श्रम मन्त्रीले अघि सारेको श्रम बैंक कार्यक्रममा गैरआवासिय नेपाली संघले सहकार्य गर्ने

गैर आवासिय नेपाली संघ(एनआरएनए) ले सरकारले अघि सारेको श्रम बैंक कार्यक्रममा सहकार्य गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप र क्षमताको सदुपयोग गर्नका लागि उनीहरुको विवरण संकलनमा संघले सहकार्य गर्ने भएको हो ।

संघको अन्तराष्ट्रिय समन्वय परिषदको पोखरामा सम्पन्न बैठकले संसदमा विचाराधीन नागरिकता ऐन संसदको यसै हिँउदे अधिवेशनबाट पारित गर्न र संविधानमा व्यवस्था गरिए अनुरुप गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । लगानी, सम्पत्ति र गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग जोडिएको गैरआवासीय नेपाली सम्बन्धी ऐनको पुनर्लेखन गर्न पनि संघले माग गरेको छ ।

बैठकले वैदेशिक रोजगारीका समस्या, समाधान र सम्भावनाको पहिचान गरी ६ महिनाभित्र एक श्वेतपत्र तयार गर्न विज्ञहरुको कार्यदल गठन गर्ने निर्णण पनि गरेको छ । यसैगरी गैरआवसीय नेपाली संघद्वारा प्रस्तावित र नेपाल सरकारले पनि घोषणा गरिसकेको तर कार्यान्वयनमा नआएको वैदेशिक सामाजिक सुरक्षा कोषको यथाशीघ्र कार्यान्वयन गर्न तथा महिला कामदारहरुको समस्या समाधान लगायतका विषयमा नेपाल सरकारका सम्बन्धित निकायसँग पहल गर्ने पनि निर्णय गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन संघले सक्रियातापुर्वक विभिन्न कार्यक्रमको सुरुवात गरिसकेको भन्दै संघले यसलाई अझै घनिभूत बनाउन संघका राष्ट्रिय र अन्तराष्ट्रिय समन्वय परिषद्को वार्षिक कार्यक्रमको रणनीतिक योजनासहित एकमुष्ट विवरण आगामी १ महिनाभित्र सार्वजनिक गर्ने भएको छ ।

बैठकले काठमाडौं महानगरपालिकासँग समन्वय गरी नमूना सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउने औपचारिक निर्णय पनि गरेको छ । उक्त योजनाका लागि बैठकमा सहभागीहरुबाट रु ४० लाखको सहयोग संकलन भएको छ । बैठकले छात्रा शौचालयको समस्या भएका विकट तथा ग्रामिण क्षेत्रका विद्यालयसँग सहकार्य गरी शौचालय निर्माणको काम अघि बढाउने निर्णय गरेको छ ।

एनआरएन विश्व सम्मेलनलाई प्रभावकारी बनाउनका लागि संघको अन्तराष्ट्रिय महाधिवेशन नभएको वर्ष विज्ञ सम्मेलनको साथमा आयोजना गर्ने निर्णय भएको छ । यसका लागि नेपाल सरकारको साझेदारीमा अक्टोवर २०२० मा दोश्रो एनआरएन विश्व विज्ञ सम्मेलन गर्ने संघले निर्णय गरेको हो । सम्मेलनलाई परिणाममुखी बनाउन नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु र संघबीच एक संयुक्त समिति निर्माण गरिने जनाइएको छ ।

अध्यक्ष कुमार पन्त सहितको बैठकमा संघका अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, सदस्यहरु, संरक्षक तथा सल्लाहकार गरी ५८ जना सहभागि थिए ।
यो पनि पढ्नुहोस् फ्रिभिसा, फ्रिटिकटमा पैसा असुले २ लाख जरिवाना, मेनपावर कम्पनीको ईजाजत पत्र रद्द

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय