सरकार अर्थात अभिभावकसँग परदेशबाट अपेक्षा

 

दोलराज न्यौपाने

म करिव सात बर्षदेखी युएईको दुवई शहरमा कार्यरत छु । यो सुन्दर शहरमा यतिका बर्षदेखि काम गर्न पाउनुलाई म मेरो सौभाग्य ठान्दछु । करिव चार लाख नेपाली दाजूभाई दिदी बहिनीहरु यो देशमा ब्यापार, ब्यवसाय र बिभिन्न पेशा गरेर बसेका छन् जसले केहि कमाएर स्वदेशमा पठाईरहेका छन् । त्यसको बदलामा हामले के पाएका छौं, म त्यो विषयतिर भने जान चाहिन ।

विश्वलाई नै आतंकित पारिरहेको कोभिड १९ का कारण यहाँको सरकारले पनि अरु देशमा जस्तै जतिसक्दो यसको रोकथामका लागि सक्दो कोशिस गरिरहेको छ । अत्यावश्यक बाहेक अरु सेवाहरु ठप्प नै छन् । यसको प्रत्यक्ष असरमा हामी पनि परेका छौं ।

यो महामारीको चपेटामा स–साना ब्यापार गरेर बस्नेहरु जस्तै ट्राभल एजेन्सी, रेष्टुरेन्ट, मोबाईल पसल, सैलून, ब्युटी पार्लर, सुन चाँदी पसल, टेलर चलाएर बस्नेहरु सुरुवाती चरणमै पर्ने निश्चित छ । यहाँको बार्षिक पसलको भाडा, कामदारलाई भिसा, खाने बस्ने खर्च, इन्सुरेन्स, जहाजको भाडा आदि ईत्यादीको खर्च धान्न मुस्किल सुरु हुनेछ । यो समस्याबाट माथि उठ्न कति समय लाग्छ, अहिले नै भन्न सकिन्न ।

व्यवसायीका समस्या एकातिर छन् अर्कातर्फ भिजिट भिषामा युएई आएकाहरुको समस्या फरक छ । नेपाल सरकारले भिजिट भिषामा आएर काम गर्न अनुमति नदिंदा नदिंदै पनि धेरै युवायुवतीहरु कुनै न कुनै उपाय अपनाएर ठूलो संख्यामा युएई आएका छन् । मोटो रकम खर्च गरेर आएकाहरु या त काम नपाएर वा काम पाए पनि भिसा न लागेर अवैधानिक रुपमा नै बसेर काम गरिरहेका भेटिन्छन् । उनीहरुको समस्या चर्को छ । एकातिर कोठाभाडा, खाना खर्च देखि अन्य खर्च पुर्याउन उनीहरुलाई सकस पर्न थालिसकेको छ ।

कोभिड १९ को महामारी सुरु हुनु ठिक अगाडी भिसा क्यान्सिल गरेर आफ्नो देश फर्किन टिकट काटेर बसेकाहरुको समस्या पनि कम छैन । खाने पैसा छैन, जागिर छैन । दुईचार दिनको समस्या भएन । गरौ कसो गरौ,ं नगरौं कसो नगरौंको अवस्थामा छन् उनीहरु । यसरी विलखवन्दमा परेका ति नेपाली नागरिकलाई स्वदेश फर्काउने विषयमा नेपाल सरकारको हालसम्म खास चासो देखिएको छैन । यस विषयमा राजदुतावासले पनि कुनै प्रशंसायोग्य काम गरेको अनुभव गर्न पाइएको छैन । भिसा भएका तर काम बन्द भएर अन्यौलमा बसिरहेकाहरुको संख्या सानो छैन । कुनै कम्पनीले आधा तलव दिने, कुनैले खान बस्न मात्र दिने भन्ने सुन्नमा आएपछि अझ त्यो अन्यौल बढेको छ ।

एकातर्फ कोभिड १९ विरुद्दको खोप विकासमा संसारभरीका वैज्ञानिक जुटेका छन् भनें अर्कोतर्फ मलेरिया लगायतमा प्रयोग गर्ने गरिएको औषधि यस भाइरसका संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको समाचार सार्वजनिक हुन थालेका छन् । यसले केहि आशाको सञ्चार गराएको छ । त्यसैले केहि समयभित्रमा कोभिडको कहर त केहि कम होला तर त्यसले सिर्जना गर्ने समस्या गम्भीर हुनेछ । अन्य समस्याहरुसँग जुझ्दै जान सकिएला तर अहिलेको प्राथमिक आवश्यकता भनेको विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउनु र उनीहरुको उपयुक्त व्यवस्थापन हो । यसका लागि दूतावासहरु मार्फत नेपाल सरकारले अविलम्व काम सुरु गरिहाल्नु पर्दछ । यो नै एउटा असल अभिभावकको कर्तव्य हो । आशा छ, नेपाल सरकारले आफ्नो त्यो कर्तव्य छिट्टै पूरा गर्नेछ । (स्याङ्जाका न्यौपाने हाल युएईमा कार्यरत छन्)

यो पनि पढ्नुहोस् महामारी पछिको संकटः नेपालले गर्नुपर्ने तयारी

यो पनि रुचिकर हुन सक्दछः परिवार र रोजगारीको चिन्ता अनी भिजिट भिषामा आएकाहरुको संकट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय