वैदेशिक रोजगारबाट फर्केकाहरुको सामुहिक अगुवाईमा १६ करोड लगानी हुँदै

वैदेशिक रोजगारबाट फर्केका केहि उत्साहि युवाको अगुवाईमा नवलपुरमा १६ करोड २८ लाखको लगानीमा आधुनिक कोल्डस्टोर सञ्चालनमा आउने भएको छ । ३ हजार मेट्रिक टन क्षमताको सो कोल्ड स्टोर निर्माण गर्न वैदेशिक रोजगारबाट फर्केकाहरु, स्थानीय केहि नागरिक, केन्द्र सरकार तथा प्रदेश सरकारले लगानी गर्दैछन् ।

नवलपुर कृषि उपजका हिसावले समृद्ध रहेको र त्यहाँका किसानलाई थप प्रोत्साहित गर्न सकिएमा किसान देखि उपभोक्तासम्मलाई लाभ दिन सकिने भएका कारण कोल्डस्टोर सुरु गर्न लागिएको सो कोल्डस्टोर सञ्चालका लागि गठित संस्था रिटर्नी कृषि तथा पशुपालन समुहका अध्यक्ष नेत्र थनेतले बताए । उनले मुख्य सिजनको समयमा किसानले मूल्य नपाउने समस्यालाई कोल्डस्टोरले हल गर्ने भन्दै गुणस्तरीय उत्पादन उपभोक्तासम्म पुर्याउने आफूहरुको लक्ष्य रहेको बताए ।

जर्मन प्रविधिबाट निर्माण गरिने कोल्डस्टोर आधुनिक हुनेछ । सो कोल्डस्टोरमा ८ वटा च्याम्वर रहनेछन् जहाँ फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ । किसानले कोल्डस्टोरलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् भनें भाडामा लिएर आफ्ना सामान राख्न चाहनेहरुका लागि पनि सेवा उपलव्ध हुने अध्यक्ष थनेतले बताए ।

कोल्डस्टोर सञ्चालनका लागि वैदेशिक रोजगारबाट फर्केकाहरु तथा केहि स्थानीय समेत गरी १ सय १ जनाको समुह बनाइएको छ । १८ महिनामा निर्माण सक्ने लक्ष्य राखिएको सो कोल्डस्टोर निर्माणका लागि झण्डै ५ करोड सो समुहले लगानी गर्ने छ भनें ८ करोडको हाराहारी केन्द्र सरकार तथा ३ करोडको हाराहारीमा प्रदेश सरकारको कृषि मन्त्रालय मार्फत लगानी हुँदैछ । वैदेशिक रोजगारबाट फर्केकाहरुको संस्था रिटर्नी माईग्रेण्ट नेपालले लगानी जुटाउन ठूलै प्रयत्न गरेको थियो ।

कोल्डस्टोरमा स्थानीय ५ हजार किसानलाई जोड्ने समुहको लक्ष्य छ । “किसान विना कोल्डस्टोर सञ्चालनको कल्पना पनि गर्न सकिन्न” समुहका एक सदस्य उत्तम अधिकारीले भने “त्यसमध्ये ईच्छुकहरुलाई शेयर सदस्य बनाइने छ भनें अन्यलाई उनीहरुको उत्पादन खरिद गर्ने ग्यारेण्टी गर्ने छौं ।” यसले किसानलाई ढुक्क भएर उत्पादनमा लाग्न प्रोत्साहित गर्ने जसका कारण उत्पादनमा वृद्धि हुने अधिकारी बताउँछन् ।

कृषि उपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालिम र वीउ विजन कोल्डस्टोरले नै उपलव्ध गराउने अध्यक्ष थनेत बताउँछन् । यसले हालको भन्दा बढी उत्पादन हुने र किसानलाई लागत खर्च कम भई प्रतिफल वृद्दि हुने उनले बताए ।  “म स्वयं विदेशमा बसेर फर्केको व्यक्ति हुँ र किसानको छोरो हुँ ” थनेतले भने “राज्यले पनि पछिल्लो समयमा कृषि क्षेत्रमा लगानी बढाएको छ जसको लाभ किसानले प्राप्त गर्नुपर्दछ ।” उनले ईजरायल, अष्ट्रेलिया लगायतका मुलुकमा कृषि उत्पादन धेरै राम्रो रहेको हुँदा आफ्नो क्षेत्रका किसानलाई पनि सो प्रविधि सिकाउने लक्ष्य रहेको बताए ।

कोल्डस्टोरले अग्र्यानिक उत्पादनलाई प्रोत्साहित गर्ने र कावासोतीको स्थानीय बजारसँगै काठमाडौं, पोखरा, बुटवल, चितवन लगायतका शहरहरुमा उत्पादन पठाइने योजना छ । यसमा काठमाडौं महानगरपालिकाले पनि होष्टेमा हैंसे गर्ने प्रतिवद्धता जनाएको छ । कोल्डस्टोर निर्माणको शिलान्यास माघ ४ गते हुँदैछ । छिटोमा १८ महिना र ढिलोमा दुई बर्षभित्र कोल्डस्टोर सञ्चालनमा ल्याउने तयारी छ ।
यो पनि पढ्नुहोस् ‘विदेशबाट फर्केको युवा सडकमा, उद्योगपति मिडियामा’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय