एनआरएनए, युएईको अध्यक्ष को ?

मेघराज सापकोटा-

धेरै साथीहरुले प्रश्न गर्नु हुन्छ के गैर आवासीय नेपाली संघ, (एनआरएनए) यूएईमा नेपालको नेकपाको जस्तै दुई अध्यक्ष प्रणाली छ ? आफुलाई अध्यक्ष भनेर रमेश श्रेष्ठले पनि लेख्छन् । प्रकाश कोइरालाको नाम पनि अध्यक्ष भनेर आउँछ । को हो खास अध्यक्ष ? के हो खास कुरा ? ब्यक्तिगत ईनबक्समा सबैलाई भनिरहनु भन्दा यसरी सार्वजनिक गर्नु राम्रो होला । सबैले स्पस्ट हुन जरुरी छ ।

एनआरएनए र एनए

पहिलो कुरा, एनआरएनए यूएई र नेपाल एसोसिएसन, दुबई अलगअलग दुई संस्था हुन् । एनआरएनए भन्ने संस्था विदेशमा बसोबास गर्ने नेपालीहरुले नेपाल सरकारको संविधान, नीति, नियम, कानून अनुसार नेपालमा दर्ता भएको संस्था हो । एनआरएनए यूएई चाहिं एनआरएनएको बैदेशिक शाखाहरु मध्ये एक हो । एनआरएनएको यस्ता शाखा ८२ देशहरुमा छरिएर रहेका छन् जसलाई राष्ट्रिय समन्वय परिषद (एनसीसी) पनि भनिन्छ । यसले एनआरएनएको विधान अन्तर्गत रहेर सम्बन्धित देशहरुको कानूनलाई सम्मान गर्दै आफ्नो काम कारबाही गर्दछ । हरेक दुईदुई बर्षमा काठमाडौंमा यसको अन्तराष्ट्रिय सम्मेलन हुन्छ जसले अन्तराष्ट्रिय कार्यसमितिको चयन गर्दछ । काठमाडौं सम्मेलन हुनु भन्दा एक महिना अगाडी हरेक देशमा रहेका एनसीसीहरुले आफ्नो सम्मेलन गरी नयाँ कार्यसमिति चुन्नु पर्ने प्रावधान छ । सोही प्रावधान अनुसार एनआरएनए यूएईका हालका अध्यक्ष प्रकाश कोईराला हुन् । उनलाई तत्कालिन निर्वाचन समितिले निर्वाचित गरेको घोषणा गरेको थियो ।

नेपाल एसोसिएसन, दुबई चाहिं दुबई सरकारको कम्युनिटी डेभलपमेन्ट अथोरिटीमा दर्ता भएको यूएईमा रहने नेपालीहरुको गैर नाफामुलक सामाजिक संस्था हो । यसले समाजिक, साँस्कृतिक, खेलकुद, मनोरञ्जन र सेवा क्षेत्रमा बिभिन्न किसिमका काम कारबाही गर्नेगरी अनुमति पाएको छ । यूएईको नियम कानूनलाई शिरोधर्य गर्दै पूर्वअनुमति लिएर उल्लेखित क्षेत्रमा यसले आफ्नो गतिविधि सञ्चालन गर्न सक्छ । यो पनि एक गैर नाफामुलक संस्था हो । समाजसेवा नै यसको प्रमुख उद्देश्य हो । विशेषगरी यसले दुबई क्षेत्रमा आफ्नो गतिविधी गर्नेछ । यसको आफ्नै नियम कानून र विधान हुन्छ । यूएईको कानून अनुसार तोकिएको विधानमा रहेर यसले आफ्नो नेतृत्व चयन गर्न सक्छ । हाल यसको म्यानेजर रमेश श्रेष्ठ रहेका छन् भने अन्य बोर्ड अफ डाईरेक्टर्समा नविन पौडेल, नरेश शेन, कृष्ण ठाकुर, प्रकाश कोईराला, पासाङ शेर्पा, मदन अधिकारी र विकास शाही लगायत छन् । स्थानीय दुई नागरिक पनि रहेका छन् । केहीले रजिनामा दिने र केही थप्ने प्रकृया चलिरहेको छ । माथि नाम उल्लेख गरेका केही साथीहरुको नाम थपिने प्रकृयामा छ ।

के एनआरएनए, यूएईमा दुई जना अध्यक्ष छन् ?

एनआरएनए यूएईका एक मात्र अध्यक्ष प्रकाश कोईराला हुन् । नेपाल एसोसिएसनका म्यानेजर डाईरेक्टर्स रमेश श्रेष्ठ हुन् । यसअघि एनआरएनए यूएईका २०१७-२०१९ का अध्यक्ष रमेश श्रेष्ठ नै थिए । गत सेप्टेम्बरमा भएको अधिवेशनले प्रकाश कोईरालालाई अध्यक्षमा सर्बसम्मत निर्वाचित गरेको हो । सोही अनुसार अध्यक्ष कोईरालालाई एनआरएनएको अन्तरराष्ट्रिय समितिले मान्यता प्रदान गरी बधाई समेत दिईसकेको छ । गत अधिबेशन पश्चात रमेश श्रेष्ठ निवर्तमान अध्यक्ष भईसकेका छन् ।

किन फेरी पनि अध्यक्ष नै लेख्छन त रमेश श्रेष्ठ ?

एनआरएनए यूएईको अधिबेशन अलिकति बिवादित पनि भयो । निर्वाचन समितिले सही समयमा सही निर्णय नदिदा अन्यौलता बढेकै थियो । अन्ततः निर्वाचन समितिले प्रकाश कोइरालालाई नै अध्यक्ष घोषणा गरेको थियो भने उक्त अधिबेशनको सुपरभाइज गरिरहेका गोपाल कँडेलले आईसीसी प्रतिनिधिको भूमिका निर्वाह गरेका थिए ।

अब यति भईसकेपछि रमेश श्रेष्ठ एनआरएनए यूएईको अध्यक्ष रहेनन् । तर पनि उनी अझै आफुलाई नेपाल एसोसिएसन लेखेर कोष्टभित्र एनआरएन लेखेर अध्यक्ष नै लेख्छन् । एनआरएन भनेको गैर आवासीय नेपाली संघ भनेको हो । उनले त्यो एनआरएन नलेखेकै राम्रो हो । नेपालमा सम्पन्न आईसीसी सम्मेलनमा पनि उनले अध्यक्ष लेखेकै परिचय पत्र घाँटीमा भिरेका थिए । त्यो बेला यूएईका दुई जनाले अध्यक्षको परिचय पत्र पाए । त्यो चाहिं एनआरएनए आईसीसीको कमजोरीले गर्दा हो ।

निवर्तमान अध्यक्ष तथा नेपाल एसोसिएसनका म्यानेजर रमेश श्रेष्ठको पद मोह हो वा अरु केही कारण छ थाहा भएन । सरसर्ती हेर्दा उनी अव अध्यक्ष हैनन्, म्यानेजर हुन् । त्यो पनि एनआरएनए यूएईको हैन, नेपाल एसोसिएसन दुबईका म्यानेजर हुन् उनी । हुनसक्छ नेपाल एसोसिएसन दुबईका प्रेसिडेन्टहोलान् तर एनआरएनए यूएईको अध्यक्ष चाहिं उनी हैनन् । यति कुरा प्रष्ट छ ।

नेपाल एसोसिएसन कसरी बन्यो ?

नेपाल एसोसिएसन दुबई तत्कालिन एनआरएनए, यूएईले दुबईमा दर्ता गरेको हो । २०१५-२०१७ कार्यकालमै तत्कालिन अध्यक्ष सुदिप कार्कीको पालामा दर्ताको लागि निवेदन दिईएको थियो । तर दर्ता भएन । २०१७-२०१९ कार्यकालका अध्यक्ष रमेश श्रेष्ठले साहै्र दुःख गरेर आखिरी एनआरएनए यूएईलाई दुबईमा दर्ता गराई छोडे । यसमा उनको ठुलो मेहनत र पसिना बगेको छ । तर उनको मात्र एकल प्रयास चाहिं हैन है ।

दर्ता गर्नको लागि एनआरएनए आईसीसीले परराष्ट्र मन्त्रालय मार्फत लविङ गर्यो । नेपाली दुताबासले सिफारिस गर्यो । श्रेष्ठ आफैं धेरै खटे । अन्ततः नन रेसिडेन्ट नेपाली भनेर पूर्वस्वीकृति अनुमति पाईसकेको अवस्थामा अन्तिम अवस्थामा भने नेपाल एसोसिएसनको नाममा अन्तिम स्वीकृती पायो र संस्था खडा भयो । यसरी एनआरएन यूएईको आफ्नो सामाजिक गतिविधिलाई सहज ढंगले कानूनसम्मत रुपमा गर्नको लागि दुबई राज्यलाई आधार बनाएर एउटा गैर नाफा मुलक संस्था दर्ता गरेको हो । तसर्थ यो संस्था कानूनत दुबई राज्यको कानून अन्तर्गत चल्दछ । दर्ताको हिसाबले यूएईमा यो नेपालीहरुको तेस्रो संस्था भयो । पहिलो नेपाली बिजनेस काउन्सिल, दोश्रो हामी नेपाली र यो नेपाल एसोसिएसन ।

यो संस्था कुनै अमुक ब्यक्तिले उसको एकल प्रयासमा मात्र नभएर एनआरएनए, यूएईको सामुहिक प्रयासमा दर्ता भएको हो । त्यसैले नेपाल एसोसिएसन दुबई एनआरएनए यूएईकै सामुहिक सम्पत्ति बन्न पथ्र्यो तर बन्न सकेको छ जस्तो अनुभूती भएको छैन । नेपाल एसोसीएसन, दुबई तत्कालिन एनआरएनए यूएईले दर्ता गरेको हो भने अहिले एनआरएनए, यूएईमा जसले नेतृत्व गरेको छ उसको नेतृत्वमा रहनु पर्ने हो । वा कानूनी जे भए पनि ब्यवहारिक रुपमा उसैको अधिनमा रहनु पर्ने हो । त्यस्तो भएको छैन । सायद एनएको बढी नै माया लागेर होला छोड्न गाह्रो भएको । 

अविश्वास र ईगो

नयाँ कार्यसमिति निर्माण भए पश्चात पुरानो समितिमा केही ईगो देखियो । समयमा खातापाता, चुलोचाबी, हिसाब किताब हस्तान्तरण नगर्ने जस्ता खेलहरु हुन थाले । केही बाहिरी तत्वले निर्वाचन समितिलाई डर देखाए र हस्तान्तरण नगर्न क्याटलिस्टको काम गरे । अधिबेशनताका उत्पन्न अविश्वास र ईगोलाई मलजल पुर्याए । निवर्तमान नेतृत्वले पनि लहै लहैमा लागेर केही समय बाटो बिराउने हो कि भन्ने देखियो ।

अन्ततः गत अक्टोबरमा काठमाडौमा आईसीसीको रोहवरमा निवर्तमान अध्यक्ष रमेश श्रेष्ठ र वर्तमान अध्यक्ष प्रकाश कोईरालावीच हस्तान्तरण गर्ने सहमति भएको छ । हालसालै थप गरिएका ६ डाइरेक्टर्स यसैको लागि हो ।

सहमति गर्ने, हस्ताक्षर गर्ने तर पालना नगर्ने यहाँको रोग हो । अपरिपक्व निर्णय गर्ने र कार्यान्वयन नगर्ने वा कार्यान्वयन नै गर्न नसक्ने निर्णय गर्ने पनि अर्को रोग छ । अधिवेशनताका त्यस्ता सहमति धेरै भए, सबै तोडिए । अरेर कसैले कान फुकेको भरमा एकआपसमा रिसारिस गरे । आफ्नो खुट्टामा उभिएनन् । चम्चागिरी पनि अचाक्ली भयो । अर्काको ग्रुपको च्याट र छलफल साटासाट गरिदिने । कतिसम्म भने एउटै ब्यक्तिले दुईतिरको स्क्रिनसट दुईतिर पुर्याउने । आज एउटा सहमति गर्यो, भरे रातभरीमा खिचडी पाकेर बिग्रिसकेको हुन्थ्यो । त्यो हुनु भनेको नेतृत्वको दिमाग पञ्चर हुनु हो । निर्णय क्षमतामा ह्रास हुनु हो । नेतृत्वले कि त सहमति गर्नु हुन्न, गरेपछि अडिग भएर कार्यान्वयनमा जानुपर्छ । अनि पो विश्वास बढ्छ त । परिपक्वता पनि देखिन्छ । यो रोगको निदान हुन अझै जरुरी छ । यसरी बढेको अबिवश्वास अहिलेसम्म पनि कायमै छ । 

जे भए पनि हामी बिदेशमा छौं । खाडीमा छौं । यहाँ नेपाली भन्दा नजिकको प्यारो अर्को देशको मान्छे हुँदैन । कसैलाई त्यस्तो लाग्छ भने भ्रम नपाले हुन्छ । एनआरएनए भन्ने संस्थाको अध्यक्ष आजीवन पद होइन । केन्द्रिय अध्यक्ष भवन भट्ट त दोहोर्याउँछु भन्दा भन्दै ब्याक भए । आखिर दुई बर्ष त हो नि । मिलेर समाज सेवा गर । रमिता नदेखाऊ । दुई बर्ष पछि फेरी अर्काको पालो आउँछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय