‘विदेशबाट फर्केको युवा सडकमा, उद्योगपति मिडियामा’

दोलखाका कुमार थापा तीन बर्ष मलेसियामा रोजगारी गरेर फर्किए । नेपालमा हुँदा एउटा नीजि विद्यालयमा पढाउने उनले घरको आर्थिक अवस्था उकास्न परदेशको बाटो रोजेका थिए ।

मलेसियामा काम पनि नराम्रो थिएन । गाडीका पार्टपुर्जा बनाउने कम्पनीमा काम गरेका थापालाई चिन्ता थियो त त्यहाँको असुरक्षाको । तर पनि तीनवर्ष ढुक्कैले काम गरेका उनी फर्किंदा बेखुशी हुनुपर्ने कारण थिएन । तीन बर्षको बसाईमा सवै खर्च कटाएर ६ लाखको हाराहारी बचत पनि भयो ।

तर उनी फर्किंदा खर्चको बाटोले पर्खिरहेको थियो । २०७२ को भूकम्पले घर भत्काएपछि सरकारी अनुदानमा थपथाप गरेर घर त बनाए तर कमाएर ल्याएको पैसा लगभग सकियो । त्यसैले पुनः वैदेशिक रोजगारमा युएई जाने योजना सहित काठमाडौं आए उनी ।

काठमाडौंमा केहि वैदेशिक रोजगार व्यवसायीका कम्पनी चहार्दै गर्दा उनले हल्ला सुने, सरकारले अव विदेशबाट फर्केका र स्वदेशमा नै रोजगारी गर्ने चाहनेहरुलाई थोरै व्याजमा ऋण दिंदैछ रे । ५/७ जनाको समुहमा अलिक टाठोबाठो भएर निस्के उनी । सवैलाई अव ऋण लिएर स्वदेशमा नै केहि गरौं भनेर उनले नै हौस्याए । सवैको कुरा मिल्यो ।

बैंकले ऋण पत्याउने आधार चाहिन्छ भन्ने लाग्यो उनीहरुलाई । त्यसैले कुमार सहित अर्का एकजनाले तत्काल काठमाडौंको मुलपानीमा ५ रोपनी जग्गा भाडामा लिए बर्षमा १ लाख रकम तिर्नेगरी । अर्का एकजनाले सुन्दरीजलमा कुखुरा फर्म सुरु गरे । समुहका एकजना दोलखा पुगेर चौरी पाल्ने उद्यममा लागे । अरु साथिले काठमाडौंमै जग्गा भाडामा लिएर खेती थालिहाले । सवैले आश थियो सरकारले सहुलियतपूर्ण व्याज सहितको ऋण पाउने ।

सवै तारतम्य मिलाएका कुमार लगायतको समुहले वैदेशिक रोजगार बोर्डमा दुई दिन धाएर निवेदन हाल्यो । सुचिकृत पनि भए उनीहरु । आशा अझ बढ्यो । तर हामी त त्यसपछि बैंकहरुमा धाउँदा धाउँदै हैरान भयौं, काम गर्ने जोश जाँगर पनि मर्दै गयो देशपरदेशसँगको कुराकानीमा कुमारले भने त्यो त केवल झुक्याउने काम जस्तै भयो ।

मुलपानीमा भाडामा लिएको जग्गामा गाई पाल्ने र व्यवसायीक कृषि गर्ने कुमार र उनका साथि गोविन्दको योजना धर्मराएको छ । अहिले उनीहरु जग्गाको भाडा तिर्न र परिवार पाल्न सो जग्गामा धान र आलु लगाउँदै छन् । गत शुक्रवार देशपरदेश प्रतिनिधि पुग्दा उनीहरुको जग्गामा लसुन टुसाउँदै थियो भनें दोलखाली रायो पनि भर्खर सर्दै थियो ।

५ बर्षका लागि भाडामा लिएको जग्गा अहिले गलपासो भएको छ उनीहरुलाई । नखाउँ त दिनभरीको शिकार, खाउँ त कान्छा बाउको अनुहार भनेजस्तै । ‘आफूसँग लगानी गर्ने पैसा छैन, बैंकले ऋण पत्याएन’ थापाले भने ‘दैनिक गुजाराका लागि ज्याला मजदुरी गरिरहेका छौं ।’

थापाजस्तै समस्या भोग्दैछन तनहुँका पुरन राना पनि । १३ बर्ष कतारमा क्रेन अपरेटरको रुपमा काम गरेर फर्केका उनी नेपालमा हार्डवेयर पसल चलाउन चाहन्छन् । त्यसैले उनले पनि आश गरेका छन् उहि सरकारी सहुलियत व्याजदरको ऋणको । यसका लागि उनले धेरैपटक काठमाडौं धाइसके । यसवीचमा जीविकोपार्जनका लागि कहिले कुन कम्पनी त कहिले कुन कम्पनीमा उनी डोजर चलाउन पुगे । छोटो समयका लागि पाइने काम र न्यून तलवले उनलाई सो काममा टिकाउने छाँट छैन । ४६ बर्ष पुगेका राना अव धेरै समय त्यसरी कडा शारिरीक परिश्रम पर्ने कामको सट्टामा पसल चलाउन चाहन्छन् । तर बैंकले उनलाई पनि ऋण पत्याएनन् । धेरैतिर चहारेर थाकेका उनी अहिले तनहुँमा कुखुरा र बाख्रा पाल्दैछन् ।

‘हामीलाई त सरकारले झुक्यायो’ रानाले भने, ‘बैंकमा जाँदा कागज पुगेन मात्रै भन्छन्, कहिले सरकारको चिठ्ठी आएकै छैन भन्छन्, हामीले ऋण पाउने कुनै लक्षण छैन ।’ पसल खोल्ने चाँजोपाँजो मिलाउन सकिन्छ की भनेर तनहुँबाट काठमाडौं आएका राना रित्तै हात पुनः तनहुँ फर्किंदै छन् ।

तर यी दुवै पात्रले न त किन हामीले सहुलियत व्याजदरको ऋण पाएनौं भन्ने प्रष्ट थाहा पाएका छन् न त संशोधन भएको कार्यविधिका बारेमा नै जानकारी छ । ‘तपाईले ऋण नपाउनुको एउटा कारण त विदेशमा गरेको काम र यहाँ गर्न खोजेको काम फरक भएछ नि त’ भन्ने जिज्ञासामा रानाले आफूलाई त्यो थाहा नभएको बताए ।

यहि जिज्ञासामा थापाको उत्तर पनि उहि थियो । अर्थात वैदेशिक रोजगारमा रहँदा गरेको काम अनुसारको प्रस्तावमा मात्र बैंकहरु मार्फत ऋण प्रवाह हुन्छ भन्ने कुरा नबुझी नै उनीहरुले हतार हतारमा नेपालमा उद्यम सुरु गरेर ऋणको आश गरेका थिए । त्यसैले विना धितोको र न्यून व्याजदरको ऋण पाइएन भन्ने गुनासो गरिरहेका वैदेशिक रोजगारबाट फर्केका धेरैले आफूले किन ऋण पाउन सकिन भन्ने जानकारी भनें नपाएको हुन सक्ने वैदेशिक रोजगारबाट फर्केर हाल काभ्रेको नालामा व्यवसायीक कृषिमा संलग्न रमेश रुपाखेती बताउँछन् ।

वैदेशिक रोजगारबाट फर्केकाहरुलाई सहुलियतपूर्ण व्याज सहितको ऋण दिएर स्वदेशमा नै उद्यमका लागि प्रोत्साहित गर्न भन्दै सरकारले अगाडी सारेको कार्यक्रम लगभग पूर्ण रुपमा असफल देखिएको छ । हालसम्म सो कार्यक्रम अन्तर्गत अत्यन्तै न्यून व्यक्तिले मात्र ऋण प्राप्त गर्न सफल भएको वैदेशिक रोजगारबाट फर्केकाहरुको संस्था रिटर्नी माइग्रेण्ट नेपालका अध्यक्ष उत्तम अधिकारी बताउँछन् । अधिकारी नेतृत्वको संस्थाले राष्ट्रिय यूवा परिषदको अगुवाईमा कार्यविधिमा भएका मुख्य तीनचारवटा समस्या सम्वोधनका लागि महिनौं लविङ गरेको थियो । सोही प्रयासका कारण नै मन्त्रीपरिषदले कार्यविधिमा देखिएका समस्या सुल्झाउन गत कात्तिक ३० गतेको बैठक मार्फत सो ऋण लिन वैदेशिक रोजगारमा रहँदा गरेको काम नै नेपालमा गर्नुपर्ने प्रावधान हटाएको छ । यसैगरी ऋण लिन चाहने व्यक्ति वैदेशिक रोजगारबाट फर्केको तीन बर्ष नकटेको हुनुपर्ने प्रावधान पनि संशोधन भएको छ भनें समुहमा काम गर्न चाहनेहरुलाई प्रतिव्यक्ति अधिकतम १० लाखसम्म ऋण लिन सक्ने व्यवस्था भएको छ । यसले साँच्चै काम गर्न चाहनेहरुलाई सहजता हुने अधिकारी बताउँछन् ।

तर सरकारले गरेको यो व्यवस्थाका बारेमा थापा र रानाजस्ता वैदेशिक रोजगारबाट फर्केकाहरु भनें अनभिज्ञ नै छन् । गत शुक्रवार देशपरदेशसँगको कुराकानीका क्रममा दुवैजनाले आफूहरुलाई कार्यविधि संशोधन मार्फत यसअघिको परेको गाँठो फुकाउने कार्यका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताए । यसैगरी त्यसभन्दा अगाडी पनि आफूहरुले किन ऋण पाएनौं भन्ने यकिन उत्तर उनीहरुले पाएका थिएनन् ।

वैदेशिक रोजगारमा लामो समय काम गरेर फर्केकाहरु स्वदेशमा नै उद्यम सुरु गर्न ईच्छुक छन् भन्ने गतबर्ष वैदेशिक रोजगार बोर्डले सूचिकरणका लागि गरेको आव्हानमा झण्डै २० हजारको आवेदन पर्नुले पनि पुष्टि गरिसकेको छ । तर त्यसरी आवेदन गर्नेहरु मध्ये बहुसंख्यकले न त फर्म भर्दा आफूले विदेशमा गरेको काम अनुसारकै पेशा व्यवसायका लागि आवेदन दिनु पर्दछ भन्ने जानकारी पाएका थिए, न त अहिले कार्यविधि संशोधन भएको जानकारी पाएका छन् । यो जानकारीको अभावले उनीहरुमा नैराश्यता बढाएको छ । सरकारले घोषणा गरेको कार्यक्रम अनुसार ऋण प्रवाहमा बैंकहरुमा देखिएको उदासिनताले त अझ उनीहरुलाई निरुत्साहित नै बनाएको छ ।

हल्लाको पछि नदौडिन सुझाव दिन्छन् वैदेशिक रोजगारबाट फर्केका कामदारकोहरुको संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) का अध्यक्ष कुलप्रसाद कार्की । “आफूसँग के दक्षता र सीप छ, त्यो पहिले चिनौं, व्यवस्थापकिय क्षमता कस्तो छ त्यो बुझौं अनी मात्र ऋण लिएमा मात्र व्यवसायीक रुपमा सफल हुन सकिन्छ” कार्कीले भने ।

वैदेशिक रोजगारमा गएर फर्केकाहरुको सीपको परिक्षण हुन र उनीहरुले आर्जन गरेको सीपको प्रमाणिकरण हुनु महत्वपूर्ण कुरा हो । त्यसो हुन नसक्दा वैदेशिक रोजगारबाट फर्केका कति नेपालीसँग कस्तो सीप छ र उनीहरुको सीप सोही काममा प्रयोग हुन सकिरहेको छ की छैन भन्ने जानकारी राज्यलाई छैन । यसले एकातिर सीप सिकेर फर्केकाहरु मुलुकभित्रै उपलव्ध सोही प्रकृतिको रोजगारीमा जोडिन सकेका छैनन् भनें अर्कातर्फ स्वरोजगार हुने बाटो देखिएको छैन । तसर्थ वैदेशिक रोजगारका क्रममा सिकेको सीप प्रमाणिकरण गरी उनीहरुको रोष्टर तयार पार्नु यसको सवैभन्दा राम्रो उपाय देख्छन् वैदेशिक रोजगारको क्षेत्रमा कार्यरतहरु । “त्यो हुन नसक्दा सीप सिकेर फर्केको युवा सडकमा, कामदार पाएनौं भन्दै उद्योगपति मिडियामा भएको हो” रिटर्नी माईग्रेण्ट नेपालका अध्यक्ष अधिकारी बताउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय