खुशी रहौं, मनोसामाजिक समस्याबाट यसरी बचौं

 

कोरोना भाइरस (कोभिड १९) को माहामारीका कारण कतिपय व्यक्तिहरुमा विभिन्न खाले मनोसामाजिक समस्याहरु आइपर्न थालेका छन् । उदाहरणका लागि मनमा अनावश्यक कुराहरु खेल्ने, झर्को लाग्ने, शरिरमा अत्याधिक थकानको महशुस हुने, सामान्य बेलाको भन्दा बढि नै डर र चिन्ता लाग्ने, आफू वा परिवारका सदस्यहरुलाई रोग लाग्ने हो की भन्ने डर लाग्ने, बिना कारण रिस उठने, निन्द्रा नलाग्ने र

तनावका भावनाहरु विकसित हुने गरेको देखिएको छ । यो महामारीको बेलामा लकडाउन (बन्दाबन्दी) को कारण व्यक्तिहरु घर भन्दा बाहिर निस्कने अवस्था छैन । यस्तो बेलामा स्वहेरचाह गर्नु अत्यावश्यक छ । यसका लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ ।

लकडाउनको अवस्था भएकोले प्रत्यक्ष भेटेर आफ्नो मनका कुराहरु अरु कसैलाई बताउन सकिंदैन । त्यसैले विभिन्न किसिमका सञ्चारको प्रविधिहरुको प्रयोग गरेर मनको कुरा तथा भावना नजिकैको विश्वासिलो मनमिल्ने र गोपनियता राखिदिने व्यक्ति र साथिभाईसँग आदानप्रदान वा कुराकानी गर्दा मन हल्का हुन सक्दछ ।

यसैगरी शारिरीक दुरि कायम राख्दै करेसाबारी र खेतको काममा व्यस्त रहँदा पनि तनाव कम हुन सक्दछ । आफुमा उत्पन्न भयको तनाव र भावनाको बारेमा तत्काल व्यक्त गर्ने अवस्था नभएमा आफ्नो सोचाई भावना र विचारलाई दैनिक रुपमा डायरीमा लेख्ने गर्दा पनि मन हलुङ्गो हुन्छ ।

शरिर र मन बिच प्रत्यक्ष सम्बन्ध हुने भएकोले शरिर लाई आबश्यक पर्ने भोजन, निन्द्रा र आराममा बिशेष ध्यान दिंदा शरिरको साथसाथै मन पनि हलुका हुन सक्दछ ।

आफ्नो मनको भावना चित्रको माध्यमबाट व्यक्त गर्ने, करेसावारी वा बगैंचामा समय बिताउने, आफुलाई मन पर्ने गित सुन्ने, पुस्तक पढने, सरसफाई, खानपिन र निन्द्रामा ध्यान दिदा पनि शरिर र मनमा उर्जा मिल्छ ।

स्वस्थ्यकर जीवनशैली अपनाउन शारिरीक अभ्यास, योग र ध्यानमा संलग्न हुँदा शरिर सकृय हुने गर्दछ जसको कारण मानिस मानसिक रुपमा निरोगि हुने वातावरणको सिर्जना गर्न सकिन्छ ।

आफनो धार्मिक आस्था अनुसारको आध्यात्मिक ग्रन्थहरु अध्यन गर्ने, पुजा गर्ने गर्दा पनि मन हलुङ्गो हुने गर्दछ । लकडाउनको समय भएकोले सबै व्यक्तिहरु घरभित्र नै रहने भएकोले धरधन्दाको काम र जिम्मेवारीको वाँडफाँड गर्न सकिन्छ । यसरी कामको बाँडफाँड गर्दा पारिवारिक सम्बन्धमा मन मुटाव र खटपट हुँदैन जसले गर्दा घरभित्र बिताउने समय तनावरहित बनाउन सकिन्छ ।

विगतका तनावहरुलाई सामना गर्न जे जे कुराहरुले आफुलाई सहयोग पुगेको थियो ति कृयाकलापहरुमा सहभागि हुने गर्दा पनि तनावबाट छुटकारा पाउन सकिन्छ ।

सामाजिक सञ्जाल र सञ्चार माध्यमको सहायताले परिवार तथा साथिहरुसँग सम्पर्कमा रहेर कुराकानी गर्नुहोस् । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशस्तरिय कोरना सूचना डेस्कको तथ्यपरक, आधिकारिक र विश्वसिनय सुचना वा जानकारी लिनुहोस् । हल्ला फैलाउनेहरुबाट सचेत रहनुहोस् । अनावश्यक हल्ला फैलाउनेहरु सामाजिक सञ्जालमा सकृय छन् । तसर्थ उनीहरुले फैलाएको अफवाहको फन्दामा पर्नबाट जोगिनु पर्दछ ।

लकडाउनको समयमा पनि तपाईले कतिपय राम्रा काम गरिरहनु भएको हुन सक्दछ, त्यसैले त्यस्ता राम्रा कामहरु सम्झनुहोस् र आफूलाई धन्यवाद दिंदै अरु त्यस्तै राम्रो काम गर्न प्रोत्साहित गर्नुहोस् । बालबालिकाहरु खेलेको हेरेर, उनीहरुसँग कुराकानी गरेर खुशी रहनु पर्दछ ।

भौतिक दुरि कायम राख्नुस् तर समाजबाट अलग नहुनुस् । साथिभाइ, आफन्तहरुसँगको कुराकानीका क्रममा केवल कोरोनाका कारण सिर्जित समस्याका बारेमा मात्र कुराकानी गरेर समय नविताउनुहोस् । उनीहरुसँग विगतका राम्रा कुराहरु तथा भविष्यमा गर्नुपर्ने कामका बारेमा पनि छलफल गर्नुहोस् । यसले सकारात्मक उर्जा दिन्छ ।
(भट्टराई मनोपरामर्श सेवाको क्षेत्रमा कार्यरत छन्)

यो पनि पढ्नुहोस् जनैखटिरा, श्रममन्त्री यादव र गुमेको एउटा अवसर

१४ बैशाख २०७७, आईतवार