५-२० लाख नेपाली खाडी मुलुकहरु तथा मलेसिया, इजरायल अनि साइप्रसमा भएको अनुमान छ । त्यता श्रम गर्न गएकाहरुले सरकारसँग स्वीकृति लिएरै गएका छन । अरुको नभएपनि श्रम स्वीकृति लिएर जानेहरुको त वैदेशिक रोजगार विभागसँग तथ्याँक हुनुपर्ने हो, तर दुःखको कुरा त्यो पनि छैन । त्यसैले त अहिले पनि कुन देशमा कति नेपाली श्रमिक छन् ठ्याक्कै भन्न कसैले सक्दैन ।

अरुको सवालमा संवेदनशील नबन भन्न मिल्दैन । सबै नेपालीलाई सरकारले प्राथमिकतामा राख्नुपर्दछ । तर प्राथमिकतामा पनि कसलाई अगाडी राख्ने भन्ने हो । त्यो वर्गिकरण पनि असहज छैन । भोकले श्रम गर्न गएकालाई पहिलो प्राथमिकता र शौखले सके उतैको नागरिक बनौला नसके केहि कमाएर फर्कौला भनेर गएकालाई दोस्रो प्राथमिकतामा राख्न सकिन्छ । अर्थात सरकारलाई जोखिम खर्च बुुझाएर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकालाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ ।

श्रम स्वीकृति लिएर गएका मध्ये हाल रोजगारी गुमार्ईसकेकाहरुको संख्या ५० हजार भन्दा धेरै नभएको अनुमान छ । झण्डै १ लाखजति बेतलवी विदामा बस्न बाध्य बनाइएकाहरु होलान् । त्यसैले उनीहरु चाहिं फर्कने दिन कुरेर बसेका छन । तर दुःखको कुरा लाचार भएर श्रममन्त्री रामेश्वर राय यादव भन्छनः फर्काउन सकिदैन । मन्त्रीज्यू तपाईको घरखेत बेचेर श्रमिक फर्काउनु पर्दैन । वैदेशिक रोजगारमा जानेले हरेक दुुई दुुई बर्षमा बुझाएको पैसा नै अर्वौं बचत छ । त्यो तपाईहरुको भत्ता, विदेश भ्रमण र तपाईंका मनपरेका व्यक्तिको भरणपोषणका लागि होइन । यस्तै विपत्ति पर्दा उद्दार गर्न सकियोस् भनेर नै बनाएको कोष हो । श्रमिकको विपत्तिमा प्रयोग नगरेको त्यो कोष कहिले र के का लागि प्रयोग गर्नु हुन्छ ?

फर्केपछी कसरी ब्यवस्थापन गर्ने ?
मैले बुुझेको सरकारको मख्य टाउको दुखाई यहि हो की विदेशबाट आएपछि कहाँको क्वारेन्टाइनमा राख्ने, कसरी राख्ने, त्यति धेरैलाई लगेर राख्ने ठाउँ खै ? तर यसमा स्मरण गर्नुपर्ने कुरा के हो भनें परिक्षण गरेर जो संक्रमित छन् उनीहरु ठिक नभएसम्म स्वदेश फर्कदैनन । फर्कने तिनै हुन् जसमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएको छैन ।

यसरी फर्किनेहरुलाई २ हप्ता होटलहरुमा राखेर परिक्षण गर्न सकिन्छ । आन्तरिक तथा बाह्य दुुवैखाले पर्यटक नभएर धराशायी अवस्थामा पुुग्न लागेका होटलहरुलाई आर्थिक सहयोग समेत हुने हिसावले होटलहरुलाई होटल एसोसियसनको समन्वयमा क्वारेन्टाइनमा परिणत गराउन सकिन्छ । साना ठुला गरी हजारौं होटल पाहुना नपाएर बन्द गर्नुपर्ने अवस्थामा पुगिसकेका छन । यो अवस्थामा केहि राहत पुग्ने देखेपछि होटलहरु पनि न्यूनतम शुल्कमा सेवा दिन राजी हुनेछन ।

सरकारलाई लाग्न सक्छ कि सवैलाई होटलमा खाना बस्नको लागि आर्थिक ब्यवस्थापनमा कठिनाई हुन्छ । त्यसो हो भने फर्कने श्रमिकको अवस्थाहेरी आधा खर्च सरकारले व्यहोरेर आधा श्रमिकबाटै भराउन पनि सक्छ । खाडीका श्रमिक उपयोग गरि चुनाव जित्ने हार्ने गरेका एनआरएन नेतृत्वसँग पनि आफ्ना सदस्यका लागि खर्च ब्यवस्थापन गराउन दवाव दिन सकिन्छ । एनआरएनको दायित्व पनि हो की सदस्यता शुल्क तिरेका श्रमिकलाई परेको बेला सहयोग गर्नु । सदस्य नभएकालाई पनि मानविय हिसावले सहयोग गर्न एनआरएनको खाडी लक्षित श्रमिक कोष नै छ, त्यसलाई प्रयोगमा ल्याउन सक्दछ ।

फर्केका श्रमिक सबैलाई होटलकै क्वारेन्टाइनमा राख्नुपर्छ भन्ने पनि छैन, स्थानिय निकाय तथा श्रमिकको परिवारको समन्वयमा अवस्था हेरी होम क्वारेन्टाइनमा पनि पठाउन सकिन्छ । अवस्था भन्नाले होम क्वारेन्टाइनमा बस्न चाहनेको घरमा उसका लागि अलग्गै कोठा र बाथरुम छ छैन ? घरमा कोही बुढाबुढी, रोगी र स–साना बालबच्चा छन् की छैनन बुुझेर मात्रै पठाउनु पर्दछ ।

सचेत रहनुपर्छ, उसलाई संक्रमण देखिए पनि परिवार तथा समाजमा नसरोस् । पहिलो चरणमा रोजगार गुमाएकाहरुलाई सिमित संख्यामा फर्काएर सरकारले ब्यवस्थीत गर्न सक्यो भने बाँकी समस्या समाधानको लागि आफैं राजमार्ग तयार हुन्छ । मन्त्री, सचिव वा महानिर्देशकहरुले आफ्नै घरखेत बेच्नुपर्ला जस्तो गरी रुवाबासी गर्नै पर्दैन । चाहनुमात्रै पर्दछ समाधान गर्न नसकिने समस्या नै छैन संसारमा ।
(पुडासैनी नेपाली पत्रकारहरुको अन्तराष्टिय सन्जाल (इन्जा)को एसिया उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ कतार शाखाका सल्लाहकार हुन)
यो पनि पढ्नुहोस् खुशी रहौं, मनोसामाजिक समस्याबाट यसरी बचौं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय