बन्द भएको कम्पनीले नेपाली श्रमिकलाई तिर्ने भयो झण्डै ८५ लाख

झण्डै अढाई बर्ष अगाडी बन्द भएको कतारको एक कम्पनीले सो कम्पनीमा काम गरेर पनि रकम नपाई फर्केका ३४ जना नेपाली श्रमिकलाई झण्डै ८५ लाख रुपैंयाँ तिर्ने भएको छ । कतारको मर्करी मेना ईलेक्ट्रोमेकानिकल कम्पनीमा काम गरेको रकम नपाएका उनीहरुलाई तिर्न बाँकी २ लाख ७५ हजार रियाल (झण्डै ८५ लाख) तिर्ने निर्णय भएको हो । सो कम्पनी सन् २०१७ मा नै बन्द भइसके पनि कतार सरकारको पहलमा रकम प्राप्त हुने भएको हो ।

सो कम्पनीमा काम गर्ने नेपालीले ३ देखि ६ महिनासम्मका तलव, सुविधा पाउन बाँकी थियो । उनीहरु नेपाल फर्किसकेका छन् । वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट विभिन्न मितिमा सो कम्पनीमा काम गर्न गएका ति नेपालीले सेवा शर्त बमोजिमको रकम नपाएको भन्दै कतार स्थित नेपाली दूतावास तथा नेपाल स्थित वैदेशिक रोजगार विभागमा उजुरी हालेका थिए । उनीहरुले बाँकी रकम दिलाईदिन भन्दै एम्नेष्टि ईण्टरनेशलनमा पनि उजुरी गरेका थिए ।

“सुरुमा झण्डै एक डेढ बर्ष राम्रैसँग तलव दिएपनि त्यसपछि झण्डै ७ ८ महिनाको तलव नपाई फर्किन बाध्य पारिएको थियो” पीडित ३४ जना मध्येका एक रविन्द्र केवटले देशपरदेशसँगको कुराकानीका क्रममा भने “हामीले दूतावास, कतारको मानवअधिकार आयोग लगायतमा उजुरी हालेर रकम पाउने प्रयास गर्दा पनि खाली हात नै फर्किनु परेको हो ।” उनले आफूले ७ हजार २ सय रियाल (झण्डै सवा दुई लाख रुपैंया) पाउन बाँकी रहेको भन्दै सो रकम प्राप्त भए आफ्नो ऋण तिर्न सक्ने बताए ।

विभागले ताकेता गर्दा सो कम्पनी सन् २०१७ जुलाईमा नै बन्द भइसकेको तथा सन् २०१८ मा नविकरण समेत नभएको जानकारी कतारको सरकारी निकायले गराएको थियो । तर नेपाली दूतावाससँगको नियमित सम्वादबाट पीडित नेपालीलाई क्षतिपूर्ति दिलाउन सफलता मिलेको विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले जानकारी दिए ।

कतार स्थित नेपाली दूतावासले कतारको मानव संशाधन, श्रम तथा सामाजिक मामिला मन्त्रालयको श्रम मामिला हेर्ने प्रमुख मोहम्मद हसन अल अविद्लीसँग कतारका लागि नेपाली राजदूत डा. नारद नाथ भारद्धाजले छलफल गरी सो रकम भुक्तानी गर्ने निर्णय भएको दूतावासले गत माघ १० गते जानकारी दिएको छ । सो रकम वैदेशिक रोजगार विभागको समन्वय र सहजिकरणमा नेपाल स्थित कतारी राजदूतावास मार्फत भुक्तानी गर्ने सहमति भएको विभागले जनाएको छ ।

देशपरदेशसँगको कुराकानीका क्रममा पीडित केवटले आफूले दुई पटक काठमाडौं धाउँदा पनि रकम पाउने विषयमा कुनै प्रगति नभएपछि आफूले आश मारिसकेको बताए । उनी प्याराडाइज मेनपावर कम्पनीको बुटवल स्थित कार्यालयमा ८५ हजार बुझाएर ईलेक्ट्रिसियनको भिषामा कतार गएका थिए । पहिले पनि कतारमा प्लाम्विङको काम गरेर फर्केका केवटलाई कम्पनीले त्यहाँ पुगेपछि प्लम्विङकै काम लगाएको थियो ।

विभागका अनुसार सो कम्पनीमा नेपालका अल एशिया ईण्टरनेशनल, रकी ईण्टरनेशनल, प्याराडाईज ईण्टरनेशनल, वल्र्ड भिजन ईण्टरनेशनल मेनपावर सर्भिस तथा स्काईवे व्यूरो सर्भिसले ति श्रमिक पठाएका थिए ।

यो पनि पढ्नुहोस् दूतावासको विज्ञप्तीः आफ्नै कद अझ घटाउने काम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय