दूतावासको विज्ञप्तीः आफ्नै कद अझ घटाउने काम

मेरो नाम निश्चल दाहाल हो । मेरो घर झापा बनियानी । विगत १० बर्ष देखि युएईमा छु । शुरुमा बैदेशिक रोजगारीको लागि आएँ । अहिले आफ्नै ब्यवसाय गरेर बसेको छु ।

युएईको बसाइमा मेरो कामको अलावा बचेँको थोरै समय सामाजिक क्षेत्रमा खर्चने गरेको छु । यसैक्रममा म एनआरएनए युएईको २०१५ २०१७ को कार्यकालको युवा संयोजक हुँदै हाल महासचिवको भूमिकामा छु । यसक्रममा भ्याएसम्म धेरैजनालाई सहयोगको मल्हमपट्टी लगाउने प्रयास गरेको पनि छु । आफ्नै खल्तीको खर्च गरेर, चन्दा दिएर वा मनकारी साथीभाइहरुसँग चन्दा मागेर भए पनि धेरैको उद्दारमा सहयोग गरेको छु, किनभने म समाजसेवामा छु । सबै आफ्नै खल्तीको खर्च गरेर समाजसेवा गर्न सम्भव हुन्न पनि । यसैमा गर्व गर्छु । कसैलाई सहयोग गर्न पाउँदा खुशी हुन्छु ।

देशमा ठूलो राजनीतिक परिवर्तन भए । पञ्चायत र ज्ञानेन्द्रको निरंकुश राज्यसत्तालाई फालेर हामीले गणतन्त्र ल्यायौं । यसोे हुनु भनेको सत्ता सञ्चालनमा जनताको राज चल्नु नै हो । जनताले जनतालाई शासन गर्न पाउनु हो, शासक जन्माउनु होइन । जनताले मेरो सरकार भनेर गर्व गर्न पाउनु हो । जनताको लागि सरकार बनिनु हो ।

हामीलाई थाहा छ, सत्ता सञ्चालनमा २ थरी सरकार हुन्छन् । स्थाई सरकार र अस्थाई सरकार । स्थाई सरकार कर्मचारीतन्त्र हो जुन अस्थाई सरकारको नियन्त्रणमा र निर्देशनमा चल्छ । अस्थाई सरकार भनेको चाहिं जनताले भोट हालेर चुन्ने सरकार हो जसको म्याद ५ बर्षको हुन्छ । हाम्रो अस्थाई सरकारका नेता, प्रमुख वा प्रधानमन्त्री केपी ओली हुनुहुन्छ । जनताले नेकपालाई बहुमत दिएर जिताए पछि उहाँ प्रधानमन्त्री हुनु भएको हो । उहाँ हामी जनताको लागि र देशको लागि सरकार प्रमुख हुनुहुन्छ ।

स्थाई सरकार (कर्मचारीतन्त्र) ले सुनेन भने हामी हाम्रो सरकारलाई झक्झक्याउँछौ । त्यो हामी जनताको अधिकार हो । त्यसमा पनि हामी निःशुल्क (समय र पैसा आफ्नै खर्च गरेर) सेवा गर्नेहरुले भनेको स्थाई सरकारले सुनेन भने, आलटाल गर्यो भने र काम गरेन भने नेपाल सरकारले गुनासो गर्ने ठाउँ दिएको छ ’हेलो सरकार’ । ट्वीट मार्फत गुनासो राख्न सकिन्छ । हो, मैले पनि यसपाली यस्तै गरें । किनकी राज्यको एउटा निकाय साउदी अरब स्थित नेपाली दुतावासले जनताको कुरा सुनेन । आलटाल गर्यो । झर्कीफर्की गर्यो । सही सुचना दिएन । अनि काम पनि गरेन ।

एउटा अन्तराष्ट्रिय सञ्जाल भएको संस्था एनआरएन युएईको महासचिवले भनेको, गरेको एउटा सानो अनुरोधलाई त साउदी अरब स्थित नेपाली दुतावास धोती लागाउने प्रयत्न गर्छ भने आम सर्वसाधारणले सो दुताबासबाट के सुविधा पाउलान सजिलै अनुमान लगाउन सकिन्छ । मेरो बुझाईमा शायदै पनि खाडीमा रहेका दुताबास मध्ये सबैभन्दा निकम्मा, अल्छी, धेरै उजुरी र गुनासो बोकेको र भ्रष्ट दुताबास त्यही हो । त्यही भएर लेखा समितिमा समेत उजुरी परेको छ ।

यो पनि रुचिकर हुनसक्छ को भाईरल, कस्ता भाईरल ? : मेघराज सापकोटा

अब म मेरो बिषयबस्तु तिर फर्कन्छु ।

गत जनवरी ३ तारिक मैले फेसबुक मेसेन्जरमा विगत १० बर्ष देखि हराउनु भएको एक महिला भेटेको र निज महिला झापा बनियानिको भन्ने सुने । म एनआरएनए युएईको महासचिव भएको र बनियानिको पनि भएकोले वहाँलाई घर फर्काउन सहायताको लागि चिनेजानेकाहरुले म्यासेज मार्फत अनुरोध गर्नुभयो । ती दिदी किन १० बर्ष देखि हराउनु भयो त्यो उहाँको आफ्नै समस्या वा कारण होलान् तर भेटिएको मान्छेलाई उद्दार गर्नु, सहयोग गर्नु र नेपालसम्म पुर्याउनु हाम्रो पहिलो प्राथमिकता भित्र पर्नु पर्दछ भन्ने लाग्दछ ।

मैले साउदीमा रहनु भएको अभियन्ता दाइ राजु शैयदसँग कुरा गरें । उहाँले श्रम सहचारी अम्बिका अधिकारीको नाम र नम्बर दिनुभयो । साथै उहाँले पनि अम्बिका अधिकारीसँग कुरा गरेको सुनाउनु भयो ।

मैले अम्बिका जीलाई मेरो परिचय दिदै फोन गरें । उहाँबाट नै थाहा भयो कि ति महिला काम गर्ने घरको मालिक आफैले उनलाई दुताबासमा ल्याएको रहेछ । अनि सेवा सुविधा, तलव बापतको रकम दुताबासमै छोडेको रहेछ । साथै ती महिला पहिले आउँदा अर्कै ब्यक्तिको नामको पासपोर्टबाट आएकोले उनी नेपाली हुन् वा हैनन छुट्याउन गार्हो भएको वास्तविकता पनि उहाँले बताउनु भयो ।

त्यस पश्चात् म अम्बिका जीसँग व्हाट्स अपमा नियमित सम्पर्कमा थिएँ । मैले लगत्तै नेपालबाट ती महिलाको नाता प्रमाणीकरण अनि नागरिकताको विवरण मगाएर अम्बिका जीलाई पठाएँ ताकि उनलाई नेपाली नागरिक भएको पुष्टि गरी ट्राभल्स डकुमेन्ट जारी गर्न सकियोस ।

बुधवारको कुरा हो, उहाँले केही दिन पछि (आइतबार) बुझ्न भन्नुभयो । यही बिचमा मलाई ती दिदीलाई मालिकले अर्को घरमा सारेको भन्ने फोन आयो । तर मैले दुतावासले काम गर्दैछ भनेर केही धैर्य गर्न भने । ५ दिन पछि मैले ति दिदीको नयाँ मोबाइल नम्बर र मालिकले दुतावासबाट ट्राभल्स डकुमेन्ट व्हाट्स अप मार्फत पठाइ दिएँ दिदीलाई टिकट काटेर नेपाल पठाउने भनेको छ भन्ने खबर अम्बिका जीलाई पठाएँ । मलाई दिदीले जे–जे भन्नु भयो मैले त्यही खबर अम्बिका जीलाई दिन्थेँ ।

दिदीको नयाँ मोबाइल नम्बर पठाएको पर्सिपल्ट फेरी फलोअप गर्न फोन गर्दा अम्बिका जी मसँग झर्कनु भयो । मैले एनआरएनए मध्यपूर्व उप–संयोजक राजेन्द्र अर्यालसँग पनि कुरा गरें । पछि अम्बिका जीले यो केस तारा म्यामले हेर्दै हुनुहुन्छ भन्नुभयो । राजु दाइ मार्फत फेरी तारा जीको नम्बर लिएँ ।

मैले दुतावासलाई एक इमेल पठाएँ । तर सुनुवाइ भएन । कुनै जवाफ आएन । अम्बिका जीलाई करिब १० वटा म्यासेज पठाएँ होला । उत्तर आएन । बरु ढुङो बोल्ला तर अम्बिका जीको म्यासेज बोलेन । वट्स अपको मेरो म्यासेज हेर्दा पनि नहेर्ने ।

कहिले के कहिले के, के भएको छ, के हुँदै छ केही अपडेट नगर्ने दुताबासको रवैया माथि मलाई दुःख लागिसकेको थियो । जनताको काम गर्न जनताले तिरेको करको तलव खाएर दुतावासमा बसेका कर्मचारी जनताका नोकर हुन् । त्यसैले उनीहरुलाई सिभिल सर्भेन्ट भनिएको हो । उनीहरु राजा हैनन । हाम्रा शासक हैनन् । यो कुरा आम कर्मचारी वर्गले बुझ्न जरुरी छ । तर साउदी दुतावासका कर्मचारीको यो रबैया कदापी जनताको नोकरको जस्तो थिएन ।

मसँग अर्को उपाय के थियो त ? यो बिचमा ३ हप्ता समय बित्न लागिसकेको थियो । १० बर्ष देखि हराएकी दिदीलाई नेपाल पठाउन आतुर म, दिदीका परिवार, आफन्त नातागोता सबै दिक्क बनिसकेका थिए । दिदी नेपाल जान नपाएर मात्र पनि हैन, दुतावासले प्रकृया कहाँ पुग्यो भनेर भन्दा पनि नभन्ने, जानकारी नै नदिने । अलमल्ल परियो ।

अनि मैले हेल्लो सरकारमा उजुरी गरें । हेल्लो सरकार त हाम्रो लागि हो नि । गुनासो गर्न हो । मैले हेल्लो सरकारमा गुनासो गरेर के बिराएँ ?
पछि तारा जीसँग कुरा हुँदा उहाँले हेल्लो सरकारमा उजुरी गर्ने तपाईं हो भनेर सोध्नु भो । मैले हो भने । मैले अम्बिका जीलाई पठाएका प्रमाणहरु अहिलेसम्म पनि तारा जीले नपाएको पनि बताउनु भयो । म आश्चर्यचकित भएँ । अम्बिका जीले जसको नाम दिनु भएको थियो ’तारा म्याम’ भनेर उहाँलाई त जानकारी नै पो रहेनछ ।

यस्तो संवेदनशील कुरा किन थाहा नदिएको ? ती प्रमाणहरु अम्बिका जीले किन लुकाएको ? दुतावासले चासो दिएको रहेछ त ती महिलालाई घर पठाउन ? मलाई बडो दुःख लाग्यो । मैले त्यो उजुरी गर्ने म नै हो भनेर तारा जीलाई भने र काम के हुँदै छ भनेर सोधें । केही अपडेट त दिनु भयो । पैसा पनि भएको र प्रमाण पनि भएको यो अवस्थामा आज लगभग महिना दिन बित्दासम्म काम भएको छैन ।

दुतावासले आफ्नो पेजमा मैले हेल्लो सरकार मार्फत गरेको उजुरीलाई काउन्टर गर्दै चेतावनी शैलीमा विज्ञप्ति निकालेछ । त्यही बिज्ञप्तिलाई लिएर केही अनलाइन पोर्टलमा समाचार पनि निस्केछ, दुतावासका कर्मचारीहरु यसलाई समाचार बनाइदिन अनलाइनका पत्रकार खोज्दै हिंड्न थालेछन् । ठिकै छ । खण्डन गर्न त दुतावासले पायो । तर धम्कीपूर्ण भाषा चाहिं प्रयोग नगरेको भए हुन्थ्यो ।

सरकारका निकायले सुनेन भने जनताले गुनासो गर्न पाउँछन् । गुनासो गर्नु हामी जनताको प्रजातान्त्रिक अधिकार हो भन्ने सामान्य कुरा अर्थशास्त्रमा पिएचडी गरेका, विश्वबिद्यालयका प्रोफेसर भईसकेका जीवनको लामो समय नेपाली लोकतन्त्रको आन्दोलनलाई देखेका राजदुत महामहिम महेन्द्र प्रसाद सिंहलाई जानकारी नहुनु लज्जास्पद छ । उहाँबाट यस्तो कार्य नहुनु पर्ने थियो ।

आजको मितिसम्म ति दिदीको उद्दार भएको छैन, नेपाल पठाउन सकिएको छैन । केही जानकारी अपडेट पनि छैन । हिजो मात्र तारा जीलाई सोधें ह्वाट्स अप मार्फत । उत्तर छैन । अनि तारम्तार फेसबुकमा बिज्ञप्ति मात्र आउँछ, समाचार मात्र आउँछ, हेल्लो सरकारमा भएको उजुरीको बारेमा । मानौ दुतावासको काम यही खण्डन गर्ने मात्र हो । अरु काम गर्नु परेन ।

मैले ती महिला पहिला नेपाल पुगुन, अनि म आफैं पनि नेपाल जाँदैछु, बरु जिप्रका लगायत स्थानिय निकायमा समन्वय गरेर उहाँको बैंक खाता खोलेर बिस्तारै पैसा पठाउँला अहिले मान्छे चाहिं पठाउन पनि भनेको छु । मान्छे पठाउन ढिला सुस्ती नहोस ।

तर हुँदै नभएको आर्थिक कुरा पनि जोडेर गलत अर्थ दिने विज्ञप्ति निकालेर भ्रम छर्ने तुच्छ काम दुतावासले गरेकोमा मेरो आपत्ति छ । यस्ता भ्रमात्मक कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नु भन्दा उनैलाई उद्दार गरेर नेपाल पठाएको समाचार आउँदा दुतावासको ईज्जत बढ्ने थिएन र ? उनका घर परिवार, आफन्त नातागोताले आशिर्वाद दिने थिएनन् र ?

काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर, किन ?

यो पनि पढ्नुहोस् जव दूतावास विरुद्द हेल्लो सरकारमा उजुरी पर्यो

यस्तो थियो दूतावासले निकालेको विज्ञप्तीको विवरण

एक जना नेपाली महिला उद्धारका सम्बन्धमा हेलो सरकारमा
परेको गुनासो सम्बन्धमा राजदूतावासको प्रस्टोक्ति
—————————

साउदी अरबमा विगत नौ वर्षदेखि घरेलु कामदारका रुपमा कार्यरत नेपाली महिला (फोटो परिवर्तन गरिएको राहदानी मार्फत् साउदी प्रवेश गर्नुभएकी) को उद्धारमा नेपाली राजदूतावासले ढीला सुस्ती गरेको भनेर ट्वीटरमा निश्चल दहाल नाम भएका व्यक्तिले नेपाल सरकारको हेलो सरकारमा दिनुभएको उजुरी सम्बन्धमा निम्न बुँदामा प्रष्ट पार्दैं जनताका समस्या समाधानमा प्रभावकारी माध्यम रहेको हेलो सरकारमा तथ्यहीन उजुरी नगरीदिन राजदूतावास अनुरोध गर्न चाहन्छ ।
१. उजुरीमा उल्लेखित नेपाली महिला कुनै ‘समाजिक अभियन्ता’को प्रयासले राजदूतावासमा आउनु भएको होइन । राहदानी नवीकरण गर्ने उद्देश्यले वहाँको कफिल (स्पोन्सर/मालिक) ले नेपाली राजदूतावासमा लिई आएका बखत राहदानीको फारम भराउनुपूर्व उपलब्ध कागजातमा शंका भई विविध विषयमा सोधपुछ गर्ने क्रममा नियोगले वहाँको वास्तविक अवस्थाको जानकारी लिएको र अभिलेख गरेको हो ।
२. वहाँलाई एजेन्टले फोटो परिवर्तन गरेको राहदानी दिई गलत बाटोबाट साउदी पठाइएको रहेछ । राहदानीमा उल्लेखित नामको बिषयमा पनि वहाँलाई जानकारी थिएन । आफ्नो घर ठेगाना,परिवारका सदस्य लगायतका विषयमा समेत राम्ररी बताउन नसक्ने विस्मृतिको अवस्थामा हुनुहुन्थ्यो।राजदूतावासका कर्मचारीले विभिन्न माध्यमबाट वहाँको वास्तविक नाम, घर ठेगाना र परिवारको सम्पर्क पत्ता लगाएर परिवारसंग सम्पर्क गराएको थियो । परिवारका सदस्य समेत दूतावाससंग नियमित सम्पर्कमा हुनुहुन्छ ।
३. विगत नौ वर्ष देखिको पारिश्रमिक समेत कफिल (स्पोन्सर) संगै रहेको, आफूले नलिनु भएको र आफन्तलाई पठाउन पनि सक्नु भएको रहेनछ । सो सम्बन्धमा वहाँको कफिल (स्पोन्सर) सँगको लामो संवादपछि पारिश्रमिक दूतावासमा जम्मा गर्ने सहमति भए अनुसार वहाँको पारिश्रमिक नियोगको खातामा जम्मा भइसकेको छ ।
४. फोटो परिवर्तन गरी आएको कारण राजदूतावासले नेपाली महिलालाई राहदानीको सट्टा एकतर्फी यात्रा अनुमति पत्र जारी गरी स्वदेश फिर्ता हुने तयारी गरिसकेको छ र स्पोन्सरसंग बहिर्गमन भिषा जारी गराई नेपाल पठाउन सहमती र प्रकृया पनि चालु भइसकेको छ । यस विषयमा नियोग स्पोन्सरसंग पनि संवादमा नै छ ।
५. महिला स्वदेश फर्केपछि आफ्नो नाममा बैङ्क खाता खोलेर उक्त रकम वहाँकै बैंक खातामा पठाउने गरी कागज गरी कागजको एक प्रति वहाँ र मालिकलाई समेत दिइएको छ ।
६. नेपाल सरकारको खातामा रकम जम्मा भएको र नियोगले परिवारसंग सम्पर्क गराएको भोलिपल्टबाट उहाँका चिनेजानेका आफन्त र समाजसेवी ‘अभियन्ता’ धेरै जनाबाट वहाँको विषयमा राजदूतावासमा फोन आउन थालेको हो ।
७. वहाँको सुरक्षित स्वदेश फिर्तीमा भन्दा पनि उहाँको लामो समयमा आर्जेको पारिश्रमिक पैसा सुरक्षित नेपाल फर्काउन धेरैजनाको जोड रह्यो ।
८. पीडित महिला र वहाँको रकम सुरक्षित स्वदेश फर्काउन राजदूतावासले विधिवत् काम गरिरहेको ‘सामाजिक अभियन्ता’ लगायत उहाँका बारेमा चिन्ता गर्ने सबैमा राजदूतावास जानकारी गराँउदछ । विषयवस्तुको बारेमा बुझ्दै नबुझी उजुरी नगर्न समेत उजुरीकर्तालाई राजदूतावास अनुरोध गर्दछ ।
———————-
नेपाली राजदूतावास, रियाद
२०७६/१०/६

 

१७ माघ २०७६, शुक्रबार