महामारी र मौका : तयारी थालिहालौं

 

कुमार कार्की-

अनलाईन पोर्टल भिज्युअलक्याापिटलिस्ट डटकममा स्तम्भकार निकोलास लेपानले गत मार्च १४ मा विश्वका विभिन्न महामारीको ईतिहास शिर्षकमा एउटा लेख लेखेर विश्वभरका महामारीहरुको ईतिहासलाई संक्षेपिकरण गरेका छन् । निकोलासको लेखलाई आधार मान्ने हो भने सन् १६५ देखि १८० सम्म रहेको एन्टोनाईन प्लेगले ५० लाख मानिसको ज्यान लिएको थियो । सो समयदेखि हालसम्म २० वटा महामारीले विश्वलाई दुःख दिईसकेको छ । यस्ता महामारीले अरवौंको ज्यान लिएको तथ्यांक निकोलासले आफ्नो लेखमा प्रस्तुत गरेका छन् ।

विभिन्न अनलाईन पोर्टलहरुले विगतमा आएका महामारीहरु चाहे ति रोगका कारण हुन वा युद्दको कारण होस्, त्यसपछिको समय चुनौतीपूर्ण रहेको भए पनि मानव जगतका लागि ति अवसर वा मौकाका रुपमा समेत आएको देखाएको छ । ति अवसरलाई सदुपयोग गर्दै धेरै विकासको फड्को मारेको ईतिहासको पनि संक्षेपिकरण गरिएको छ सो लेखमा ।

कोभिड १९ महामारीका कारण विश्वव्यापि अर्थतन्त्रमा नकारात्मक असर पर्न थालिसकेको छ । यो महामारीको चपेटामा संसारका सवै देशहरु परि सकेका छन् । नेपालको अर्थतन्त्रमा पनि यसले गम्भिर असर पार्नेमा दुईमत छैन । देशका उद्योगधन्दा देखि परम्परागत र व्यवसायिक कृषि समेत ठप्प जस्तै छ । कृषि उत्पादन नभए देशमा खाद्यान्नको अभाव हुने जोखिम बढ्छ । अर्कोतर्फ वैदेशिक रोजगारीले धान्दै आएको अर्थतन्त्रमा गम्भिर धक्का लााग्ने पक्का नै छ ।

एकातिर मुलुकमा नै मजदुरहरु कामविहिन भएर बसेका छन् भने यहि अवस्था रहेको खण्डमा वैदेशिक रोजगारमा रहेका लाखौं नेपालीले वाध्यतावश काम छोडेर नेपाल फर्कनु पर्ने अवस्था सिर्जना हुँदैछ । यसको प्रत्यक्ष असर वैदेशिक रोजगारमा रहेका नेपाली र तिनमा आश्रित परिवारलाई पर्नेछ । आप्रवासी कामदारको बारेमा वकालत गर्दै आएको अनलाई पोर्टल देशपरदेश डटकमले गत चैत्र २६, २०७६ मा आईएलओलाई उधृत गर्दै एउटा समाचार छाप्यो “कोभिड १९ का कारण एशिया र प्यासेफिक क्षेत्रमा धेरैले रोजगारी गुमाउने छन् ।” यो भनेको नेपालीहरुको वाहुल्यता रहेको क्षेत्र हो ।

रोजगारदाता मुलुकहरु आर्थिक रुपमा धारासायी भए भने ति देशमा कार्यरत नेपाली श्रमिकहरुले त्यसको मार खेप्न पर्नेछ । जव देशको अर्थतन्त्रमा नकारात्मक असर पर्दछ त्यहाँका उद्योगहरुको उत्पादन स्वतः घट्नेछ । उत्पादन घट्न थालेपछि रोजगारदाता कम्पनीहरुले कर्मचारीहरुको संख्या घटाउने नीति अवलम्वन गर्नेछन् । वा अर्कोतर्फ कर्मचारीको पारिश्रमिक घटाउने नीति पनि अवलम्वन गर्ने सक्ने सम्भावना रहन्छ । जव कम्पनीहरुले पारिश्रमिक घटाउछन् त्यो वेला कामदारहरुले काम छोडर घर फर्कन सक्ने सम्भावना वढि रहन्छ ।

यो अवस्था आईपरेमा देशभित्र कै वेरोजगारी समस्या समाधान नभईरहेको अवस्थामा वैदेशिक रोजगारीवाट फर्केका ठूलो संख्याका युवाहरुका कारण वेरोजगारी समस्या अझ बढेर जाने निश्चित छ । यो अवस्थामा राज्यका सवै निकाय तथा सरोकारवालाहरुको भूमिका अत्यन्त प्रभावकारी हुन जरुरी रहन्छ ।

रोजगारीका लागि विदेश गएकाहरुको ठूलो संख्या १० वर्ष भन्दा बढि काम गरिसकेकाहरुको छ । त्यो समुह ढिलो चाँडो नेपाल फर्कने वेला भएको छ । निश्चित उद्देश्यका लागि विदेशिएका युवाहरु १० वर्ष भन्दा बढि बसेको तथ्याँक एकदमै न्यून छ । त्यो ठूलो जमातलाई व्यवस्थापन गर्न सोच्ने बेला भएकै समयमा आएको यो महामारीले अझ ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्कने सम्भावना छ ।

देशलाई चाहिने युवाहरु विदेशमा छन् भन्न पनि नछोड्ने तर विदेशिएकाहरुलाई दोश्रो दर्जाको रुपमा हेर्ने प्रवत्ति तथा मानसिकता पनि नरोक्ने अनी विदेशवाट फर्किएकाहरुलाई उचित व्यवस्थापन पनि गर्न नसक्ने हो भने सदैव वैदेशिक रोजगारीको मुख ताक्नु बाहेक केहि हुने छैन । त्यसैले यो महामारी पछिको समयलाई नेपालले मौकाको रुपमा लिन सक्दछ जसका लागि पहल, प्रयत्न सुरु गरिहाल्नु पर्दछ । यसमा राज्य र सरोकारवाला निकायहरुले पक्कै पनि महत्पूर्ण भूमिका निर्वाह गर्न सक्नेछन् । त्यसको प्रत्यक्ष लाभ राज्य र विदेशवाट पर्किएकाहरुले लिनेछन् । यसले समृद्द मुलुक बनाउने सपनालाई पनि पूरा गर्न सक्दछ । यसका लागि विभिन्न निकायहरुले आआफ्नो भूमिकालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु आवश्यक छ ।

दूतावासले खेल्नु पर्ने भूमिकाः
सम्वन्धित देशमा रहेका नेपाली नियोग वा तिनका कन्सुलरहरुले यो वेला अत्यन्तै कुटनीतिक भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । यदि नियोग रहेको देशमा आफ्ना नागरिकले जागिर गुमाउनु पर्ने अवस्था आएमा कुटनीतिक तवरवाट ति देशका सरकार वा सम्वन्धित रोजगारदाताहरुसँग समन्वय गरि आफ्ना नागरिकको जागिरको सुनिश्चितताका लागि काम गर्नुपर्ने हुन सक्दछ । विशेषगरी सिमित समयका लागि खाडि राष्ट्रमा रोजगारीमा गएका नेपालीहरुका लागि र ति देशमा कार्यरत राजदूतावासहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछन् ।

वैदेशिक रोजगार व्यवसायीको ईमान्दारिताः

वैदेशिक रोजगार व्यवसायीहरुले पनि अहिले गम्भिर भएर सोच्ने वेला आएको छ । कुनै कामदार करार अवधि नपुगि यहि महामारीको कारण कम्पनीे छोड्न वाध्य भएर वा कम्पनीले करार रद्द गरेर घर फर्काएको अवस्थामा निजले पाउने विमा वापतको रकम उपलव्ध गराउनका लागि समन्वयकारी भूमिका निर्वाह गर्नु पर्दछ । यसले वैदेशिक रोजगार व्यवसायीहरुलाई आइपर्न सक्ने अनावश्यक झण्झटबाट मुक्त हुनेछन् ।

अर्को भूमिका रोजगारदाताहरुसँग सम्पर्कमा रहि आफुले पठाएका कामदारहरुको सम्झौता वमोजिमको रोजगारीलाई निरन्तरता दिनका लागि पहलकदमी गर्न सक्नेछन् । यसमा रोजगार व्यवसायी कम्पनीहरुले व्यवसायिक ईमान्दारिता प्रस्तुत गर्ने बेला आएको छ ।

संघिय सरकारले के गर्ने ?

वैदेशिक रोजगारमा जान निरुत्साहित गरी स्वदेशमा नै काम गर्ने वातावरण तयार पार्नु र वैदेशिक रोजगारीमा गएकाहरुलाई देशको लागि भौतिक योगदान नगर्ने भनेर गाली गरिरहनुको सट्टा स्वदेश फर्केकाहरुलाई व्यवस्थापन गर्ने र उचित रोजगारको अवसर दिने कर्तव्य पनि संघिय सरकारको हो । यदि भयावह अवस्था नै सिर्जना भएर वैदेशिक रोजगारमा गएकाहरु नेपाल फर्कने अवस्था आयो भने संघिय सरकारका लागि चुनौती र मौका दुवै हुनेछ । कारण सरकारले ल्याएका विभिन्न मेगा परियोजनाहरु सुचारु गर्न र विदेशवाट फर्केका दक्ष जनशक्तिको परिचालन गर्ने यो उपयक्त अवसर नै हुनेछ । तर त्यसो गर्नका लागि विदेशवाट फर्केकाहरुका लागि कस्तो प्याकेज ल्याउने वा कसरी आकर्षण गर्ने भन्ने मुख्य कुरा हो । यसैगरी विदेशबाट फर्केकाहरु कुन सीपमा निपुण छन् भन्ने तथ्याङ्क निकाल्न पनि अति नै आवश्यक छ । यसका लागि सरकाले एउटा कार्यदल नै बनाएर काम गर्न सक्दछ ।

विदेशबाट फर्कनेहरुको विवरण लिनका लागि विमानस्थलमा अवतरण भएका वखत नै निजहरुको विवरण संकलन गरेर डाटावेश तयार पार्न सकिन्छ । त्यसरी तयार पारिएको डाटावेशमा सम्वन्धित व्यक्ति कुन सीप वा व्यवसायका लागि उपयुक्त छ भनेर लगत तयार पार्न सकिन्छ र आवश्यक परेका वेला ति दक्ष कामदारको सीपलाई राष्ट्र निर्माणको अभियानमा सरिक गराउन सक्ने अवस्था रहन्छ ।

मुलुरुपमा जसरी जनगणना गरिन्छ त्यसरी नै नागरिकको सीपको लगत तयार पार्न सकिन्छ र जव सीप वर्गिकरण गरि लगत तयार हुन्छ त्यो सीप सुहाउँदो उद्योगधन्दाको स्थापना, विकास र प्रवद्र्धन गर्न सकिन्छ । यसले राज्य र कामदार दुवैलाई प्रत्यक्ष फाईदा पुग्नेछ ।

प्रदेश सरकारले के सोच्ने ?

प्रदेश सरकारका आफ्नै योजनाहरु होलान् । निति तथा नियमहरु होलान् । विशेषगरी प्रदेशको भौतिक विकास, साँस्कृतिक र प्राकृतिक श्रोतको उपयोग गरी त्यसको प्रवद्र्धन, संरक्षण र उपयोग गर्नु प्रदेश सरकारको दायित्व हो । यसका लागि प्रदेश सरकारले पनि विभिन्न परियोजनाहरु अगाडी सारेर विदेशवाट फर्केका नागरिकहरुका लागि काम गर्ने र स्वदेशमा नै रोजगारीकोे अवस्था सिर्जना गर्ने चुनौती, जिम्मेवारी र मौका हुन सक्दछ । विशेषगरी कृषि, पर्यटन र उत्पादन गर्ने उद्योगहरुको स्थापना गर्र्नका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी छ । कामदारको क्षमता, दक्षता र अनुभवको आधारमा सरकार र निजी क्षेत्रको आपसी समझदारीमा सम्वन्धित उद्योगधन्दाको स्थापना र सञ्चालन गर्न सक्दछ ।

स्थानिय सरकार र स्थानिय श्रोत साधनः

स्थानिय सरकारलाई स्थानिय श्रोत र साधनको प्रयोग गरि माटो सुहाँउदो व्यवसाय उद्योगको विस्तार गर्न सक्ने उपयुक्त मौका हुनेछ । स्थानिय सरकारको मुख्य श्रोत तथा साधन भनेको स्थानिय मानव संशाधन र प्राकृतिक श्रोतहरु नै हुन । कतिपय अवस्थामा मानव संशाधनको आवश्यकताका कारण प्राकृतिक श्रोतहरु खेर गईरहेका छन् । यदि विदेशिएका युवाहरुको ठूलो जमात नेपाल फर्कियो भने स्थानिय सरकारले त्यसको भरपुर प्रयोग गर्न पाउनेछ । विकास निर्माणका काम देखि उद्योग सञ्चालन गर्ने दक्ष जनशक्ति आफ्नै पालिकामा प्राप्त गर्न सक्नेछ । यसवाट सरकार, व्यवसायी र नागरिक स्वयंलाई फाईदा हुनेछ ।

सरकारले स्थानिय क्षेत्रमा उद्योगहरुको विस्तार गर्न उपयुक्त निति अवलम्वन गरि राजस्व आम्दानी बढाउन सक्नेछ भने व्यवसायीहरुले स्थानिय जनशक्तिको परिचालन गरि उपयुक्त लाभ लिन सक्नेछन् । नागरिकले भने विदेशिएर परिवारवाट टाढा रहेर काम गर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ र आफ्नै गाउँघरमा परिवारसँग रहेर काम गर्ने मौका पाउनेछन् ।

गैैरआवासिय नेपालीको भूमिका

गैरआवासिय नेपाली संघे सदैव मुलुकमा लगानी गरेर समृद्ध देश निर्माण गर्ने नारालाई अग्रपंत्तिमा राख्दै आएको छ । लगानीले उपयुक्त प्रतिफल दिन दक्ष जनशक्ति पनि उत्तिकै आवश्यक पर्दछ भन्ने गैरआवासिय नेपाली र यसका अभियन्ताहरुलाई राम्रोसँग थाहा छ । त्यसैले समृद्द देश निर्माणका लागि यो महामारी पछिको समय मौकाको रुपमा उपयोग गर्ने उपयुक्त हुन सक्छ ।

गैरआवासिय नेपाली संघलाई यो थाहा छ कि कुन देशबाट फर्कने नागरिक कुन सीपमा निपूर्ण छ । अर्थात कुन देशमा कस्तो प्रकृतिको काम गर्ने युवाहरुको वाहुल्यता छ । त्यति मात्र होइन गैरआवासिय नेपाली संघसँग सहकार्य गर्दै आएका विभिन्न संस्थाको सम्पर्कमा रहेका सदस्यहरुको लगत निकाल्न समेत गैरआवासिय नेपालीलाई सहज छ । त्यसका साथै ति नागरिकको नेपालको ठेगानाको समेत आधारभूत जानकारी संकलन गर्न सक्ने हैसियत गैरआवासिय नेपाली संघसँग छ । यो एउटा सुनौलौ अवसरमा नेपाल सरकारसँग समन्वय गरि आवश्यक सहजिकरण गर्न सके गैरआवासिय नेपाली संघले अनुशरण गर्दै आएको नाराले पनि सार्थकता पाउनेछ ।

वैदेशिक रोजगारीमा रहेकाहरुले गर्ने तयारीः

नेपाली समाजमा परापूर्वदेखि नै चल्दै आएको भनाई छ “म त पाखुरी कै भरमा बाँच्छु ।” तर यो समय पाखुरीको भरमा मात्र होईन सीप, क्षमता र पुँजी लगानीलाई विवेकपूर्वक परिचालन गरे मात्र बाँच्न सक्ने समय हो । तसर्थ वैदेशिक रोजगारमा रहेका सवैले आफुले कमाएको पुँजी, सिकेको सीप र आफुमा भएको दक्षताको भरपुर र विवेकपूर्ण सदुपयोग गर्ने वेला आएको छ ।

कुनै कारण विदेशको रोजगारी गुमे नेपाल फर्केर के गर्ने भनेर तयारी गर्ने र सोच्ने बेला आएको छ । प्रत्येक नागरिकले आफु के कामका लागि योग्य छु र के गर्न सक्छु भनेर आफुलाई चिन्ने बेला आएको छ । तसर्थ यो महामारीको डरलाग्दो समयमा आफुलाई सुरक्षित गर्दै भोलीको योजना वनाउने बेला आएको छ । कुन कुन निकाय वा सरोकारवाला संस्थाहरुसँग के के समन्वय गर्ने वा परामर्श लिने भन्ने तयारी गर्ने समय हो ।

निष्कर्षमा राज्यका तिनै तहका सरकार, सरोकारवाला संस्थाहरुले अव तयारी गर्ने कि, जुन तयारीलाई देशले युग युगसम्म सम्झियोस् । जसरी आज चीन, जापान र दक्षिण कोरियाले कुनै वेलाका आफ्ना वैदेशिक रोजगारबाट फर्केका नागरिकलाई सम्झिन्छ र हामी पनि उदाहरण दिने गर्छाैं । अव हाम्रो पालो हुन सक्छ ।

सान्दर्भिक अन्य सामग्रीहरु पढ्नुहोस्

महामारी पछिको संकटः नेपालले गर्नुपर्ने तयारी (श्रृंखला २)

महामारी, आप्रवासी श्रमिक र गर्नुपर्ने काम (श्रृंखला १)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय