
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले दक्षिण कोरियालाई त्यहाँको पेन्सन प्रणालीमा नेपाली श्रमिकलाई पनि जोड्न आग्रह गरेका छन् । उनले कोरियालाई नेपालीक लागि कोटा बढाईदिन समेत आग्रह गरे । त्यसो गरेमा ईपिएसको भाषा परीक्षा उत्तिर्ण गरेकाहरुले लामो समयसम्म प्रतिक्षा गर्नु नपर्ने मन्त्री यादवले बताए ।
नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङसिकसँगको भेटका क्रममा मन्त्री यादवले ईपिएस भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थीत बनाउन नेपाल सरकार प्रतिवद्द रहेको समेत बताएको मन्त्रालयले जनाएको छ ।
भेटमा कोरियाली राजदूतले नेपाली श्रमिकको आत्महत्याको विषयमा चिन्ता व्यक्त गर्दै त्यसको व्यवस्थापनका लागि कोरियाली सरकारले आवश्यक काम गर्ने बताए । उनले कोरियामा नेपाली श्रमिकलाई राम्रो पारिश्रमिक रहेको भन्दै श्रमिकको परिवारसँगको सम्पर्कलाई थप सहज गर्न सकिने जानकारी गराए ।