परिवार र रोजगारीको चिन्ता अनी भिजिट भिषामा आएकाहरुको संकट

राजा बगर, दुबई
यतिबेला विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीले ठूलो चुनौती सिर्जना गरेको छ । यी पंक्ति लेखिरहँदा यहि भाइरसको संक्रमणका कारण विश्वभर लगभग ९० हजारले ज्यान गुमाई सकेका छन् र संक्रमित हुनेहरुको संख्या १५ लाख नाघिसकेको छ । यति हुँदा पनि यस भाइरस विरुद्दको कुनै खोपको विकास हुन सकेको छैन, औषधि अझ परको विषय हो । यद्यपी खोपको विकास र भाइरस विरुद्द लड्न सक्ने औषधिको पहिचानमा विश्वभरीका वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । आशा गरौं, यसमा वैज्ञानिकहरुले चाँडै सफलता प्राप्त गर्नेछन् ।
खाडि मुलुकहरु मध्येमा संयुक्त अरव ईमिरेट्स (युएई) रोजगारीको आकर्षणका हिसावले उत्तम मध्येको एक मुलुक हो । पछिल्ला बर्षहरुमा नेपालीको पनि उपस्थीति यस मुलुकमा बढ्दो छ । विभिन्न समयमा यस मुलुकमा रोजगारीका लागि आएका नेपाली अहिले कोभिड १९ का कारण स्वभाविक रुपमा अन्य आप्रवासी श्रमिक झैं समस्यामा छन् ।

खेम प्रसाद चापागाईं र भोजराज ढुँगानाको भोगाई
युएईको ग्रुप अफ अलसराबी कम्पनीमा विगत १५ बर्ष देखि काम गर्दै आएका छन् भक्तपुरका खेम प्रसाद चापागाईंं र भोजराज ढुँगाना । यो महामारीको समयमा दुवैको समस्या एउटै छ, कम्पनीले २५ प्रतिशत तलव कटौती गर्ने भएको छ । आफूहरु जस्तै युएईका हजारौं कम्पनीमा काम गर्ने लाखौं श्रमिकहरुलाई कोभिड १९ को मार परेको उनीहरु बताउँछन् । कोभिड १९ को संक्रमण अन्त्य हुने कुनै छाँट नदेखिइरहेको अवस्थामा रोजगारदाताले बेतलवी विदामा घर जानु भन्ने सुचना दिइसकेका कारण अझ अन्यौल थपिएको छ उनीहरुलाई । “के कसो गर्ने दोधारामा छौ” चापागाईंले भने अवस्था असहज छ, खानाको टुङ्गो छैन, बाहिर जानू पर्छ, बाहिर जाँदा कतै रोग लिएर आइन्छ कि भन्ने पिर ।

मिना खड्का (पोखरा)
म मिना खड्का । घर पोखरा । पाँच बर्षदेखि युएईमा घरेलु काममा छु । यहाँ अरुका बच्चालाई माया गरेर खेलाउँदा आउने आफ्नो बच्चाको सम्झनाको कुरै नगरौ । अझै यो कोरोनाको महामारीको समयमा काम यहाँ गरे पनि मन त नेपालमै छ । कति बेला नेपाल जाउँ र आफ्नो परिवारसँग बसौं जस्तो लाग्छ ।

राम प्रसाद भट्टराई (पाल्पा)
म २००४ मा युएई आएको हुँ । अहिलेको जस्तो संकट कहिल्यै परेको थिएन । कोभिड १९ ले विश्वलाई आर्थिक संकटमा डुबाउँदा धेरैको रोजिरोटी गुम्ने छ । म पनि केहि दिन काम छोडेर कोठामा नै बसिरहेको छु । यो महामारी सकिंदासम्ममा आफ्नो जागिर रहने हो वा जाने हो कुनै टुँगो छैन । अहिले त जागिरको चिन्ता भन्दा पनि कोठाको बसाईले मानसिक तनाव बढाएको छ । सामाजिक सञ्जालका कारण घर परिवारसँग चौबीसै घण्टा नजिक हुन पाइएका कारण केहि राहत भने मिलेको छ ।

राजेन्द्र अधिकारी (पर्वत)
विगत १२ बर्ष देखि युएईमा कार्यरत पर्वत समाजका पूर्वअध्यक्ष राजेन्द्र अधिकारी भिजिट भिषामा युएई आएका नेपालीको उद्दारमा सरकारले ध्यान दिनुपर्ने बताउँछन् । नेपाल सरकारले यसको पहल छिट्टै नगरेमा त्यसरी भिजिट भिषामा युएई आएकाहरुलाई खानेबस्ने समस्या पर्ने उनको अनुमान छ । उनी महामारीको संकट आउँदो दिनमा धेरै देखिने अनुमान गर्दै धेरै श्रमिकको रोजगारी गुम्ने चिन्ता प्रकट गर्दछन् ।

ईश्वरी न्यौपाने (स्याङजा)
स्याङ्जा घर भएका ईश्वरी न्यौपाने विगत आठ बर्ष देखि घरेलुमा कार्यरत छन् । उनी सवारी चालकको रुपमा काम गर्दछन् । कोभिड १९ को महामारीले हालसम्म भनें उनको रोजगारीमा समस्या पारेको छैन । तर आगामी दिनमा के हुने हो भन्ने ठेगान नभएका कारण आफ्नो युएई बसाई पनि दोधारमा रहेको उनको भनाई छ । यस्तो समयमा परिवारबाट टाढा हुँदा पनि अलिक बढी चिन्ता हुने रहेछ भन्ने उनले अनुभव गरेका छन् ।

वेद प्रसाद अर्याल (महासचिव, नेपाली समाज, युएई)
नेपाली समाज युएईका महासचिव बेद प्रसाद अर्यालका अनुसार कोभिड १९ का कारण धेरै कम्पनीहरुको काम ठप्प भएका कारण कतिपय नेपाली नचाहँदा नचाहँदै पनि विना तलव कोठामा बस्न बाध्य भएका छन् । कतिपयले भनें सरकारले नेपाल फर्किन पाउने व्यवस्था गरे स्वदेश फर्किन चाहेको उनी बताउँछन् । अर्यालले पनि भिजिट भिषामा आएकाहरु बढी समस्यामा परेको भन्दै उनीहरुका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

युएई सरकारले आफ्नो मुलुकमा रहेका हरेक देशका नागरिकलाई आफ्नै नागरिक सरह ब्यवस्थापन र व्यवहार गर्ने प्रतिवद्दता जनाइरहेको छ । यो अन्तराष्ट्रिय नियम पनि हो । अर्कातर्फ यहाँको स्वास्थ्य व्यवस्था बलियो रहेका कारण धेरै चिन्ता गर्नुपर्ने विषय होइन । कोभिड १९ को महामारी पनि एउटा निश्चित समय पश्चात सकिनेछ । संकटको समयमा आफ्नो परिवार सँगै बस्ने चाहना स्वभाविक हो र रोजगारीका सन्दर्भमा भविष्यको चिन्ता हुन्छ नै । तर पनि यो संकटको समयमा जो जहाँ छ, त्यहिं सकेसम्म सुरक्षित भएर बस्नु पर्दछ ।

यो पनि पढ्नुहोस् महामारी पछिको संकटः नेपालले गर्नुपर्ने तयारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय