खाडीमा नेपालीः आत्तिहाल्ने अवस्था होइन तर सरकारको उच्च सजगता आवश्यक

अमेरिका र ईरानबीच आक्रमण र प्रत्याक्रमणको शिलशिला सुरु भएको छ । दशकअघि देखि नै एकअर्कालाई मुख्य शत्रु मान्दै आएका यी दुई मुलुक पछिल्लो समय एकअर्का विरुद्ध लड्न नै तम्तयार भएका छन् । केहि महिना अगाडी देखि नै अमेरिकाले मध्यपूर्वमा थप्दै गएको फौज र ईरानी पक्षले समुद्री क्षेत्रमा सुरु गरेको अमेरिकाको प्रतिरोधले नै सम्भावित भिडन्तको आँकलन गरिएको थियो ।

यहि हप्ता बगदादमा ईरानी फौजी कमाण्डर कासिम सुलेमानी अमेरिकी आक्रमणमा मारिएपछि ईरानले त्यसको जवाफमा इराकस्थित अमेरिकी फौज रहेका दुईवटा स्थानमा गरेको क्षेप्यास्त्र आक्रमणमा अमेरिकी सेनाका ८० जना मारिएको  दावी गरिएको छ । यद्यपी यसको स्वतन्त्र रुपमा पुष्टि भनें हुन सकेको छैन ।

ईरानको जवाफी हमलाका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सवै ठिकठाक छ’ भन्दै गरेको टिप्पणी र ईरानका सर्वोच्च नेता अयोतुल्लाह अल खमेनीले ‘अमेरिकालाई झापड’ भन्ने अभिव्यक्तिले युद्ध भड्किने त्रास कायमै छ । ईरानले आफ्ना फौजी कमाण्डरको हत्याको बदलामा कुनै कारवाही गरे ईरानका ५२ स्थानलाई लक्षित गरिने अमेरिकाको धम्की र अमेरिकाले कुनै आक्रमण गरेमा युएई र ईजरायलमा आक्रमण गर्ने ईरानको धम्कीले सो क्षेत्रमा लामो समयदेखि मडारिंदै आएको अनिश्चिततालाई कायमै राखेको छ ।

यसबीचमा जापान, जर्मनी लगायतका मुलुकहरुले भनें दुई देशबीच बढेको तनाव मत्थर पार्ने उपायका विषयमा सुरु गरेको छलफलले केहि सकारात्मक सन्देश दिएको छ । जापानी प्रधानमन्त्री सिञ्जो आवेले त मध्यपूर्वको भ्रमण गर्ने नै घोषणा गरिसकेका छन् । उनले अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्युनिकरणका लागि साउदी अरब, ओमन र युएईको भ्रमण गर्ने भएका हुन् । आबे यही जनवरी १२ देखि जनवरी १५ सम्म मध्यपूर्वको भ्रमणमा जाने बताइएको छ । यसैगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र सिरियाका राष्ट्रति बसर अल असदबीच पनि यस बिषयमा छलफल भएको समाचार सार्वजनिक भएको छ ।

यसबीचमा विभिन्न मुलुकहरुले खाडी क्षेत्र र अझ विशेषगरी ईराकमा रहेका आफ्ना नागरिकको सुरक्षाको विषयमा सजगता अपनाइरहेका छन् । युद्ध सुरु भइसकेको अवस्था छैन । त्यसैले आत्तिहाल्नु पर्ने अवस्था होइन । तर पनि लाखौं नागरिक रहेको क्षेत्रमा तनाव सुरु भएपछि त्यसमा बढी नै सजगता अपनाइनु आवश्यक ठान्दै फिलिपिन्सले जहाज नै तयार राखेको समाचार सार्वजनिक भएको छ ।

नेपालको सजगता के छ त ? यस विषयमा सोधिएको प्रश्नमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयबीच यस विषयमा समन्वयात्मक रुपमा काम भइरहेको बताएका छन् । उनले समस्या परेमा तत्कालै काम गर्नेगरी टीम तयार रहेको बताएका हुन् । मध्यपूर्वको अवस्था बुझ्नका लागि परराष्ट्र सचिवस्तरीय टोली बनाएर हरेक क्षणको जानकारी लिइरहेको र उद्धार गर्नुपर्ने अवस्था आइहालेमा सरकारले त्यसको व्यवस्थापन गर्ने उनले बताए । खाडीका मुलुकहरुमा कार्यरत नेपालीलाई दूतावासको सम्पर्कमा रहन यसअघि नै परराष्ट्र मन्त्रालयले अनुरोध गरिसकेको छ ।

हालसम्मको अवस्थामा खाडीका मुलुकमा कार्यरत नेपाली र तिनका परिवार चिन्तित भइहाल्नु पर्ने अवस्था नदेखिएको त्यहाँ कार्यरत नेपालीहरुले नै बताउँदै आएका छन् । तर दुई शक्तिशाली मुलुकहरुबीच बढेको तनावकाबीच नेपाल जस्तो मुलुक जसका लाखौं नागरिक सोहि क्षेत्रमा कार्यरत छन्, अपेक्षाकृत बढी नै सजगता अपनाउन आवश्यक छ ।

यो पनि पढ्नुहोस् मलेशियामा रोजगारदाताले ठगे भनें उजुरी गर्नुः मन्त्रालय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय