को भाईरल, कस्ता भाईरल ?

चितवनका सुरेश भण्डारी (नाम परिवर्तन) वैदेशिक रोजगारीको लागि यूएई आएको १० बर्ष भयो । उनी सामान्य लेवर भिसामा काम गर्न आएका थिए । हाल उनी अफिसमा डकुमेन्ट कन्ट्रोलर बनेका छन् । बिहान ९ बजे अफिस पुग्छन् र बेलुकी ६ बजेसम्म अफिसमै ब्यस्त हुन्छन् ।
दुवईमा कार्यरत झापाका विनोद कम्पनीका सेल्सम्यान हुन् । उनी कम्पनीको गाडीमा विहान ७ बजे देखी बेलुकी ६ बजेसम्म विभिन्न सामान बेच्दै हिंड्छन । बेलुकी ७ बजे तिर आफ्नो बासस्थानमा पुग्छन् ।

यूएईमा कार्यरत धेरैको दैनिक बिहान उज्यालो भए देखी बेलुकी साँझसम्म ब्यस्त रहन्छ । बेलुकीपख कोठामा पुग्छन । दोकानतिर काम गर्ने सेल्स व्वाई वा सेल्स गर्ल्स भने विहानपख फुर्स्दिला हुन्छन भने राती एक दुई बजे तिर मात्र कोठामा पुग्दछन् । यो उनीहरुको दिनचर्या हो । दैनिक ८ घण्टा देखि ओभर टाइम भएमा बढीमा ११ घण्टासम्म उनीहरु आफ्नै काममा ब्यस्त हुन्छन् ।

कोठामा पुगेर सबैभन्दा पहिले फेसबूक खोल्छन । सामाजिक सञ्जालमा देखेका कमसल समाचारहरु पढ्छन । भिडियो हेर्छन् । यिनै कुराहरु पढेर, हेरेर देशको राजनीति प्रति धारणा बनाउँछन् । धारणा मात्र बनाएर पुग्दैन । विश्वाश गर्छन र नेतालाई गाली गर्छन् । समाचार सत्य हो हैन फ्याक्ट चेक गर्ने तरिका पनि थाहा छैन, शेयर गर्छन् र त्यस्तै समाचार तथा भिडियोहरुलाई ‘भाईरल’ बनाउँछन् । बिशेषगरी उनीहरु सामाजिक सञ्जालमा शेयर भएका लिंकमा देखिएका शिर्षकबाटै सबै बुझ्छन । धेरैले त खोलेर पनि पढ्दैनन् ।

दिउँसो ब्रेक टाइममा पनि समाचार पढ्छन् । चर्का चर्का देश भक्तीका गाथा सुन्ने बित्तिकै देशप्रेमले भुतुक्कै हुन्छन् । अनि बिदेशबाटै देश बचाउन खबरदारी गर्छन् । यही सामाजिक सञ्जालबाटै कसैलाई ‘भाईरल’ भगवान बनाउँछन् त कसैलाई ‘भाईरल’ राक्षस । बिदेशमा रहेका अधिकाँशको दिनचर्या आजकल यस्तै हुन्छ ।

विश्वमा सुचना प्रविधिको विकास र प्रयोगसँगै मुख मुखमा झुण्डिएको नयाँ शब्द ‘भाईरल’ हो । भाईरल भनेको के हो त ? अङ्रेजी शब्दमा भाईरल हुनु चाँही भाईरस (जिवाणु) लाग्नु भन्ने अर्थ हुन्छ । जसले गर्दा कुनै पनि बिमारका लक्षणहरु छिट्टै अर्को ब्यक्तिमा सर्न सक्छ । साधारण जनजिब्रोको भाषामा भने भाईरल हुनु भनेको सबैले थाहा पाउनु, चिन्नु, जिब्रोमा झुण्डिनु, धेरै लोकप्रिय वा अतिधेरै अलोकप्रिय हुनु नै हो । अझ सामाजिक सञ्जालमा जति बढी मान्छेले हेरे वा शेयर गरे, चर्चा गरे वा गाली गरे भने पक्का भाईरल भईयो ।

आजकल नेपालमा हरेक दिन कुनै न कुनै नयाँ नयाँ समाचार वा घटना भाईरल हुने गरेका छन् । गीत संगीतमा ट्रेन्डिङमा रहने प्रचलनलाई तोद्डै खबरहरु सामाजिक सञ्जालमा भाईरल हुने गरेको छ । ति भाईरल खवर, समाचार वा घटनाक्रमलाई ‘काण्ड’ उपमा दिएर बोल्न झनै सजिलो बनाउने गरिएको छ ।

वाईडबडी काण्ड, निर्मला हत्या काण्ड, रबी काण्ड, महरा काण्ड, कालापानी लिपुलेक, एमसीसी काण्ड, आस्था राउत काण्ड आदि इत्यादि नेपालमा भाईरल भएका पछिल्ला काण्डहरु हुन् । यी सँगसँगै यौन क्लिप्सका जापान काण्ड, अष्ट्रेलिया काण्ड, मलेसिया काण्ड, कोरिया काण्ड आदि पनि सामाजिक सञ्जालमा निकै भाईरल भएका काण्ड हुन् । यी काण्डहरु भाईरल हुनुमा बिदेशमा बस्ने नेपालीहरुको ठुलो ‘योगदान’ छ । त्यसैले उनीहरु धन्य छन् ।

आखिर काण्डहरु किन भाईरल हुन्छन् ? कसले किन भाईरल गराउँछन् ? भाईरल हुनु ठीक कि बेठिक ? भाईरलले फाईदा कि बेफाईदा ? आदि जिज्ञासा उठ्न थालेका छन् । यिनै बारे चर्चा गरौ ।

नेपालमा ईन्टरनेट चलाऊने, चलाऊन जान्ने नेपालीको संख्या कति होला ? सन् २०१० मा १० प्रतिशत भन्दा कम नेपालीको पहुँच ईन्टरनेटमा थियो । सन् २०१९ मा आईपुग्दा सो संख्या बढेर ६० प्रतिशत भन्दा धेरै भएको अनुमान छ । अर्थात अनुमानित ३ करोड २५ लाख जनसंख्या रहेको हाम्रो देशमा २ करोड भन्दा बढीले कुनै न कुनै रुपमा धेरथोर ईन्टरनेटको उपभोग गर्ने गरेको पाईन्छ । यसको अर्थ नेपाली भाईरलका भाईरस यिनै २ करोड हुन भन्ने चाहिं हैन ।

गत बर्ष २०१९ जनवरीको तथ्याङ्क अनुसार नेपालमा झण्डै १ करोड व्यक्तिले फेसबूक प्रयोग गर्ने गरेका छन् । ति मध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन् । अर्को तथ्याङक हेर्ने हो भने ३५ ४० लाखको हाराहारीमा नेपालीहरु विदेशमा छन् । खाडी र मलेसियामा मात्रै २० लाख नेपालीहरु वैदेशिक रोजगारीमा छन् । जापान, कोरिया, अष्ट्रेलिया, अमेरिका र यूरोपका विभिन्न मुलुकहरुमा नेपालीहरु उल्लेख्य छन् । विदेशमा रहेका ति नेपालीहरु प्रायः सबैको हातहातमा स्मार्ट फोन छ र उनीहरु ईन्टरनेटको उपभोग गर्छन् । सामाजिक सञ्जालमा जोडिएका छन् ।

हरेक मिडियाले सामाजिक सञ्जाल मार्फत आफ्ना पाठक बटुल्छन् । भ्यूअर्स बढेसँगै पैसा पनि आम्दानी हुनाले बिकाउ खालका समाचार र भिडियोहरु सामाजिक सञ्जालमा प्रकाशित गरिन्छ । कतिसम्म भने, शिर्षक सनसनीपूर्ण बनायो, भित्र कन्टेन्ट भने अर्कै अंग्रेजीमा विज्ञापन हुन्छ । विदेशमा रहने ४० लाख नेपालीहरु मात्रैले पनि हेरे र शेयर गरे भने पनि ति मिडियाहरु ट्रेन्डिङमा पर्छन । उनीहरुको ब्यापार चलिहाल्छ । यता शेयर गर्नेले आत्मरती लिन्छन्, उता ति हाल्ने मिडियाको चुलोचौको चल्छ ।

सामाजिक सञ्जालमा भ्युअर्स, लाइक र शेयर धेरै हुनु काण्डहरु भाईरल हुनुका पछिल्ला मापदण्ड हुन् । भाईरल भएकाहरुको अध्ययन गर्दा विशेषगरी सरकार र राजनीतिक ब्यक्तिहरुसँग घटनाक्रमहरु, गीत संगीत, हाँस्यब्यङ्य र कलाकारका ब्यक्तिगत घटनाक्रमहरु, यौनजन्य घटना र क्लिप्सहरु सामाजिक सञ्जालमा भाईरल हुने गरेका छन् ।

तत्कालिन सभामुख कृष्ण बहादुर महराको समाचार सामाजिक सञ्जालमा एकाएक भाईरल भयो जसलाई महरा काण्ड नाम दिईयो । राजनीतिक ब्यक्तित्व भएकोले संसारभरिका नेपालीहरुको चासो हुनु स्वाभाविक थियो । त्यसमाथि केहि केहिको आफ्नो राजनीतिक स्वार्थ पनि हुने नै भयो । वाइडबडी हवाइजहाज काण्ड पनि भ्रष्टाचारसँग जोडिएको राजनीतिक घटनाक्रम थियो । हरेक देशमा नेपालका ठुला राजनीतिक दलका भातृ संगठनहरु सकृय छन् । ती माथि हरेक नेपाली कुनै न कुनै राजनीतिक विचार नभएको भेटिन्न नै । उनीहरुले पक्ष र विपक्षमा तर्क वितर्क गर्ने नै भए । यी समाचारहरु यसरी नै भाईरल बन्छन्, बनाईन्छन् ।

गीत संगीत र हाँस्यब्यङ्य त स्वाभाबिक रुपमा लोकप्रिय हुने नै भए । यसका भ्यूअर्स पनि धेरै नै हुन्छन् । केहि केहि मात्रै भाईरल हुने गर्दछन् । लोकप्रिय भएर धेरै भ्यूअर्स भए पनि केही गीत भने कम भाईरल हुन्छन् । बरु अर्को शब्दमा भन्दा ‘हीट’ भने हुन्छन नै । कलाकारहरुको ब्यक्तिगत घटनाहरु भने एकाएक भाईरल हुने गर्छन् । किनकी आम मान्छेहरुले खोजिने पात्रहरु कलाकार नै हुन् । उनीहरुको ब्यक्तिगत जीवन, विवाह, डिभोर्स र यौन क्लिप्स पाए त विदेशमा बस्नेहरुलाई दसैं आए जस्तै हुन्छ ।

लौ बिदेशमा बस्नेले भाईरल त बनाए । अनि भाईरल बन्ने चाहिं ?

भाईरल हुन मन लाग्नु पनि एक किसिमको क्रोनिक रोग नै हो । मानसिक बिचलन हो । नेपालमा केही समययता केही लेखक, कलाकार र राजनितिज्ञहरुलाई भाईरल हुने रोग लागेको छ । केही लेखकहरुलाई जथाभावी लेख्ने, बोल्ने र नेताहरुलाई गाली गर्ने गरेकोले यूट्युबमा भाईरल हुने मनोरोग पलाएको छ । उनीहरु मनमा जे लाग्यो त्यही बोल्ने गर्छन् । तथ्यहरुको पुष्टी गर्नु परेन, जथाभावी आँकडामा भनिदिन्छन् । जे पायो त्यही आरोप लगाउँछन्, नेपालमा कानून लाग्दैन । पढ्ने र सुन्ने मान्छेहरुलाई साँच्चै पो हो रहेछ भन्ने भ्रम सिर्जना गर्छन् । पाठकहरुले पत्याइदिन्छन । अनी ती लेखकहरु भाईरल भईदिन्छन् ।

खाडीमा बस्ने नेपालीहरु तिनैका कुरा सुनेर लौ देशमा त बर्बाद नै पो हुन लागेछ भनेर चिन्तित हुन्छन् र नेतालाई सक्दो गाली गर्छन् । नेताले देश बेचे रे, अमेरिकी सेना आउने भए रे, भारतले नेपाल कब्जा गर्न लाग्यो रे भनेर नेपालीहरुको मनमा राष्ट्रभक्ति जाग्छ । उनीहरु ती भिडियो क्लिप सामाजिक सञ्जालमा शेयर गरेर बेचिन लागेको हाम्रो देशलाई बचाउन भगीरथ प्रयास गर्छन् । उता मनोरोगले ग्रसित ‘सो कल्ड’ लेखक भाईरल भईदिन्छ ।

त्यसो त सेलिब्रेटी कलाकारहरुले पनि भाईरल हुन अनेक हथकण्डा अपनाउने गरेका छन् । केहिदिन अगाडी बिदेशी टेलिभिजन प्रस्तोताले लाइभ कार्यक्रममै वायु विकार विसर्जन गरिन् । नेपाली मात्र कहाँ हुन् र, भाइरल बनाउने काममा विदेशी पनि कम छैनन् । उक्त क्लिप निक्कै नै भाईरल बन्यो । केही दिन अघि गायक रामकृष्ण ढकाल निक्कै भाईरल भए । उनको नक्कली डिभोर्सको समाचारलाई दर्शकले भाईरल बनाइदिए । अन्ततः उनी आफैंले उक्त समाचार खण्डन गर्नुपर्यो । नेपालमा आफुलाई सामाजिक अभियन्ता भन्न रुचाउनेहरु देखि राजनीति गर्नेहरु पनि आफुलाई भाईरल बनाउन मन पराउँछन् ।

के तपाईं पनि भाईरल बन्ने हो ? त्यसो हो भनें लौ माथि भनिए अनुसारकै कुनै उपक्रम गर्नुस् र विदेशमा बस्ने नेपाली तताउनुस् । भाइरल भएर गजक्क पर्ने पालो तपाईकै हो ।
(सापकोटा युएईमा कार्यरत पत्रकार हुन ।)
यो पनि पढ्नुहोस् एनआरएनए, युएईको अध्यक्ष को ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय